प्रिय पात्र

मलाई रूपान्तरणकारी पात्र मन पर्छन्

विश्वेश्वरप्रसाद कोइरालाका आख्यानका प्रमुख पात्रहरू जसको मनमा भुमरी बनेर फनफन घुमिरहने मानसिक द्वन्द्व हुन्छ, तीबाट म तानिइरहन्थेँ। तर उनका आख्यानका पात्र मेरा आदर्श कहिल्यै बन्न सकेनन्; कारण तिनले मेरो मस्तिष्कको परिष्कार र मेरो मनको निर्मलीकरण गर्न सकेनन्।

मलाई रूपान्तरणकारी पात्र मन पर्छन्

मेरो रुचि आख्यानमा भन्दा कवितामा बढी छ तर कविताविधामा म खण्डकाव्य र महाकाव्यको अध्ययनमा पनि विशेष रुचि राख्छु, किनभने तिनमा पात्रप्रयोग हुने गर्छ। उपन्यासमा जत्तिकै प्रच्छन्न रूपमा नभए पनि खण्डकाव्य र महाकाव्यमा पनि आख्यान र पात्रको प्रयोग हुने हुँदा पात्रहरूप्रति मेरो गहिरो चासो रहने गरेको छ। यसको अर्थ म कथा वा उपन्यास पढ्दिनँ भन्ने होइन। केटाकेटीमा लोककथा र दन्त्यकथाका अनौठा पात्र मन पर्थे। किशोरकालमा हितोपदेश मित्रलाभ, रामायण र महाभारतजस्ता पुराना कृतिका वीर पात्रहरू बढी मन पर्थे। युवाकालमा भावुक प्रेमीप्रेमिका र उत्तेजक क्रान्तिकारी पात्रहरू बढी मन पर्थे। उमेरको प्रौढतासँगै यथार्थ जीवनका सङ्घर्षशील पात्र मन पर्न थाले जुन सामान्य व्यक्तिभन्दा केही बढी गतिशील, प्रगतिशील, कर्मठ, त्यागी र उदात्त चरित्रका थिए।

आधुनिक नेपाली आख्यानका कुरा गर्दा शुरुमा म गुरुप्रसाद मैनालीको कथासङ्ग्रह ‘नासो’ कथाका पात्रहरूबाट बढी प्रभावित भएको हुँ। आफ्नै गाउँघर, छिमेक र समाजबाट टिपिएका लाग्ने पात्र भएकाले तिनका भोगाइ, चरित्र र अनुभूतिसँग मेरा भोगाइ, अनुभूति र भावना मिल्थे र सहजै साधारणीकरण हुन्थ्यो; आज पनि हुन्छ। विश्वेश्वरप्रसाद कोइरालाका कथाका पात्रबाट म खासै प्रभावित भइनँ तर उनले गर्नेे पात्रविधानको शैलीबाट निकै प्रभावित भएँ। कथानक खासै नभएको तर पाठकको मस्तिष्कमा सहजै स्मृतिबिम्ब बन्न सक्ने ‘सिपाही’ जस्ता उनका पात्रहरू मलाई रोचक लाग्छन्। विश्वेश्वरप्रसाद कोइरालाका आख्यानका प्रमुख पात्रहरू जसको मनमा भुमरी बनेर फनफन घुमिरहने मानसिक द्वन्द्व हुन्छ, तीबाट म तानिइरहन्थेँ। तर उनका आख्यानका पात्र मेरा आदर्श कहिल्यै बन्न सकेनन्; कारण तिनले मेरो मस्तिष्कको परिष्कार र मेरो मनको निर्मलीकरण गर्न सकेनन्।

हृदयचन्द्रसिंह प्रधानको ‘स्वास्नीमान्छे’ र ‘एक चिहान’ उपन्यासका नायकनायिका यथार्थमा आधारित भएकाले मलाई आफ्ना लागेका हुन् तर ती पनि मलाई परिवर्तन नै गर्न सक्ने खालका भएनन्। नेपाली महाकाव्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य ‘प्रमिथस’ को नायक प्रमिथसले भने मलाई बढी नै प्रभाव पारेको हो। पश्चिमी मिथकका रूपमा प्रयुक्त यो पात्र यद्यपि अतिमानवीय र दन्त्यकथामूलक जस्तो छ तर यसले मानवसभ्यताको स्थापना गर्न र प्रारम्भिक मानवजातिको रक्षाका निम्ति जेजस्तो त्याग, समर्पण र सम्झौताहीन सङ्घर्ष गर्छ; त्यो अद्वितीय छ। यो पात्र मानवसमाजमा आदर्श मूल्यको स्थापना र रक्षाका निम्ति महापुरुषहरूले गरेका उत्प्रेरक योगदान र स्मरणीय बलिदानको शक्तिशाली उदाहरण हो।

आफू देवकुलको र उच्च पदप्राप्त व्यक्ति हुँदाहुँदै पनि आफ्नो पदप्रतिष्ठा र सुखसुविधाका सबै अवसर त्यागेर शक्तिहीन र दयनीय अवस्थामा रहेको लुरे मानवजातिको रक्षा र मानवसभ्यताका निम्ति आफ्नै वर्ग र आफ्नै देवजातिको निरङ्कुश, व्यभिचारी र क्रूर शासक जिउसविरुद्ध विद्रोह गरेर उसले मानवजातिका निम्ति स्वर्गबाट अग्नि चोर्छ, त्यो धर्तीका मानवमा बाँड्छ। त्यही अग्निबाट मानवसभ्यताको प्रारम्भ भएको देखाइएको यस आख्यानमा प्रमिथसको सोच, सङ्कल्प, साहस, सहनशीलता, निर्भीकता, दूरदृष्टि र बलिदान साँच्चै अद्वितीय छ। कसरी सके होला ? आँखा फोरिन्छन्, निकालिन्छन्- ऊ सहन्छ। चिल र गिद्धहरूबाट शरीरका अङ्ग अङ्ग चोक्ट्याइन्छन्, रगतका धारा बग्छन्- ऊ सहन्छ। हात, पाउ र निधारमा फलामका तिखा किलाहरू ठोकिन्छन्- ऊ सहन्छ। मृत्यु आउन्न किनभने ऊ देव हो। सबै पीडा सहन विवश छ तर हार मान्दैन, सम्झौता गर्दैन। उद्देश्य छ- मानवजातिको रक्षा गर्ने, मानवसभ्यताको स्थापना गर्ने र मानवजीवनको विकास गर्ने। यस पात्रको चरित्र जतिपटक पढ्दा पनि आङ जिरिङ्ङ भएर आउँछ। जसले मनले हार्दैन उसको कहिल्यै हार हुँदैन भन्ने कुराको उदाहरण हो प्रमिथस। यो पात्र मलाई मन पर्नुको कारण उसले गरेको सङ्घर्ष मात्र होइन, उसले लिएको असल उद्देश्य र त्यस उद्देश्यका निम्ति उसले गरेको सम्झौताहीन बलिदान पनि हो। उसको चरित्रले पाठकमा उच्च आदर्श र मानवीय मूल्यको उदात्तीकरण हुन्छ।

मलाई पारिजातका आख्यानमा गरिएको पात्रविधान मन पर्छ तर म ‘शिरीषको फूल’ उपन्यासकी नायिका ‘सकम्बरी’ को चरित्रबाट प्रभावित भइनँ। निश्चय नै सकम्बरीको शरीर र प्रवृत्तिको चित्रणमा पाइने अनौठो र असाधारण पनले मलाई आकर्षित गरेको हो तर त्यो आकर्षण पात्रनिर्माणको पद्धतिप्रति रह्यो। पात्र सकम्बरीको चरित्रले पाठकलाई कुनै उत्साह दिँदैन, जीवनप्रति कुनै आशा जगाउँदैन, कुनै उदात्त मानवीय मूल्यको सम्प्रेषण गर्दैन। त्यसैले चरित्रले आकर्षित गरे पनि सकम्बरी मैले मन पराउने चरित्र बन्न सकिन। बरु पारिजातका उपन्यासमध्ये ‘पर्खालभित्र र बाहिर’ की बाटुली र ‘अनिदो पहाड’ की ‘सुवानी’ मलाई मन परेका हुन्। बाटुली अति साधारण नेपाली नारी हो तर न्याय, श्रम र जीवनका पक्षमा उसले गरेका काम र प्रयत्न प्रेरणादायी छन्। सुवानी नेपाली समाज र नेपाली चेतनाको सकारात्मक रूपान्तरणका निम्ति क्रान्ति गर्ने विद्यार्थी नेतृ हो। पञ्चायत कालमा तानाशाही सत्ताविरुद्ध उसले गरेको साहसी विद्रोहमा नेपाली समाजमा क्रमशः जागृत हुँदै र पुरुषसरह क्रान्तियात्रामा सहभागिता जनाउँदै बढ्न थालेको जागृत नारीचेतनाको प्रतिनिधित्व पाइन्छ।

जगदीशशमशेर राणाको महाकाव्य ‘नरसिंह अवतार’ को प्रतीकात्मक पात्र ‘नरसिंह’ पनि मलाई मन परेको पात्रमा पर्छ। यो पात्र खासमा पात्र नै होइन, यो प्रवृत्तिको पात्रात्मक रूपान्तरण मात्र हो तर मानवसमूहको शक्तिसंश्लेषणका रूपमा यसको चरित्र अद्भुत र सन्देशमूलक छ। यस महाकाव्यको पात्रविधानको तरिका पनि मलाई असाध्यै मन परेको छ। नेपालका मात्र नभई संसारभरिका सत्ताधारी नायक तथा खलनायकको मूल स्वभाव र प्रवृत्तिको एकैसाथ उद्घाटन गर्न सक्षम यस काव्यको पात्रविधान बेग्लै छ। हर युगमा अभाव, कुरूपता, अन्यायअत्याचार र बेथितिविरुद्ध एक आशादायक जागृत चेतना बोकेर युगपुरुष आउँछ, शक्ति पाएपछि र सत्तामा पुगेपछि ऊ क्रमशः निर्दयी तानाशाह र स्वार्थी खलनायकमा रूपान्तरित हुन्छ। तब त्यसका विरुद्ध पुनः नयाँ जनचेतना जागृत भई विद्रोह हुन्छ। जनसमूहको विद्रोहको बलमा पुनः नयाँ नायक स्थापित हुन्छ तर त्यो नयाँ शासक पनि कालान्तरमा पुनः कापुरुष वा खलनायक बन्छ। यो क्रम आज पनि चलिरहेछ। यस क्रमको अन्त्य गर्ने हो भने मानवसमूहको तहमा विद्रोह गरेर मात्र पुग्दैन; समूहमानवकै तहमा विद्रोह र क्रान्तिको आवश्यकता पर्छ भन्ने कुरा बुझाउन सिंहशक्ति बोकेको नायक नरशक्तिका रूपमा नरसिंहको अवतार गराइएको छ। बुझेर पढ्न सक्ने हो भने यो पात्र नेपाली आख्यानपरम्परामा नै नितान्त नौलो र अनौठो तर वैचारिक दृष्टिले विमर्शयोग्य पात्र हो।

मेरो मनमा ‘यसले आफ्नै कुरा गर्‍यो भन्लान् कि’ भन्ने भय छ, नत्र मलाई मेरो बालकथा ‘दयालु भावना’ की बालपात्र ‘भावना’ धेरै मर्ने पात्र हो। भएकै घटना र वास्तविक व्यक्तिमा आधारित यो पात्र जति निर्दोष छे, त्यति नै मै हुँ भन्ने अगुवाहरूका निम्ति गजबको व्यङ्ग्य पनि बनेकी छ। यो पात्र मानवीय करुणाको जीवित वर्तमान पनि हो। काभ्रे जिल्लाको दुर्गम गाउँको पछौटे स्कुलमा कक्षा ५ मा पढ्ने यो बालिका मानवकरुणाकी त्यस्ती प्रतिमूर्ति हो जसले चाडपर्वहरूमा आमा, मामामाइजू र त्यस्तै अरूले टीका लगाइदिएर दिएका पाँचदश पैसा, सुका, मोहर आदि डबलहरू खुत्रुकेमा जम्मा गरेर राखेकी हुन्छे। जब आफ्नै गाउँको एक विद्यार्थीको घरमा आगलागी हुन्छ र उसको जीवन र पढाइको रक्षार्थ चन्दा सङ्कलनका निम्ति विद्यालयले विद्यार्थीहरूसँग अनुरोध गर्छ तब उसले त्यो खुत्रुके फोरेर मुठीभरिको खुद्रा पैसा प्रधानाध्यापकसामु समर्पित गर्छे। त्यस समयको उसको अनुहार, उसको निश्छल र हृदयस्पर्शी बोली र मार्मिक तर्क, निर्दोष र सरल व्यवहार अनि दयाले पग्लेका उसका रसिला आँखा, यी सबै सबैले पाठकको हृदय पगाल्छ। ठूलो कुरा सम्पत्ति होइन, ठूलो कुरा पदप्रतिष्ठा र पैसा होइन, ठूलो कुरा जिउ र बल पनि होइन; ठूलो कुरा त सद्भावना हो, ठूलो त उदात्त हृदय र हार्दिक करुणा हो, ठूलो त दया र प्रेम हो, ठूलो त जीवन दिने उन्नत चेतना हो भन्ने कुराको सम्प्रेषण पाठकमनमा पाठकले थाहा नपाउँदै भइसक्छ। यस पात्रलाई पढ्ने बालबालिका गम्भीर रूपमा प्रभावित र प्रेरित हुन्छन्।

आफूलाई विशेष अध्येता र विश्वसाहित्यको ज्ञाता ठान्ने कतिपय लेखक समालोचकहरू विदेशी कथाउपन्यासकै चर्चा गर्दा गर्वानुभूति गर्छन्। मलाई त्यस्तो लाग्दैन। विवेचना गर्न सकिने पात्र नेपाली आख्यानमा पनि धेरै छन्। भुवनहरि सिग्देलको उपन्यास ‘आमोई’ की नायिकाको चरित्रले पाठकको हृदय हल्लाउँछ। माया ठकुरीको कथा ‘आमा जानुहोस्’ का पात्र आमा र बुहारीका जटिल मनोद्वन्द्वले पाठकमनलाई विचलित पार्छन्। नीलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’ की योगमायाको चरित्रले पुरुषसत्तालाई आफ्नो अनुहार ऐनामा हेर्न बाध्य पार्छ। आहुतिको ‘रातो घर’ का पात्रहरूले नेपाली समाजका कुरूप चरित्रको अध्ययन गर्न र समाज बदल्नका निम्ति जागृत हुन प्रेरित गर्छन्।

रामप्रसाद ज्ञवालीको महाकाव्य ‘औँसीका फूलहरू’ का नायकनायिका कमल र पुतलीको चरित्रले नेपाली राजनीतिक क्रान्तिमा नेता तहको भन्दा कार्यकर्ता तहको योगदान बुझाएर पाठकलाई भित्री तथ्यसम्म पुग्न प्रेरित गर्छन्। उसो त रमेश विकलको ‘लाहुरी भैँसी’ को पात्रविधानले पाठकलाई उत्तेजित पार्ने जुन सामथ्र्य राख्छ, त्यत्तिकै उनको ‘अविरल बग्दछ इन्द्रावती’ को पात्र ‘शोभिते’ को निरीह जीवनबाट विद्रोही जीवनसम्म विकसित चरित्रले पाठकलाई अभिप्रेरित गर्छ। तात्पर्य के हो भने नेपाली भाषामा पनि यस्ता अनेक आख्यान र चरित्र छन् जसले पाठकलाई जागृत हुन, सत्यबोध गर्न, उठ्न, सत्कर्म गर्न र वर्तमानलाई परिचालित गर्दै भविष्यलाई उत्प्रेरित गर्न पाठकमा हुटहुटी पैदा गर्छन्। यस सानो अनुभूतिप्रवाहमा ती सबैको चर्चा गर्नु सम्भव छैन।

वस्तुतः मलाई जीवनशील चेतनाको विस्तार गर्न, सकारात्मक भावनाको उदात्तीकरण गर्न, मनको निर्मलीकरण गर्न र मस्तिकको परिष्कार गर्न सघाउने चरित्र बोकेका रूपान्तरणकारी पात्र बढी मन पर्छन्। यस्ता पात्र प्रगतिशील कथा, प्रगतिशील उपन्यास र प्रगतिशील महाकाव्यमा बढी पाइने भएकाले म यस स्वरूपका आख्यानका पात्रहरू रुचाउँछु। त्यसैले नै मलाई गोर्कीको ‘आमा’ जस्ता क्रान्तिकारी उपन्यासहरूका रूपान्तरणकारी पात्रहरू बढी मन पर्छन्। यस्ता पात्रले पाठकको मनमा आत्मविश्वास भर्छन्, सोचमा साहस बढाउँछन्, समाजप्रति पाठकलाई जिम्मेवार बन्ने प्रेरणा दिन्छन्, जीवनलाई सामाजिक तथा मानवीय मूल्यका पक्षमा लगाउन उत्प्रेरित गर्छन्। पाठकको हृदयलाई विशाल बनाउँछन् र जीवनलाई कर्मठ तुल्याउन सन्देश प्रवाहित गर्छन् भने समाज र जीवनको सकारात्मक रूपान्तरणका निम्ति पाठकको अभ्यन्तर जगाउनमा कलात्मक भूमिका निर्वाह गर्छन्।

म केवल आनन्दानुभूतिका निम्ति आख्यानका चरित्रको अध्ययन गर्दिनँ। आहा ! क्या रमाइलो लाग्यो भन्नका लागि मात्र आख्यानको आस्वादन गर्दिनँ। आनन्दप्राप्तिका साथै जागृतिको उज्यालो छर्ने चरित्र बोकेका पात्र मेरा रुचिका विषय हुन्। त्यसैले मलाई रूपान्तरणकारी पात्र मन पर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved