औद्योगिक क्षेत्र विष्फोट : वरिपरिका घरका छतसम्म पुगे मानव अङ्ग (भिडिओ)

स्थानीय भन्छन्- सञ्चालकको लापरवाहीले दुर्घटना भयो, उद्योग बस्तीबाट टाढा सार्नुपर्छ

शक्तिशाली विस्फोटका कारण भूकम्प जाँदा जस्तै कम्पन गएको स्थानीयले बताए। वरिपरिको घरका झ्यालका सिसा र ढोकाहरू फुटेका छन्। अक्सिजन प्लाण्टमा काम गरिरहेका कामदारका शरीरका अङ्गका टुक्राहरू औद्योगिक क्षेत्र वरपर छरिए। वरपरका घरमा समेत मानव अङ्गहरू उछिट्टिएर पुगेका थिए।

औद्योगिक क्षेत्र विष्फोट : वरिपरिका घरका छतसम्म पुगे मानव अङ्ग (भिडिओ)
शव संकलन गरेर लैजाँदै प्रहरी। तस्वीरहरू : गोपेन राई।

काठमाडौं। बिहान त्यस्तै सवा १० बजेको हुँदो हाे,  पाटन औद्योगिक क्षेत्रबाट विष्फोटनको ठूलो आवाज आयो। औद्योगिक क्षेत्रपछाडिको बस्ती सिञ्चाहिटीमा रहेका गङ्गाराज शर्मा कार्यालयबाट बाहिर निस्कँदै थिए। चर्को आवाज सुनेका उनले औद्योगिक क्षेत्रतिर हेरे। धुवाँको कालो मुस्लो आकाशतर्फ गइरहेको देखे।

धुवाँसँगै जस्तापाता उछिट्टिएर आफूनजिकै आएको पनि उनले देखे। हठात् हातले छेक्न त खोज्दै थिए तर भ्याएनन्। गङ्गाराजको टाउकोमै लाग्यो।

त्यसपछि भाग्न खोजे उनी। विस्फोटको आवाजले झ्यालका सिसा फुटेर सडकभरि छरिएको थियो।  उनी भाग्नसमेत सकेनन्। वरिपरि चित्कार र चिच्याहट सुनिन्थ्यो।

कसैले बम खसेको आशंका गरे। कसैले घरमा सिलण्डर पड्केको अनुमान गरे। कसैले गाडीले घरलाई ठक्कर दिएकोसम्म भने। नजिकै औद्योगिक क्षेत्रभित्रको एउटा अग्लो टहरो खण्डहर बनेको रहेछ। बिस्तारै मान्छेको भीड लाग्दै थियो त्यहाँ।

घाइते भएका गङ्गाराज शर्माकाठमाडौं दहचोक घर भएका गङ्गाराजको अफिस सोही औद्योगिक क्षेत्रको पर्खालबाहिर सिञ्चाहिटीमा छ। औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लाण्टमा शक्तिशाली विस्फोट भएको रहेछ।

विस्फोटबाट सगरमाथा प्लाण्टको अग्लो फलामे टहरा ध्वस्त भयो। त्यही टहराको जस्ता उछिट्टिएर उनलाई लाग्न आइपुगेको थियो।

त्यसै बेला गंंगाराजकै अफिसका  एक जना कर्मचारी शौचालय गएका रहेछन्। शक्तिशाली विस्फोटको आवाजले शौचालयको ढोका नै बाङ्गिएछ। ढोका खुलेन। पछि शौचालयको ढोका फुटाएर उनलाई निकाल्नुपर्‍यो।

शक्तिशाली विस्फोटका कारण भूकम्प जाँदा जस्तै कम्पन गएको स्थानीय बासिन्दाले बताए। वरिपरिको घरका झ्यालका सिसा र ढोकाहरू फुटेका छन्।

अक्सिजन प्लाण्टमा काम गरिरहेका कामदारका शरीरका अङ्गका टुक्राहरू औद्योगिक क्षेत्र वरपर छरिए। वरपरका बस्तीका घरमा समेत मानव अङ्गहरू छरिए।

विस्फोटमा परी ४५ वर्षीय वृजमोहन महतोको मृत्यु भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ। अङ्गभङ्ग भएका अर्का एक जनाको अवस्था गम्भीर छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले विस्फोटमा परी अरू ६ जना घाइते भएको जानकारी दिए। अहिले ६ जनाको पाटन अस्पतालमा र एक जनाको ग्वार्कोस्थित बीएण्डबी अस्पताल उपचार भइरहेको छ।

एक कामदारको आधा खुट्टा नजिकैको प्रहरीचौकीमा खसेको स्थानीयले जानकारी दिए। अर्को घरको माथिल्लो तलामा सिलिण्डर नै उछिट्टिएर पुग्यो। सिलिण्डर उछिट्टिँदा घरको झ्याल फुटेर भित्र पसेको छ। वरपर घरका छत–छतमा फलामका टुक्राहरू पुगेको छ।

स्थानीय रामु पराजुलीले भने, ‘‘हामीले टेलिभिजनमा हेर्दा रसिया-युक्रेन युद्धमा रुसले हानेको मिसाइल विस्फोट जस्तो देखिन्थ्यो, यहाँ पनि यस्तै भयो।’’ घटनापछि आत्तिएर आफू केही बेरसम्म बोल्न र चल्न नसकेको अनुभूति उनले सुनाए।

महानगरीय प्रहरी परिसर ललितपुरले सगरमाथा अक्सिजन प्लाण्टमा अक्सिजन भर्ने क्रममा एक्कासी शक्तिशाली विस्फोट भएको जनाएको छ।

भिडिओ

ललितपुर प्रहरी परिसर प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृतक ब्रिजमोहन महतोको शरीर क्षतविक्षत भएको जानकारी दिए। एक जना घाइतेको खुट्टासमेत उछिट्टिएको उनले बताए। अरूको भने शरीरको अङ्गमा खासै क्षति नभएको प्रवक्ता शाहले बताए।

प्रहरी घटनास्थलमा पुग्दा मानव शरीरका टुक्राहरू यत्रतत्र छरिएका थिए। विस्फोटको समयमा कारखानामा १० जना कामदार थिए। प्लाण्टमा कार्यरत सबै श्रमिकलाई उद्धार भएको छ।

प्लाण्टमा कार्यरत श्रमिकलाई उद्धार गरिँदै

स्थानीयको आरोप- ‘उद्योगको लापरबाहीले विस्फोट’

औद्योगिक क्षेत्रबाहिर बस्नेहरूले भने अक्सिजन उद्योगको चरम लापरवाहीले घटना भएको आरोप लगाएका छन्। भयानक दुर्घटना हुँदै छ भन्ने आफूहरूले पहिल्यै आशंका गरेर बताए तापनि उद्योगले बेवास्ता गरेको स्थानीय बताउँछन्।

‘‘अघिल्लो शनिबार बिहान १० बजेको समयमा सामान्य विस्फोट भएको सुनियो। एकदमै गन्हायो। १२ बजेसम्म धुवाँ आइरहेको थियो। हामीले कामदारसँग सोध्दा पाइप पड्केको भने। त्यसपछि  पनि उद्योग बन्द गरिएन। मर्मत भएन,” एक स्थानीयले नेपालभ्यूजसँग  भने, ‘‘निरन्तर काम भइरह्यो। शायद त्यो बेलामा गल्ती भयो। ठूलो खतरा हुँदैछ भन्ने सङ्केत थियो तर त्यसलाई गम्भीरतापूर्वक लिएर  सुधार गर्ने वा परीक्षण गर्ने काम केही भएन। यसैले आजको ठूलो दुर्घटना भएको हुनुपर्छ।’’

मानव बस्तीसँगै उद्योग हुँदा जोखिम

अक्सिजन प्लाण्टमा विस्फोटपछि प्रज्वलनशील पदार्थ एवं रसायन भण्डारको सुरक्षाप्रति पाटन औद्योगिक क्षेत्रवरपरका स्थानीय चिन्तित बनेका हुन्। घटनापछि सरोकारवालाले मानवबस्तीसँगै ग्याँस उद्योग नराख्न माग गरेका छन्।

त्यस्ता भण्डारणले जुनसुकै बेला भयावह रूप लिन सक्नेतर्फ सचेत गराए। अक्सिजन उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्नुपर्ने स्थानीयले बताए। एक स्थानीयले भन्दै थिए, ‘‘उद्योगबाहिर धन्न भौतिक क्षति मात्रै भयो, अरू मानवीय क्षति हुन पाएन। यसबाट पाठ सिकेर अब उद्योगहरू बस्तीभन्दा टाढा राख्नुपर्छ।’’

केही वर्षअघि वीरगञ्जमा ग्यास उद्योगमा आगलागी हुँदा धेरै जनधनको क्षति भएको थियो। बालाजु औद्योगिक क्षेत्रमा समेत ग्यास उद्योग राखिएको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए।

घटनाको छानबिन हुने

घटना लगत्तै गृहमन्त्री बालकृष्ण खाँणले विष्फोटको अनुसन्धान गर्न निर्देशन दिएका थिए। गृहमन्त्री खाँणले गृह मातहतका निकायका जिल्ला प्रमुखलाई फोन गरेर घाइतेको तत्काल उद्धार गरेर घटना के-कति कारणले भएको हो, छानबिन गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन्।

घटनास्थलको अवलोकन गर्न उद्योग वाणिज्य तथा अपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलगायत पुगेका थिए। घटनाको विषयमा नेपाल प्रहरीको विपत् व्यवस्थापन टीमले शुरुआती अनुसन्धान गरिरहेको छ। अनुसन्धानपछि यसको विस्तृत अनुसन्धान हुने एसपी शाहले जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved