लेटाङ घटना : यौन दुर्व्यवहार आरोपी शिक्षक पौडेल जेल चलान

नेपालभ्युज

लेटाङ घटना : यौन दुर्व्यवहार आरोपी शिक्षक पौडेल जेल चलान

विराटनगर। एकजना प्रहरी जवानको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको मुख्य आरोपी भनिएका मनोज पौडेल जेल चलान भएका छन्।

विराटनगरस्थित जिल्ला अदालत मोरङको आदेशले उनी पुर्पक्षका लागि जेल चलान भएका हुन्।

सोमबार जिल्ला न्यायाधीश दुर्गा खड्काको इजलासले पौडेललाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको हो। उनीमाथि नाबालिकलाई यौन दुर्व्यवहार गरेको आरोप छ। मोरङको लेटाङ-५ खेरुवास्थित शिक्षा विकास माध्यमिक विद्यालयमा गएको ६ चैतमा आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।

उनीमाथि जबरजस्ती करणी उद्योगको कसूरमा जिल्ला अदालत मोरङमा मुद्दा चलाइएको थियो। मुद्दा चलाइएपछि प्राप्त प्रमाणका आधारमा सोमबार आएको अदालतको फैसलाले उनी जेल चलान भएका हुन्।

घटनापछि विद्यालयमा शिक्षकलाई पक्राउ गर्नुपर्ने मागसहित आन्दोलनरत विद्यार्थी समूहले विद्यालयमा आगजनी तथा तोडफोड गरेका थिए। घटनापछिको आक्रमणमा २६ वर्षीया प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो। पछि प्रहरी जवान श्रेष्ठको गोली लागेर ज्यान गएको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ।

यता उक्त घटनामा प्रत्यक्ष संलग्नताको आरोपमा प्रहरीले कर्तव्य ज्यान मुद्दाको कसुरमा १५ मध्ये १० जनालाई पक्राउ गरिसकेको छ। बाँकी ५ जना फरार छन्। उनीहरूमाथि हाल जिल्ला अदालत मोरङमा थुनछेक बहस अहिले चलिरहेको छ। उक्त मुद्दाको आदेश पनि मंगलबार नै आउने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved