ठूला दलले आज उम्मेदवारी दिँदै, मनोनयनअघि तालमेलको अधिकतम कोसिस हुने

वैशाख ३० गते हुने पालिका चुनावको लागि ठूला दलले आज उम्मेदवारी दर्ता गर्दैछन्। निर्वाचन आयोगले हिजो आइतबार र आज सोमबार उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ।

नेपालभ्युज

ठूला दलले आज उम्मेदवारी दिँदै, मनोनयनअघि तालमेलको अधिकतम कोसिस हुने

काठमाडौं। वैशाख ३० गते हुने पालिका चुनावको लागि ठूला दलले आज उम्मेदवारी दर्ता गर्दैछन्। निर्वाचन आयोगले हिजो आइतबार र आज सोमबार उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ। आज बेलुकी ५ बजे अन्तिम समय निर्धारण गरिएको छ।

प्रमुख राजनीतिक दलहरूले भने उम्मेदवारी दर्ताको पहिलो दिनसम्म पनि उम्मेदवार टुंगो लगाइसकेका छैनन्। ठूला दलका उम्मेदवारले सोमबार अन्तिम समयमा मात्रै मनोनयन दर्ता गर्न सक्ने आयोगको आकलन छ।

बहालवाला जनप्रतिनिधिले उम्मेदवार बन्न धमाधम राजीनामा दिइरहेका छन्।

पाँच दलीय सत्तारुढ गठबन्धनमा सहमति नजुट्दा धेरैजसो पालिकामा सत्तापक्षका दलहरूले उम्मेदवारी दर्ता गरेका छैनन्। उनीहरूले सोमबार मनोनयनअघि स्थानीय तहको तालमेलको अधिकतम कोसिस गर्ने निर्णय गरेका छन्। केन्द्रले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति तल्लो तहका कार्यान्वयन नभएपछि बसेको गठबन्धनले मनोनयनसम्म सिट बाँडफाँट मिलाउन अधिकतम कोसिस गर्ने निर्णय गरेको हो।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लकाअनुसार आइतबारको बैठकले ५ दलीय गठबन्धन बाहिर तालमेल नगर्ने पूर्ववत् निर्णयलाई दोहोर्‍याएको छ। तालमेलको विषयमा सोमबार बिहान अध्यक्षहरू बैठक बसेर बाँडफाँटको सहमतिका लागि कोसिस गर्ने निर्णय पनि भएको छ।

काठमाडौं महानगरपालिका प्रमुखमा १६, उपप्रमुखमा १७, वडाध्यक्षमा २३ र वडा सदस्यमा ८ जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धन र एमालेले कुन पालिकामा कसलाई उम्मेदवार उठाउँछन् भन्ने दाउ हेरेकै कारण पहिलो दिन सबैजसो स्थानीय तहमा उम्मेदवारी नपरेको हुन अनुमान निर्वाचन आयोगको छ।

चुनावी कार्यक्रम अनुसार आज नै उम्मेदवारको नामावलीको सूची प्रकाशित हुनेछ। भोलि मंगलबार दाबी विरोधको समय निर्धारण गरिएको छ। बुधवार र बिहीबार दाबी विरोधमाथि जाँचबुझ गर्ने र शुक्रवार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यपालिका छ। १७ गते शनिवार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

हिजो पहिलो दिन मुख्य दलका तर्फबाट उम्मेदवारी मनोनयन कम परेको आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन्।

पालिका अध्यक्ष र मेयरमा ९८७, उपाध्यक्ष र उपमेयरमा ५०८ जनाको उम्मेदवारी परेको छ। वडाध्यक्षमा २ हजार ९२१, वडा सदस्यमा ३ हजार ३३८, महिला सदस्यमा १ हजार ५७६, दलित महिला सदस्यमा १ हजार २०३ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ। उम्मेदवारी दिनेमध्ये ३ हजार ५०६ जना महिला छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved