दुई अनुदित लघुकथा

धेरैजसो तस्वीरहरू उनको जवानीका दिनहरूका थिए। त्यसमा उनी आफ्ना दिवंगत पत्नीसँगै थिए। करिब–करिब हरेक तस्वीरमा पत्नी कुनै मूर्तिजस्तै चुपचाप थिई। उनी भने मुस्कुराएका र हाँसोसहित क्यामराको फेस गरिरहेका देखिन्थे। उनलाई सधैँ सोख थियो, तस्वीर खिचाउने। उनी पत्नीलाई प्रायजसो भन्दथे, ‘तस्वीर खिच्ने बेला मुस्कुराऊ, सधैँभरि चुपचाप उभिन्छौ।’

नेपालभ्युज

दुई अनुदित लघुकथा

आवश्यकता

–महेश शर्मा

दीपावलीको सरसफाइ तीव्र रुपमा चलिरहेको थियो। छोरा–बुहारी, नातिनातिना सबै, पूरै मनोयोगले सरसफाइमा लागिरहेका थिए। उनी बिहानै छतमा आएका थिए। सफाइको क्रममा एउटा पुरानो एलबम फेला पर्‍यो। बिहानको कलिलो घामको किरणमा बसेर पुराना दिनहरू सम्झिन खोजिरहेका थिए।

धेरैजसो तस्वीरहरू उनको जवानीका दिनहरूका थिए। त्यसमा उनी आफ्ना दिवंगत पत्नीसँगै थिए। करिब–करिब हरेक तस्वीरमा पत्नी कुनै मूर्तिजस्तै चुपचाप थिई। उनी भने मुस्कुराएका र हाँसोसहित क्यामराको फेस गरिरहेका देखिन्थे। उनलाई सधैँ सोख थियो, तस्वीर खिचाउने। उनी पत्नीलाई प्रायजसो भन्दथे, ‘तस्वीर खिच्ने बेला मुस्कुराऊ, सधैँभरि चुपचाप उभिन्छौ।’

चियाको तलतलले गर्दा जब उनी छतबाट तल ओर्लिए, त्यतिबेला उनले देखे– घरका सबै पुराना सामान एउटा स्थानमा जम्मा गरेर क्रम मिलाएर राखिएका छन्। नातिचाहिँ ती पुराना सामानहरूका तस्वीर लिइरहेका थिए।

यो कुरा उनका निम्ति नौलो थियो– अचेल पुराना सामानहरू अनलाइनमा बेच्ने चलन चलेको छ। उनले धेरै नै उत्सुकतापूर्वक उक्त फोटो–सेसनलाई हेर्न थाले। एकाएक, उनको शरीर काँप्न थाल्यो। ठीक त्यही समय नातिले दुष्टतापूर्वक मुस्कुराउँदै क्यामरा उनीतिर सोझ्याउँदै भने, ‘हजुरबुबा, स्माइल।’

क्यामराको फ्ल्यास तीव्र गतिमा उनीतिर तेर्सियो। उनी पहिलो पटक तस्वीर खिचेजस्तै चुपचाप उभिन पुगे।

समाधान

–सुरेश बाबु मिश्रा

‘ल, मन्त्रीजीको सिफारिस आयो।’ कमिटीको अध्यक्षले फोनको घन्टी राख्दै भने। ‘हामीले सूचीलाई अन्तिम रुप दिइसक्यौं, अब कसको नाम काट्न सकिएला र ?’ कमिटीका एकजना सदस्यले चिन्ता व्यक्त गर्दै भने।

‘तर मन्त्रीजीको मान्छेलाई त समावेश गर्नैपर्छ।’ अध्यक्षले निराश स्वरमा भने। चयन भएको सूचीमाथि फेरि विचार हुन थाल्यो। ‘यो अरूणकुमार एमएलए साबका मान्छे हो, विनीतकुमारको सिफारिस अध्यक्षले गर्नुभएको हो।’ एकजना सदस्यले जानकारी दिए।

‘यो सञ्जीव मेरा भतिजाको साला हुन्।’ अर्का सदस्य बोले, ‘विमल वर्माचाहिँ मेरा नातेदार हुन्।’ अर्का सदस्यले उत्साहपूर्वक बोले। ‘यी तीनै मेरा मानिस हुन्।’ अध्यक्षले आफ्ना मानिसहरूको नाम भने।
अब कसको नाम काट्ने ? रामपाल र धर्मदास दुवै अनुसूचित जातिका हुन्, यिनीहरूका पनि काट्ने कुरा आएन।

पूरै कमिटी गहिरो चिन्तामा डुब्यो। कुनै पनि उपाय निस्किएन।

‘दीपककुमारको नाम काटिदिऊँ। उसलाई कसैले पनि सिफारिस गरेको होइन र रिजर्भेसनमा पनि आउँदैन।’ एक जना सदस्यले सुझाव दिए। ‘तर यसको फोर फस्र्ट छ र मेरिटमा सबभन्दा माथि छ।’ अर्का सदस्यले शंका प्रकट गर्दै भने।

‘यसले के फरक पर्छ र ? यसको नाम काट्दा कुनै बाधा हुँदैन। सक्षम व्यक्ति छ, कतै न कतै जागिर मिलिहाल्छ नि यसलाई।’ अध्यक्षले मुस्कुराउँदै भने। ‘यही नै यो समस्याको प्रभावकारी समाधान हुनसक्छ।’ सबैले एकै स्वरमा स्वीकार गर्दै भने।

(हिन्दी साहित्यिक मासिक ‘कथादेश’ को नोभेम्बर २०१७ को अंकबाट अनुदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved