मधेशमा पुरानो शक्ति फर्काउन खोज्दै एमाले, मधेशकेन्द्रित पनि शक्ति जोगाउन प्रयत्नशील

०६३ सालपछि एमालेको ठूलो हिस्सा मधेशको क्षेत्रीय राजनीतिमा प्रवेश गरेसँगै एमाले कमजोर भएको हो । ०७४ सालमा मधेश प्रवेशमै निषेध गरिएको थियो । तीन वर्ष प्रधानमन्त्री छँदा ओलीले हुलाकी सडकलगायत सडक, सिंचाई, पूर्व–पश्चिम रेलमार्ग निर्माण, सदरमुकाम जोड्ने सडक छ लेन बनाउनेसम्मका कामलाई प्राथमिकतासाथ विनियोजन गराएका थिए । अब एमाले पूरै शक्तिका लागेको छ ।

मधेशमा पुरानो शक्ति फर्काउन खोज्दै एमाले, मधेशकेन्द्रित पनि शक्ति जोगाउन प्रयत्नशील

काठमाडौं। राजनीतिक दलहरू चुनावी अभियानमा केन्द्रित भएसँगै नेता-कार्यकर्ताले दलबदल गर्ने क्रम बढेको छ। विषेशगरी मधेश प्रदेशमा दिनदिनै पार्टी प्रवेशको कार्यक्रम भएको भएकै छ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) का नेता-कार्यकर्ता एकअर्का दलमा प्रवेश गर्ने क्रम बढेको छ। चुनावको मिति घोषणा भएयता यस्ता गतिविधि बढेको छ।

टिकटको आशमा दल अदल-बदललाई अवसरवादी प्रवृत्तिका रूपमा टिप्पणी भइरहे पनि सबै प्रमुख दलहरू आफ्नो पार्टीमा धेरै र प्रभावशाली व्यक्तिहरू प्रवेश गरेको सन्देश दिन तल्लीन छन्। दलहरूले पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिइनै रहेका छन्।

स्थानीय चुनावको मिति नजिकिँदै जाँदा तराई मधेशमा अरू दलको तुलनामा नेकपा एमाले प्रवेश गर्नेको संख्या धेरै छ।  (एमाले) अध्यक्ष केपी शर्मा ओली स्वागत गर्नमै व्यस्त छन्। यो उनको मधेशमा एमाले कमजोर छ भन्ने आरोपलाई खण्डन गर्ने काेशिश हो भन्ने प्रस्टै बुझिन्छ।

०६३ सालअघि एमाले मधेशमा कांग्रेस हाराहारीकै शक्ति थियो। बारा, पर्सा, रौतहटमा एमाले कांग्रेसभन्दा निकै बलियो थियो।

सर्लाहीदेखि सप्तरीसम्मका जिल्लामा पनि कांग्रेस हाराहारीकै शक्ति थियो एमाले । ०६३ सालपछि एमालेको ठूलो हिस्सा मधेशको क्षेत्रीय राजनीतिमा प्रवेश गरेसँगै एमालेको शक्ति क्षीण भएको हो । धेरै एमाले नेताहरू तत्कालीन मधेशी जनअधिकार फोरम र तमलोपामा प्रवेश गरेका थिए ।

०७४ सालको चुनावमा पनि एमालेले शक्ति फर्काउने कोशिश गरे पनि मधेश प्रवेशमै निषेध गर्ने प्रयास गरिएको थियो । गत तीन वर्ष सरकारमा छँदा एमाले अध्यक्ष ओलीले मधेशको हुलाकी सडकलगायत सडक, सिंचाई, पूर्व–पश्चिम रेलमार्ग निर्माण, सदरमुकाम जोड्ने सडक विस्तार गरी छ लेन बनाउनेसम्मका कामलाई प्राथमिकतासाथ बजेट विनियोजन गरेको थियो । अहिले एमाले पूरै शक्तिका साथ मधेशमा लागि परेको छ ।

पार्टी विभाजनमा पुराना कार्यकर्ता गुमाएको एमालेले त्यो रिक्तता पूर्तिका लागि प्रवेश अभियान नै चलाएको देखिन्छ ।

एमालेको ‘मधेश मिशन’

अघिल्लो निर्वाचनअघि एमालेले मेची-महाकाली अभियान चलाउँदा कतिपय जिल्लामा एमालेका नेतालाई प्रवेश गर्न दिइएको थिएन। मधेशकेन्द्रित दलहरूले एमालेलाई मधेशविरोधी दलको रूपमा चित्रित गरेपछि केही ठाउँका कार्यक्रम अवरुद्ध भएका थिए। जसको प्रभाव स्वरूप अरू प्रदेशभन्दा मधेशमा एमालेको मत कमजोर बनेको थियो।

तर, यसपटक भने एमालेले मधेश केन्द्रित धेरै चुनावी कार्यक्रम आयोजना गरिरहेको छ। बालकोटस्थित निजी निवासमा होस् वा देशका विभिन्न ठाउँमा आयोजना भएका सार्वजनिक समारोह जहाँ पनि ओली एमाले प्रवेश गर्न चाहनेलाई टीका लगाइरहेका छन्।

निर्वाचनको मिति घोषणा भएयता पार्टी प्रवेशलाई तीव्र बनाएका ओलीको गति झनै बढेको छ। विशेषगरी मधेश प्रदेशमा एमालेमा प्रवेश गर्नेको संख्या धेरै देखिएको छ। पार्टी विभाजित भएको बेला पनि एमाले प्रवेश गर्नेको संख्या बढिरहँदा हौसिएका ओली एकै दिन दुई-तीन जिल्लाका चार वटा कार्यक्रममा समेत व्यस्त बन्ने गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले जनता समाजवादी पार्टीलगायत जनप्रतिनिधिहरू एमालेमा प्रवेश गरिरहेका छन्। पछिल्लो ६ महीनायता पालिकाका मेयर तथा अध्यक्षसहितका जनप्रतिनिधिहरूको आकर्षणको केन्द्र एमाले बनेको देखिएको हो।

१ मंसीरमा नेपालगन्ज, ६ पुसमा कपिलवस्तु, ८ पुसमा पर्सा र २३ पुसमा रुपन्देहीमा सयौँको संख्यामा विभिन्न पार्टी परित्याग गरी जनप्रतिनिधिसहित एमालेमा प्रवेश गरेका थिए। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा यो क्रम झनै बढेको छ। पछिल्लो पटक शनिबार ओली सर्लाही गएर अरू दलका नेता कार्यकर्ता आफ्नो दलमा भित्र्याएका थिए।

नेकपा एमालेका अनुसार अहिलेसम्म हजारौँ कार्यकर्तासहित मधेशका स्थानीय तहका प्रभावशाली २३ जनप्रतिनिधि एमालेमा प्रवेश गरेका छन्। पर्सामा प्रमुख-३ उपप्रमुख-३, बारामा प्रमुख-१, रौतहटमा प्रमुख-४ उपप्रमुख- ६, सर्लाहीमा प्रमुख-१, महोत्तरीमा प्रमुख १ उप प्रमुख २ र धनुषामा उपप्रमुख २ जना अरू पार्टीबाट एमालेमा आएका छन्।

मधेशबाट एमाले प्रवेश गरेका प्रभावशाली जनप्रतिनिधिहरू

पर्सा

१. वीरगन्ज महानगरपालिका प्रमुख विजय कुमार सरावगी (जसपा)
२. छिपहरमाई गाउँपालिका प्रमुख मनोजकुमार गुप्ता (माओवादी)
३. जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँ (माओवादी)
४. धोवीनी गाउँपालिकाका उपप्रमुख पारसनाथ प्रसाद कुर्मी (जसपा)
५. सखुवाप्रसौनि गाउँपालिकाका उपप्रमुख फुलमतीकुमारी थरुनी (जसपा)
६ बहुदरामाई नगरपालिकाका उप प्रमुख गायत्री देवी (कांग्रेस)

बारा

१. आदर्श कोतवाल गाउँपालिका प्रमुख मुस्तुफा अन्सारी (जसपा)

रौतहट

१. इशनाथ नगरपालिका प्रमुख सन्तोष कुमार मेहता (कांग्रेस)
२. कटहरिया नगरपालिका प्रमुख सीताराम प्रसाद कुशवाह (माओवादी)
३. मौलापुर नगरपालिका प्रमुख रीना कुमारी साह (माओवादी)
४. राजपुर नगरपालिका प्रमुख मो सकिल अख्तर (कांग्रेस)
५.देवाही गोनाही नगरपालिका उप प्रमुख परनिया देवी (माओवादी)
६. फतुवा विजयपुर नगरपालिका उप प्रमुख कौशिला राउत जयसवाल (माओवादी)
७.मौलापुर नगरपालिका उप प्रमुख गौरी शंकर प्रसाद (माओवादी)
८. यमुनामाई गाउँपालिका उप प्रमुख गीतादेवी साह (माओवादी)
९. राजदेवी नगरपालिका उप प्रमुख अंशु सिंह (जसपा)
१०.बौधिमाई नगरपालिका उपप्रमुख प्रेमलता कुसवाह (जसपा)

सर्लाही

१. कविलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव (लोसपा)

महोत्तरी

१. सम्सी गाउँपालिका प्रमुख शेष फारुक (माओवादी)
२.जलेश्वर नगरपालिका उपप्रमुख मनचुन देवी (लोसपा)
३. पिपरा गाउँपालिका उप प्रमुख विनोदकुमार चौधरी (लोसपा)

धनुषा

१. गणेशनाथ चारनाथ नगरपालिका उप प्रमुख मीनाकुमारी यादव (माओवादी)
२. विदेह नगरपालिका उपप्रमुख निलम कुमारी देवी (माओवादी)

एमालेबाट असन्तुष्ट जसपामा

अरू दलका नेता कार्यकर्ता पार्टी भित्राउनेमा एमालेपछि जनता समाजवादी पार्टी (जसपा) रहेको छ। धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झालाई जसपाले हालै प्रवेश गराएको छ। नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य रन्जु ठाकुर बुधबार जनता समाजवादी पार्टीमा प्रवेश गरेकी छिन्। पूर्वकृषि राज्यमन्त्री समेत रहेका नेकपा एमालेका नेता ओमप्रकाश यादव पनि जनता (जसपा)मा प्रवेश गएका छन्।

त्यस्तै आजै (मंगलबार) मात्र लोसपाले जनकपुर उपमहानगरपालिकाको मेयरमा सिफारिसस गरेका जानकीराम साह एमाले प्रवेश गरेका छन्। उनी वडा नम्बर ७ का वडाध्यक्ष हुन्। उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले खादा ओडाएर भित्र्याएका छन्।

एमालेबाट जसपा जाने नेताहरू

धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा
संविधानसभा सदस्य रन्जु ठाकुर
पूर्व कृषि राज्यमन्त्री समेत रहेका नेकपा एमालेका नेता ओमप्रकाश यादव

लोसपाबाट जसपा जाने नेता

वीरगञ्जका नेता राजेशमान सिंह

एमालेमा प्रवेश गर्ने तयारी गरेका वीरगञ्जका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरे। अनौपचारिक रूपमा एमालेमा पुगिसकेका उनी केही औपचारिक कार्यक्रमसहित प्रवेश गर्ने तयारी गरिरहेका बेला मेयर विजय सरावगी एमाले प्रवेश गरेपछि उनी भने (जसपा)मा गए। वीरगन्ज महानगरपालिकाको निर्वाचनमा सरावगीले जित्दा लोसपाका उम्मेदवार राजेशमान तेस्रो नम्बरमा थिए।

गठबन्धन भागबण्डामा अल्झिँदा मधेशमा ओझेल

एमाले र जसपामा अरू दलबाट प्रवेश गर्नेहरूको लहर चलिरहँदा कांग्रेस प्रवेश गर्नेहरू भने निकै कम छन्। तराई-मधेशमा बलियो जग बनाएको कांग्रेसमा भने स्थानीय निर्वाचनअघि प्रवेश गर्ने परिचित अनुहारहरू कम छन्।

कांग्रेसले गरेको आन्दोलनको शुरुआत विन्दु होस् वा देशभित्र पहिलो पटक गरेको पाँचौँ महाधिवेशन, तराई-मधेशले नै साथ दिएको थियो। त्यति मात्र नभई, आमनिर्वाचनबाट जति पटक कांग्रेस सरकारमा पुगेको छ, तराई-मधेशले साथ दिएको छ। हरेक पटक तराई-मधेशले कांग्रेसलाई उल्लेख्य मत दिने गरेको छ।

तर, पटपटक कांग्रेस शीर्ष नेतृत्व गठबन्धनमा भागवण्डामा अल्झिँदा मधेशमा ठूला कार्यक्रम भएन। यद्यपि सभापति शेरबहादुर देउवा भने २६ फागुनमा वीरगञ्ज गएका थिए। देशका कुनै पनि जिल्लाका नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र वितरण गर्ने नगएका देउवा पर्सामा भने गएका थिए।

भद्र सहमतिले पार्टी प्रवेश कार्यक्रम स्थगन

यस्तै सत्ता गठबन्धनका अर्को दल नेकपा माओवादी केन्द्रले पनि अरू दलका हेभिवेटका नेताहरू आफ्नो पार्टीमा भित्र्याएको छैन। अध्यक्ष पुष्पकमल दाहाल मधेशका विभिन्न जिल्ला गइरहेका छन्। प्रचण्ड ८ चैतमा जनकपुर, २० चैतमा महोत्तरी र सोही दिन पर्सा तथा २५ चैतमा सिरहा गए।

सानादेखि ठूला सभामा माओवादीले अरू दलका कार्यकर्ताहरू भित्र्याउने क्रम जारी राखे पनि जनप्रतिनिधि तथा केन्द्रीयस्तरका नेताहरूको आकर्षण माओवादीमा छैन। सत्ता गठबन्धनमा रहेका दलहरूबीचमा एकले अर्काेको नेता नभित्र्याउने नीति लिएकाले पार्टीमा प्रवेश कार्यक्रम नभएको माओवादी प्रदेश इन्चार्ज गणेश साह बताउँछन्।

उनी भन्छन्, ‘‘हामी गठबन्धनमा आबद्ध छौँ। गठबन्धनमा भएका दलहरूबीच एकअर्काको नेता कार्यकर्ता प्रवेश नगराउने नीति छ। यसकारण पार्टी प्रवेश कार्यक्रम कम भएका हुन्। तर हाम्रो जनलहर कमी छैन।’’

मधेशमा एमाले थप बलियो

मधेशमा एमाले कमजोर छ भन्ने आरोपलाई पछिल्लो समय नेकपा एमालेप्रति बढेको आकर्षणले एकपछि अर्को खण्डित गरेको एमाले प्रचार विभाग प्रमुख विष्णु रिजाल बताउँछन्। विश्लेषक तुलानारायण साह यसअघि एमालेमा गएर चुनाव जित्न सक्ने सम्भावना नभएकाहरू अहिले सम्भावना देखेर एमालेमा फर्किएका बताउँछन्।

उनी भन्छन्, ‘‘यसअघि मधेशी दलहरूसँग आन्दोलनको रापतापवाला अनुकूलता थियो। एमाले मधेशविरोधी दल भन्ने हल्ला फैलाइएको थियो। अहिले त्यो भ्रम एमालेले चिरेको छ। अनि मानिसहरू हृवारहृवार्ती एमालेमा आइरहेका छन्।’’

मधेश आन्दोलनका नेताहरू नै ओलीसँग सहकार्य गर्न लाइन लाग्छन् भने हामी कार्यकर्ता किन नजाने भन्ने मनोविज्ञानको कार्यकर्तामा विकास भएको साहको विश्लेषण छ।

उनी भन्छन्, ‘‘माओवादी जनयुद्ध र मधेश आन्दोलनमा ज्यान दिन तयार कार्यकर्ता भोटको राजनीतिमा प्रवेश गरेका छन्। राजनीतिमा हरेकले नाफा-घाटाको हिसाब गर्छ- कुन पार्टीमा लाग्दा टिकट पाइन्छ, कसरी चुनाव जितिएला ? अहिले एमालेमा माहौल भएकाले एमालेमा गएका छन्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved