त्रिकोणात्मक क्रिकेट सिरिज : नेपालको पहिलो भिडन्त ओमानसँग

सिरिजको पहिलो खेलमा नेपालले २६ जेठमा लिगको शीर्ष स्थानमा रहेको ओमानको सामना गर्नेछ। सिरिजमा प्रत्येक टिमले एक अर्कासँग दुई–दुई खेल खेल्नेछन्।

नेपालभ्युज

त्रिकोणात्मक क्रिकेट सिरिज : नेपालको पहिलो भिडन्त ओमानसँग

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा आगामी जेठमा हुने त्रिकोणात्मक एकदिवसीय (ओडीआई) सिरिजको पहिलो खेल ओमानसँग खेल्ने भएको छ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गतको उक्त ओडीआई सिरिजको खेल तालिका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको छ। यो सिरिजमा नेपाल, आयोजक अमेरिका र ओमानले प्रतिस्पर्धा गर्दैछन्।

सिरिजको पहिलो खेलमा नेपालले २६ जेठमा लिगको शीर्ष स्थानमा रहेको ओमानको सामना गर्नेछ। सिरिजमा प्रत्येक टिमले एक अर्कासँग दुई-दुई खेल खेल्नेछन्।

सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्ने बाटोको रुपमा यो लिग रहेको छ। हाल ओमान ३२ खेलमा १९ जितपछि ४० अंकसहित लिगको शीर्षस्थानमा छ। यो सिरिजपछि ओमानको लिग-२ का सबै खेल पूरा हुनेछ।

सात टिम सहभागी लिग-२ मा प्रत्येक टिमले नौ सिरिजमार्फत कुल ३६ खेल खेल्नेछन्।

त्यसपछि शीर्षस्थानमा रहने तीन टिमले आगमी वर्ष हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा सिधै प्रवेश पाउनेछन्। बाँकी चार टिमले भने विश्वकपको छनोटमा पुग्न प्ले अफ खेल्नुपर्ने हुन्छ।

लिगमा नेपाल १२ खेलमा ६ जितसँगै १२ अंक जाड्दै छैटौँ स्थानमा रहेको छ। नेपालले जारी लिग-२ मा अझ ६ ओटा त्रिकोणात्मक सिरिजमार्फत २४ खेल खेल्न बाँकी नै छ।

लिगमा १६ खेल खेलेर सात जितपछि १४ अंक रहेको अमेरिका भने नेपालभन्दा माथि पाँचौँ स्थानमा छ। यो सिरिजपछि नेपाल लिग-२ अन्तर्गतकै स्कटल्यान्ड र नामिबियासँगको अर्को त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्ड जाने तयारीमा छ।

हाल नेपाली टिम जिम्बाबे ‘ए’ सँगको तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिजको तयारीमा छ। घरेलु मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको दुई सिरिजको पहिलो एकदिवसीय खेल शनिबार त्रिवि खेल मैदान कीर्तिपुरमा आयोजना हुँदैछ।

अमेरिका सिरिजको खेल तालिका
२६ जेठ – नेपाल भर्सेस ओमान
२८ जेठ – नेपाल भर्सेस अमेरिका
३१ जेठ – नेपाल भर्सेस ओमान
१ असार – नेपाल भर्सेस अमेरिका


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved