धादिङ। नेकपा (एमाले) थाक्रे गाउँपालिका कमिटीका अध्यक्ष कृष्ण पन्तले पार्टीबाट राजीनामा दिएका छन्।
स्थानीय तहको निर्वाचनको लागि थाक्रे गाउँपालिका अध्यक्षमा उम्मेदवारीसमेत दिएका पन्तले आज पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्। थाक्रे गाउँपालिका अध्यक्षमा एउटै पार्टीबाट दुई जनाको उम्मेदवारी परेपछि विवाद भएको थियो।
पन्तलाई नेकपा एमाले जिल्ला कमिटीले टिकट दिएको भन्दै सोमबार उम्मेदवारी दर्ता गराएका थिए।
पन्तको उम्मेदवारी परेपछि पनि निर्वाचन अधिकृतको कार्यालय थाक्रेले सोही पार्टीबाट गाउँपालिका अध्यक्षसमेत रहेका रामकुमार आचार्यको पनि उम्मेदवारी दर्ता गरेको छ। एउटै चिह्नबाट उही पदका लागि दुई जनाको उम्मेदवारी दर्ता नहुने भए पनि थाक्रेमा दर्ता भएको थियो।
पन्तले अगाडि नै उम्मेदवारी दिएको भए पनि प्रदेश कमिटीले आधिकारिक उम्मेदवार आचार्य रहेको पत्र पठाएको थियो। तर दुई जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत महेन्द्र प्रसाद साँखीले बताए।
दुई जनाको एउटै पदमा उम्मेदवारी दर्ता भएपछि विवाद चलिरहेकै बेला पन्तले पदबाट समेत राजीनामा दिएका हुन्।
पार्टीले आफूमाथि अन्याय गरेको भन्दै पन्तले नेकपा एमालेको गाउँपालिका कमिटीबाट समेत उनले राजीनामा दिएका हुन्। “पावरको भरमा माथिबाट टिकट ल्याउने काम भयो,” उनले भने, “हामीजस्ता साधारण मान्छेको पार्टीमा कुनै मूल्य भएन।”
थप विवाद गर्नुभन्दा आफू नै पार्टीबाट अलग हुने उनले बताए। यसैबीच नेकपा एमाले जिल्ला कमिटी सदस्य गोकर्ण रुपाखेतीले समेत पार्टीबाट राजीनामा दिएका छन्। उनले पार्टीले टिकट नदिएपछि गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। अब पन्तले पनि रुपाखेतीलाई सहयोग गर्ने बुझिएको छ।
Facebook Comment
Comment