हेटौंडा। मकवानपुरमा दुई जनाको उम्मेदवारी दर्ता बदर भएको छ। बकैया गाउँपालिकाको उपाध्यक्ष पदको र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को वडा सदस्यको उम्मेदवारी दर्ता खारेज भएको हो।
नेपाली कांग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छाया अधिकारीको उम्मेदवारी दर्ता बदर भएको छ। उनीविरुद्ध राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको भन्दै उजुरी परेको थियो।
उजुरी परेपछि अधिकारीले लिखित जवाफ पेश नगरेकाले उम्मेदवारी बदर गरिएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जनाएको छ।
उनको पार्टीका तर्फबाट दिलबहादुर भोम्जनले मौखिक बयान दिँदै उनी हाल जागिरमै रहेको भनेकाले उम्मेदवारी बदर गरिएको निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिए। गणक पद पारिश्रमिक पाउने पद रहेकोले उम्मेदवारी बदर गरिएको पोखरेलको भनाइ छ।
यसैबीच हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्यका उम्मेदवार पवन थोकरको उम्मेदवारी पनि खारेज भएको छ। नेकपा (एकीकृत समाजवादी) बाट खुला सदस्यको रूपमा उम्मेदवारी दिएका थोकरको मनोनयन पत्र जाँच गर्ने क्रममा उक्त दलबाट पहिला नै दुई जनाको नाममा दर्ता भइसकेका कारण उम्मेदवारी मनोनयन खारेज भएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए।

Facebook Comment
Comment