प्रिय कथा

शुक्रराज शास्त्रीको चस्मा

शुक्रराज शास्त्रीको चस्मा

(रचनागर्भ– कथा लेखन मेरा निम्ति सर्वाधिक सुन्दर कर्म हो। यो सुन्दर कर्म गर्नका लागि पहिलो कुरा विषयले दिमागमा झट्का दिनुपर्छ या कुनै झिल्का उत्पन्न हुनुपर्छ। झट्का र झिल्काले मात्र कथा कहाँ बन्छ र ! तिनलाई पुष्टि र आधिकारिकता दिन शोधखोज र अध्ययनको क्रम सुरु हुन्छ। यसरी एउटा कथा तयार हुन कम्तीमा महिना दिन लाग्ने गरेको छ।

‘शुक्रराज शास्त्रीको चस्मा’ शीर्षकको कथा लेख्न करिब दुई महिना लागेको थियो। त्यो कुनै एक वर्षको फागुन ७ गतेको बिहान थियो। म नियमित रुपमा कार्यालय जाँदै थिएँ, कार्यालय सुन्धारामा थियो। त्यो दिन केही मानिसहरू सहिदगेटमा राखिएका सहिदका शालिक धोइपखाली गरिरहेका थिए। आधा घण्टाजति मैले शालिक सफा गरेको हेरिरहेँ, अलि नजिकै गएर।

एकजना सहिदको शालिकको सानो टुक्रा भुइँमा खस्यो। त्यही भुइँमा खसेको टुक्राले उक्त कथा लेख्न मलाई प्रेरित गरेको थियो। अर्थात्, त्यो टुक्रा नै कथा लेख्न उत्प्रेरित गर्ने झिल्का वा झट्का हुन पुग्यो।

सहिदको शालिक सफा गरेको हेरिसकेपछि म सीधै घर फर्किएँ र कथा लेख्न थालेँ। सुरुमा दुई–तीनसय शब्द लेखेपछि त्यतिकै राखेँ। भोलिपल्ट उसैगरी सहिदगेट पुगेर सहिदका शालिकअघिल्तिर उभिएँ। केही बेर टोलाएँ र थुप्रै कुरा सोचेर कार्यालयतिर लागेँ।

केही दिनपछि २००७ सालको क्रान्तिका बारेमा केही कुरा पढेँ। शुक्रराजका बारेमा लेखिएका किताब वा लेखहरू पढेँ। एक दिन शुक्रराजलाई झुण्ड्याइएको टेकुस्थित रुख हेर्न पुगेँ। र, फेरि कथामा काम गर्न थालेँ। यसरी करिब दुई महिनामा त्यो कथा तयार भएको थियो।)

अचानक खस्यो सहिद शुक्रराज शास्त्रीको चस्मा उनको सालिकबाट !

चस्माहीन उनको आँखा अनौठो देखिन थाल्यो।

नाकको डाँडीमा अडिएको चस्मा अकस्मात गायब हुँदा उनको नाक पनि असामान्य देखिएको थियो। उनका आँखा कहिले चिम्सा देखिन्थे त कहिले विस्फारित। नाक कहिले थेप्चो प्रतित हुन्थ्यो भने कहिले लाम्चो। अनुहारको रङ्ग पनि कहिले गोरो, कहिले कालो त कहिले गहुँगोरो देखिन्थ्यो !

मार्बलमा खसेको उनको चस्मा टुक्राटुक्रा भयो।

सडकबीच चोकमा राखिएको दशकौँ पुरानो त्यो सालिक निश्चल उभिरहेको थियो। एक्ला शुक्रराजको सालिकमा कुनै परिवर्तन आएको थिएन। हरेक सालको फागुन ७ को छेउछाउमा एक हुल मान्छे जम्मा हुने र बासी भाषण गर्ने क्रम भने जारी थियो। फागुनको पहिलो साता राजनीतिक दलका केही नेताहरू आउँथे र शुक्रराजको सालिक वरिपरि झुम्मिन्थे। फूलका माला लगाइदिन्थे, महँगो धूपको बास्ना चलाइदिन्थे। भाषण गर्थे, उही पुरानो कुरा जोडजाड गर्दै नमिलेको शैलीमा। नेताहरूले त्यसो गर्नुभन्दा केही घण्टाअघि नगरपालिकाको एक जना कर्मचारी आउँथ्यो र ठूलो एक बाल्टिन पानीले शुक्रराजको सालिक मज्जाले धुन्थ्यो, सर्फ लगाएर। वर्षभरिको धूलोमैलो पखाल्थ्यो। सम्भवतः सबैभन्दा लामो समय ती सहिदको सालिक स्पर्श गर्ने ऊ नै थियो।

एकाबिहानै सालिकछेउ लास देखेपछि टोलमा हल्लीखल्ली मच्चिएको थियो।

सुरुमा १० बजेतिर प्रहरी आएको थियो। सहिद शुक्रराजको सालिकछेउ ढलेको लास कसको हो, कसैले ठम्याउन सकेको थिएन। एक हूल युवादस्ताले उक्त लास घेरेर राखेको थियो। उनीहरूभन्दा पछिल्तिर प्रहरीहरू थिए। युवामध्ये एउटा बोल्यो- ‘गृहमन्त्री कि त राजिनामा दे कि त हत्यारा पत्ता लगा।’

सोही समूहको अर्को बोल्यो- ‘पीडित परिवारलाई राहत दे, मृतकलाई सहिद घोषणा गर।’

उक्त लासलाई आफ्नो पार्टीको मान्छे बनाउन साना–ठूला, नयाँ–पुराना सबै दल तँछाडमछाड गरिरहेका थिए।

त्यो वर्ष तराईमा शितलहर निकै लामो समयसम्म चलेको थियो।

मङ्सिरको पहिलो साता सुरु भएको शितलहर माघको प्रथम सप्ताहन्तको कुनै एक दिन घाम झुल्किएपछि टुङ्गिएको थियो। झन्डै ९ साताको शितलहरबाट मर्नेको सङ्ख्या ७५ पुगेको सरकारी सञ्चारमाध्यमहरूले घोषणा गरेका थिए। मृतकलाई सरकारका तर्फबाट गरिनुपर्ने सहयोगबारे पनि संसद्मा निकै दिन बहस चलेको थियो।

सत्ताले एउटा भाउ तोक्थ्यो, प्रतिपक्षले भाउ कम भएको भन्दै संसद् अवरुद्ध गथ्र्यो। यस्तो क्रम झण्डै १० दिन चलेको थियो। तराईवादी भनिएका पार्टीहरू पहाडे भनिएका पार्टीलाई तारो बनाउँथे र भन्थे-

‘तिमेर्को पहाडमा बाढी–पहिरो आएका बेला हाम्ले पनि जानेका छौं।’

हुलबाट निस्किएको मृतकलाई ‘सहिद’ घोषणा गर्नुपर्ने शब्दले शुक्रराजको सालिक केही हल्लिएजस्तो भयो। केहीबेरमै ‘बेनाम लास’ माथि कुनै एउटा पार्टीको झण्डा ओढाइयो। झण्डा ओढाउन आतुर अरू पनि थिए। तर जुन पार्टीको मान्छे बलिया थिए र उपस्थितिको सङ्ख्या बढी थियो उसैले सफलता पायो झण्डा ओढाउन।

अब बेनाम लासमा एउटा पार्टीको हक–अधिकार लागिसकेको थियो। उसको मृत शरीरमा कुनै रङ्गले बाहुल्य जमाइसकेको थियो। हूल जम्मा भएको करिब पाँच घण्टाको अवधिमा बेनाम लासले एउटा पार्टीको मान्छे बन्ने अवसर पाइसकेको थियो। त्यो पार्टी भर्खरै खुलेको थियो, जसले कुनै पनि खालका चुनावमा भाग लिन पाएको थिएन, तर ३ पटक फुटिसकेको थियो।

सुरुमा गैरसरकारी संस्थाको हैसियत बोकेको सो पार्टीले राजनीतिक रुप धारण गर्दै राजधानीमा समेत ठूलै प्रभुत्व जमाइसकेको थियो। त्यो पार्टीले एक वर्षको अवधिमा ६० पटक जिल्ला बन्द र ६ पटक नेपाल बन्दमा सफलता प्राप्त गरिसकेको थियो। त्यसकारण नयाँ–पुराना, साना–ठूला, सत्तामा रहेका वा प्रतिपक्षमा रहेका सबै पार्टी त्यो नवस्थापित पार्टीसँग सशङ्कित हुन्थे।

हत्तपत्त विरोध गर्ने हिम्मत गर्दैनथे।

लासमा पार्टीको झण्डा ओढाउने क्रमसँगै जिल्लाका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा सोही पार्टीको जिल्ला नेताहरू घटनास्थलमा जम्मा हुन थालेका थिए। भाषण पनि चल्यो केहीबेर। लास बोकेर सहर परिक्रमा गर्ने योजना बन्यो। लासमाथि पूmल पनि चढ्न थालिसकेको थियो।

प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीहरूले मृतकको नाम सोधे। नाम कसैलाई थाहा थिएन। जन्मस्थान सोधे, त्यो पनि थाहा थिएन। उसका बाबु, आमा, नातागोता कसैका बारेमा पनि थाहा हुने कोही पनि त्यहाँ थिएनन्। लासमाथि झण्डा ओढाउने काम भइसकेकाले हकवाला पार्टीसँग मृतकको परिचय मागियो। उत्तर कतैबाट पनि आएन। जिल्लाको ठूलो नेताले स्थानीय नेताहरूसँग मृतकको नाम सोध्यो, कसैले भन्न सकेनन्। जिल्लानेता केही बेर भीडभित्रै हरायो।

र, पुनः अर्को दिशाबाट प्रकट हुँदै कड्क्यो परिचय सोध्नेहरूसँग-

‘नाम जे भए पनि, घर जहाँ भए पनि उहाँ हाम्रो पार्टीका कर्मठ कार्यकर्ता हुनुहुन्थ्यो। उहाँले क्षेत्रीय तथा जातीय र सङ्घीयताका लागि लड्दालड्दै सहादत प्राप्त गर्नुभयो। त्यसैले छिट्टै अनुसन्धान कमिटी बनाउनुस्, हत्यारा उम्कन नपाओस्।’

नेताले माग तेर्साएपछि शुक्रराजको सालिक फेरि केही हल्लिएजस्तो भयो। चस्मा खसेको उनको सालिक अलि मैलिएजस्तो देखियो।
उनको चस्माहीन आँखा केही चलमलाएजस्तो महसुस भयो।

अघिल्लो साँझ। भीडन्तमा बन्दुक वा पेस्तोल नभए पनि धारिला हतियार, रड, लठ्ठी प्रयोग भएको देख्नेहरूको भनाइलाई प्रहरीहरू टिपोट गर्दै थिए। राति अबेरसम्म चलेको भिडन्तमा सीमापारिका सुरक्षाकर्मी पनि आएका थिए।

तिनले केही मान्छे भ्यानमा हालेर पारीतिरै लगे। भीडलाई तितरवितर पार्ने प्रयत्न पनि गरे, हवाई फायर गरे। त्यतिखेरै सालिकछेउ देखिएको उक्त लास हेरेर कुनै प्रतिक्रिया नजनाइ तिनीहरू फर्किएका थिए। भारतको सीमासँग जोडिएको उक्त सहरमा थुप्रै व्यापारीहरू बस्थे। तिनले कमाएको नाफाको निश्चित प्रतिशत ६ महिनामा एक समुहलाई र ६ महिना अर्को समुहलाई बुझाउने गर्थे।

अघोषित नियम थियो त्यो व्यापारीहरूले पालना गर्नुपर्ने।

केही वर्षअघिसम्म त्यसरी व्यापारीसँग पैसा असुल्ने समुह एउटामात्रै थियो। पछि २ वटा भए। केही महिनाअघि अर्को पनि त्यस्तै समूह जन्मिएको थियो, तर त्यसले आफ्नो अस्तित्व देखाउन सकेन, ती समूहका सदस्य अर्को समूहमा विलय भए। एउटा समूहले आफूले ६ महिनाको सट्टा ९ महिना दस्तुरी पाउनु पर्ने दाबी गरेपछि झगडा चर्केको प्रहरीको भनाइ थियो।

लास वरिपरि बिहान ८ बजेदेखि पार्टीका कार्यकर्ता झुम्मिन आइपुग्थे। ३ बजेतिर जिल्ला नेता आइपुग्थे र सरकारलाई बेस्सरी गाली गर्थे, सत्ता छाड्न दबाब दिन्थे। जाडो याम, दिन छोटो भएकाले ६ बजेतिर लासलाई शुक्रराजको सालिकछेउमै राखेर पार्टी कार्यकर्ता घरतिर लाग्थे। त्यसपछि लास कुर्ने पालो आउँथ्यो प्रहरीको।

तीन दिनसम्म यस्तै क्रम चलिरह्यो।

चौथो दिन।

त्यस स्थानमा एक जना वृद्ध देखापरे।

त्यो नयाँ अनुहार त्यसअघि घटनास्थलमा कहिल्यै देखिएको थिएन। जादु गरेजसरी ती वृद्ध त्यहाँ टप्किए। वृद्धले लास हेरे, लासमाथि चुलिएको फूलको थुप्रो हटाउँदै। पूmलबाट नमीठो गन्ध आयो, पूmलको दर्दनाक दुर्गन्ध उनले जीवनमा पहिलो पटक अनुभव गरेका थिए। वृद्धले नाक खुम्चाए। तिनको अनुहार अचानक बेग्लै देखियो। यस्तो लाग्थ्यो, उनको शरीरबाट आत्मा केहीबेरका लागि बाहिर निस्कियो र पुनः शरीरमा प्रवेश ग¥यो। छोटो समय शिथिल भएका उनी तुरुन्तै तन्दुरुस्त देखिएका थिए।

घटनाको चौथो दिन एकाबिहानै कसैले वृद्ध भजन शर्मालाई ‘त्यो तिम्रो छोराजस्तो छ’ भनेर सुनाइदिएको थियो। सुरुमा भजनलाई लास भएको स्थानमा जान मन लागेको थिएन, न त त्यो खबरले कुनै दुःख नै लागेको थियो। सहयोगी र सकारात्मक सोचको भजन आफू गइदिँदा घटना किनारा लाग्ने र सर्वसाधारणले बन्द वा त्यस्तैखाले अनावश्यक झमेला बेहोर्न नपर्ने सोचेर घटनास्थल गएका थिए। उनले नाक देख्नासाथ छोरो चिनेका थिए। त्यसपछि लासमा झण्डा ओढाउने पार्टीका कार्यकर्ताले वृद्धलाई पनि त्यस्तै झण्डा ओढाइहाले। वृद्धले त्यो झण्डा निकालेर पर मिल्काइदिए। कार्यकर्ताले भजनलाई अगाडि सार्दै केही बोल्न भने।

भजनले लामो स्वास ताने र बोल्न थाले- ‘जहिले यसको जन्म भयो, म त्यही दिनदेखि दुःखी छु।

यसको जन्मसँगै मैले मेरी जीवनसाथी गुमाएँ। जबजब यसको उमेर बढ्दै गयो, मेरा दुःख पनि उसैगरी बढ्दै गए। यसले मेरो लुगा, जुत्ता, घडी तथा भात पकाएर खाउँला भनी राखेको चामल पनि चोर्न बाँकी राखेन। म आमाबाबुले जस्तै यसले पढेर ठूलो मान्छे भएको देख्न चाहन्थेँ। यसले १२ वर्षको उमेरमा ३ कक्षामा पढ्दै गर्दा शिक्षक पिटेको थियो। त्यसपछि स्कुल जान बन्द। मेरो सानो सरकारी नोकरीले म एक्लोलाई बाँच्न कुनै गाह्रो थिएन। तर यसले पैसा चोरेर हैरान पाथ्र्याे। अनि बिहान–बेलुका खानकै लागि पनि सापटी खोज्नुपर्थ्यो।

त्यसैले मैले यसको नाम ‘सैतान’ राखिदिएको थिएँ। शिक्षकहरूले त्यो नामलाई फेरेर ‘चेतन’ बनाइदिएका हुन्।

छ वर्षअघि यो सैतान एकाएक बेपत्ता भयो।

त्यसपछि मेरा सजिला दिन सुरु भए। मैले कसैकसैबाट सुनेको थिएँ, सैतान गुन्डाहरूको समूहको सदस्य भएको छ भन्ने। स्थानीय व्यापारीहरूबाट हप्ता–महिना उठाउने काम गर्छ भन्ने पनि सुनेको थिएँ। तर यसबारे मलाई कुनै चासो थिएन।

कसैले सुनाएकाले मैले सुन्दिएको मात्रै हो। घरबाट यसको अचानक बहिर्गमनले जसरी मेरा सजिला दिन सुरु भएका थिए, अब यसको मृत्युले सहरका सारा मान्छेका सजिला दिन सुरु हुनेछ भन्ने मलाई लागेको छ।’

वृद्धको बोल्ने क्रम रोकिको थिएन, उनी अरू पनि बोल्न चाहन्थे।

भीडभित्रका केही मान्छे कसरी वृद्धको बोली रोक्ने भन्नेबारे उपाय खोज्दै थिए। झण्डा ओढाउने पार्टीको जिल्ला अध्यक्षले वृद्धलाई पहिला हातमा समातेर अलि पर लग्यो, त्यसपछि घाँटी अँठ्याउँदै कानमा बिस्तारै भन्न थाल्यो– ‘मुर्ख बुढा ! तिम्रो छोरा पनि सहिदमा परेपछि १० लाख रुपैयाँ आउँछ। चुप लाग। हाम्रो पार्टीलाई आधा पैसा दिए पनि तिम्रो भागमा ५ लाख रुपैयाँ त आउँछ।’

शुक्रराजको सालिक बेस्सरी काँप्यो।
उनको आँखाको ढकनी बन्द भयो।

मृत्युको घटनाले पूरै राजनीतिक रङ्ग लिइसकेको थियो। राजधानीमा पनि यस विषयले महत्व पाउन थालेको थियो। पार्टी केन्द्रले सुरुमा चक्का जाम, त्यसपछि बजार बन्द, जिल्ला बन्द गर्न कार्यकर्तालाई निर्देशन दियो। यता जिल्लामा भने द्विपक्षीय र त्रिपक्षीय बैठक चलिरहेको थियो। सरकार मृतकका परिवारलाई एक लाख दिएर समस्या सुल्झाउन चाहन्थ्यो। तर आन्दोलनकारी युवा मानिरहेका थिएनन्। सहिद घोषणा र १० लाखको अडान तिनले छाडेनन्। कुरो नमिलेपछि पार्टी केन्द्रले मितिसहित नेपाल बन्दको घोषणा गर्‍यो।

सरकार बाध्य भयो, देशका सयौं सहिदका सूचीमा ‘चेतन’ नामको नयाँ सहिदको नाम थप्न। संसद् तथा मन्त्रिपरिषद्को सहमतिमा पैसा निकासा गर्ने मन्त्रालयमा टिप्पणी उठ्यो र तत्कालै सदर पनि भयो। आन्दोलनका सबै कार्यक्रम फिर्ता भए।

शुक्रराजको सालिक गल्र्याम्मै ढल्यो।

मध्ये जाडोको त्यो मौसममा हावाहुरीसहितको पानी पर्न थाल्यो। प्रकृति नै विपरित भएर प्रस्तुत भएको थियो।

सहिद शब्द र त्यसको अर्थबारे ठूलो चर्चा चल्न थाल्यो, सडकदेखि सदनसम्म नै। नेपाली बृहत् शब्दकोशमा लेखिएको ’सहिद’ शब्दको अर्थ परिवर्तित परिपे्रक्ष्यमा नमिल्ने ठहर गर्दै संसद्ले शब्दकोशको नयाँ संस्करण सच्याउन नेपाल प्रज्ञा–प्रतिष्ठानलाई आदेश दिने निर्णय ग¥यो। संविधानमै पनि कस्तालाई सहिदको दर्जा दिने भन्नेबारे संसद्मा दलहरूबीच सहमति हुन पुग्यो।

झण्डै दुई महिनापछि उक्त चोकमा दुई वटा सालिक देखिए। समान उचाइ र मोटाइमा। एउटा शुक्रराजको नयाँ सालिक र अर्को चेतन नामको नवसहिदको। तर शुक्रराजलाई सालिक बनाउने कलाकारले चस्मा लगाइदिएको थिएन।

किन कलाकारले त्यसो गर्‍यो ?

बिर्सेर या जानाजानी !

कसैले पनि कुनै सोधखोज गरेन। कलाकारले शुक्रराजको जस्तै चस्मा नवसहिद चेतनलाई लगाइदिएको थियो। झट्ट हेर्दा चेतन शुक्रराजजस्तो देखिएको थियो !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved