भरतपुरका कुनै पनि वडामा गठबन्धन नगर्ने कांग्रेसको अडान, नत्र बहिष्कार गर्ने चेतावनी

केन्द्रले पुनः माओवादी केन्द्रलाई भरतपुरको मेयर दिने गोप्य निर्णय गरेको सुइँको पाएपछि वडा सभापतिहरूले यो निर्णय गरेका हुन्।

नेपालभ्युज

भरतपुरका कुनै पनि वडामा गठबन्धन नगर्ने कांग्रेसको अडान, नत्र बहिष्कार गर्ने चेतावनी
पार्टी केन्द्रमा ज्ञापनपत्र बुझाउँदै चितवन कांग्रेसको टोली ।

भरतपुर। स्थानीय तहको निर्वाचनमा गठबन्धन दलबीच तालमेलको खाका बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ।

केन्द्रका नेताहरूले निर्वाचन तालमेलका लागि कसरत गर्दा भरतपुर महानगरपालिकाको २९ वटै वडाका कांग्रेस सभापतिहरूले आफूलाई गठबन्धनको विपक्षमा उभ्याएका छन्। केन्द्रले पुनः माओवादी केन्द्रलाई भरतपुरको मेयर दिने गोप्य निर्णय गरेको सुइँको पाएपछि वडा सभापतिहरूले यो निर्णय गरेका हुन्। बैठक कांग्रेस चितवनको पार्टी कार्यालय कमलनगर नारायणगढमा मंगलबार बसेको हो।

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले तालमेलको ढाँचा तयार गर्दा महानगरपालिका गठबन्धन दलको कुन पार्टीले उम्मेदवारी दिने भन्ने निर्णय गर्ने अपेक्षा गरिएको छ। भरतपुरमा नेकपा माओवादी केन्द्रलाई मेयर दिँदै सरकारको नेतृत्व गरेको कांग्रेसले विराटनगर, ललितपुर र काठमाडौं महानगरमा आफ्नो उम्मेदवार खडा गर्ने चर्चा छ।

वीरञ्जमा जनता समाजवादी पार्टीको उम्मेदवार र पोखराखमा सम्भवतः नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार साझा रूपमा मेयरका लागि उठ्ने सम्भावना छ। यस्तो अनुमानबीच भरतपुर कांग्रेसका २५ वडाध्यक्षले भरतपुरमा कांग्रेसले नै मेयरको उम्मेदवारी पाउनुपर्ने माग राखेका हुन्।

बैठकको निर्णय वडा सभापतिहरूले केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरण गरेका छन्। निर्णय बुझ्दै जिल्ला सभापति खनालले आफ्नो चाहना पनि वडा सभापतिहरूको निर्णयसँग मेल खाने भन्दै निर्णय हु-बहु केन्द्रमा पठाउने प्रतिबद्धता जनाए।

केन्द्र, जिल्ला र महानगरले गठबन्धन गर्ने निर्णय गरे पनि वडा सभापतिहरू कुनै पनि गठबन्धनको पक्षमा नरहने निष्कर्षमा पुगेका हुन्। २० चैतमा पाँचदलीय गठबन्धनअनुसार नै तालमेल गर्ने निर्णयमा पार्टीसमेत संलग्न भएकोमा असन्तुष्टि जनाउँदै वडा सभापतिहरूले नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। वडा सभापतिहरूको संयुक्त निर्णयविपरीत गठबन्धन गरिए भरतपुर महानगरमा मेयर, उप-मेयर र सबै वडामा अध्यक्षसहित ५ जना उमेदवार खडा गर्ने चेतावनी उनीहरूको छ।

साथै वडा सभापतिहरूले आफूहरूले भनेको नभए गठबन्धनका सबै उमेदवारहरूलाई बहिस्कार गर्ने निर्णय पनि गरेका छन्। बैठक वडा नम्बर १९ का पार्टी सभापति आशमान तामाङको अध्यक्षतामा सम्पन्न भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved