बागमती सरकारले हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने कानून ल्यायो

नेपालभ्युज

बागमती सरकारले हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने कानून ल्यायो

हेटौंडा। बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ। विवादित बनेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको संशोधन गरिएको अध्यादेश जारी भएको छ।

प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश गौरवको योजनाको रूपमा स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको हेटौंडा अस्पताललाई अलग गर्ने गरी अध्यादेश जारी भएको छ।

हेटौंडा अस्पताल स्वायत्त रूपमा सञ्चालनमा रहँदै गर्दा प्रदेशमातहत आएपछि यसलाई प्रतिष्ठानको रूपमा अघि बढाइएको थियो।

चिकित्सा शिक्षा अध्यापन गराउने गरी हेटौंडा अस्पतालमा अहिले संरचना निर्माणको काम भइरहेको छ। हेटौंडा अस्पताल अहिले ३ सय शैय्यामा सञ्चालित छ तर बागमती प्रदेश सरकारले प्रतिष्ठानको आफ्नो अलग्गै अस्पताल बनाउने भन्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने गरी कानून ल्याएको हो।

चारै अध्यादेश २४ चैतमै प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणीकण गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार चैत २२ गते बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेका अध्यादेशहरू प्रदेश प्रमुख शर्माले चैत २४ गते प्रमाणीकरण गरेका हुन्।

प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेको छ। जारी अध्यादेशलाई प्रदेश सभाको आगामी बैठक शुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पेश गरी प्रदेश सभा बैठकबाट पारित गर्नुपर्नेछ।

संघीय संसदमा नै विचाराधीन निजामती सेवासम्बन्धी ऐनलाई बेवास्ता गर्दै प्रदेश सरकारले निजामती सेवासम्बन्धी अध्यादेश जारी गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले यसको विधेयक तयार गरी संसदमा लैजाने तयारी गरिरहेको थियो।

तर, सरकारले अध्यादेशमार्फत निजामती सेवा ऐन जारी गरेको हो। प्रदेशमा कर्मचारीहरू परिचालनमा समस्या भएकोले अध्यादेश ल्याउन लागिएको बागमती प्रदेश सरकारले जनाएको छ। स्थानीय सेवाको गठन तथा सञ्चालन सम्बन्धी कानुन पनि अध्यादेश मार्फत नै जारी भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved