स्थानविशेष कविता

हिमाल : तीन कविता

वस्तु जे पनि बनाउन सकिने
वास्तु नमूना
हिमाल हाड हो, हाडको पहाड हो।

नेपालभ्युज

हिमाल : तीन कविता

हिमालको हाड

-शिव अधिकारी

छेपारोले झैँ
रङ फेर्न
मरु देशका
महाजनहरू

रेसमका वस्त्र
थानका थान
खात लगाएर
बाटो घाटो जहाँ तहीं
बेच्न बसेका हुन्
कि हिउँ पहाडको
थाप्लोमा हात लगाएर
हस्ती हाड
ड्रयागनका हाडमा
धातु रङ लेख्न बसेका हुन्

खहरे झैँ
हुर्दुराउँदै
नभए
गुँडपछि गुँड
गुफाहरू तिनैलाई
गुम्बा बनाउँदै
शेर्पाहरू स्याबु्र सोई सोई !
धुनी जगाउँदै बस्छन्
छुर्पी चपाउँदै बस्छन्।
सुन्दर सन्दुकीहरू
चाँदीका, सुनका बुट्टा
पुतलीका पानका बुट्टा
बार्नेस लगाएर
ब्रासोले चम्काएर
चुलीमाथि चुली
सुन्दरीहरू गुफा पस्छन्
पाल्कीमा र बस्छन्
हिमाली चराहरू
विचराहरू।

फूल पारुन् पनि कहाँ !
कुहिरोले टम्म छ
पहाड जति सबै
सिरकभित्र गम्म छ।

बाँकी थुम्काथुम्की पनि
हजयात्री झैँ लाग्छ
मुगलानको, मुसलमानका
कल्याङमल्याङ सधैँ
पर्यटक अति उत्साही
पाहुना पदयात्री मुस्ताङका।

हिमाल, हिमाल भो त
के भो ?
हाम्रै अस्तु हो
अवशेष अस्तित्व
मान्दैन भने मान्दैन, अझै पनि
तिनका पनि शिला जमाएर
अभियान थाल्नु
सिन्के धूपको धूलोलाई
झैँ फाल्नु।

कठै कहाँ गए होलान्
पुराना गरगहना
ग्राहक खोज्न
हिमाली हुरी बतासको बाटो
बलबुद्धि विचारको साटो
पारखीहरू बिराना छन्
सक्कली सुन चाँदीको
‘क्युरियो’ सप
पसल किराना छन्
वस्तु जे पनि बनाउन सकिने
वास्तु नमूना
हिमाल हाड हो, हाडको पहाड हो।

०००

हिमाललाई कविता सुनाउँदै…

-साम्ब ढकाल

प्रागैतिहासिकताको ओजमा उभिएर नथाकेका नाम/बेनाम हिमालहरूले
प्यारा मान्छेलाई जोगाउन सदियौंदेखि घेरिराखेका अजङका पहाडहरूले
मान्छेलाई अझै माया गर्ने-
यी नदी
यी जंगल
यी पाखापखेराले
आज मेरा कविता सुने।

उनीहरूलाई सुनाएँ-
तिमीहरूसित मान्छेहरू बाँचुन्जेल मित्रता जोगाउन चाहन्छन्
तिमीहरूसँगको युगीन आस्था मनका कुनामा सजाउन चाहन्छन्
तिमीहरू नै मान्छेका अविनाशी मित्रहरू हौ।

हिमाल, नदी, पहाड, जंगल एकैचोटी आक्रोश पोख्छन्-
ए कवि ! तिम्रा कवितामा मान्छेहरूले हामीमाथिका आक्रमण कति लेखेका छौ ?
तिम्रा कवितामा आउने मान्छेहरूले हामीलाई नष्ट हुन नदिन कति भूमिका खेले ?
तिम्रा मान्छेहरू किन हामीबाट मात्र लिन्छन् र हामीलाई केही पनि दिन जान्दैनन् ?

हिमाल, पहाड, नदीको कुरा लेखिरहँदा-
उनीहरूका आक्रोशलाई दबाउन मन लागेन
किन लागेन ? हिमाल हाम्रा गौरव हुन्, उनीहरू जोगिन पर्छ
किन लागेन ? पहाड हाम्रा जीवन हुन्, जीवनै नरहे मान्छेको के अर्थ
किन लागेन ? नदी हाम्रा आदिम सभ्यता हुन्, सभ्यतै नरहे बाँच्नुको के अर्थ ?

हिमाललाई कविता सुनाउँदा
पहाडलाई कविता सुनाउँदा
नदी, जंगल र पाखापखेरालाई कविता सुनाउँदा
खै किन ? कविता अझै सुनाऊँ, अझै लेखूँ लाग्यो।

०००

हिमाल

-सोमनाथ सुवेदी

हिमालको छातीमा पनि
ढुंगो छ
मेरै छातीमा जस्तो
हिमालको मुटु पनि
थिचिएको छ ढुंगाले
मेरै मुटु जस्तो

हिमाल
हिउँ पगालेर जन्माउँछ
ममताको नदी
तर
त्यहीँ नदीले
युगौंदेखि बगाइरहेछ
उसको सपना
प्वाँख पलाएको बचेरा झैँ
नदी बनेर बगिरहेछ
हिमालको तिर्सना
कठै !
रुवाएर भित्री मन
बाहिर टल्किरहेछ हिमाल
ठ्याक्कै मै जस्तो।

नदी सुक्दा हिउँदमा
बगरले गिज्याउँछ हिमाललाई
कहिले
त्यही नदीका भेलमा हराउँछ
बिचरा !
हिमालको छाया।

नांगो हिमाल
मन नलागी नलागी हाँस्छ
ढुंगाले थिचिएको छ
उसको पनि मुटु
मेरै मुटु जस्तो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved