हरिशंकर परसाईका तीन लघुकथा (पोडकास्टसहित)

सुन्नुहोस्

मैले एक जनालाई सोधेँ, “यिनीहरूबीच यस्तो सघन मित्रता कसरी भयो ? यिनीहरूबीचको प्रेमको रहस्य के रहेछ ?”
उनले जवाफ दिँदै भने, “ए, तपाईँलाई थाहा छैन ? अब यी दुई लेखक मिलेर अर्का लेखकलाई सिध्याउन लागिरहेछन्।”

नेपालभ्युज

हरिशंकर परसाईका तीन लघुकथा (पोडकास्टसहित)

सजाय

हरिशंकर परसाई

एकजना कलाकारले कुनै ठूलो अपराध गरे। उनलाई राजासामु उपस्थित गराइयो।

राजाले मन्त्रीसँग सोधे, “यसलाई तीन वर्षको सजाय दिँदा के हुन्छ ?”

मन्त्रीले भने, “यसले धेरै जघन्य अपराध गरेको छ, सरकार। तीन वर्षको सजाय त धेरै नै कम हुन्छ।”

“त्यसो भए दस वर्षको सजाय देऊ।”

“दस वर्ष पनि कम सजाय हुन्छ, महाराज। यसलाई।”

“त्यसो भए आजीवन कारावास सजाय तोकिदेऊ।”

“हुँदैन, त्यो पनि कम हुन्छ।”

“त्यसो भए फाँसी देऊ।”

“हुँदैन, फाँसी पनि कम हुन्छ यसलाई।”

राजाले हैरानी व्यक्त गर्दै भने, “फाँसीभन्दा कम सजाय के हुनसक्छ ? तिमी नै बताऊ।”

मन्त्रीले भने, “यसलाई कतै राखेर यसको सामु कुनै अर्का कलाकारको प्रशंसा गरियोस्, योजति ठूलो सजाय अरू हुन सक्दैन यसलाई।”

०००

अश्लील पुस्तक

शहरमा यस्तो हल्ला फैलियो कि, अश्लील साहित्यको धेरै नै प्रचार भइरहेको छ। अखबारमा समाचार छापियो कि, ‘सडकको छेउमा खुला रुपमा अश्लील पुस्तकको बिक्री भइरहेको छ।’

दस बाह्र जना उत्साही समाजसुधारक युवाले एउटा टोली बनाए र घोषणा गरे, ‘त्यस्ता अश्लील साहित्य जहाँ भेटिन्छन्, हामी त्यही नै जलाउँछौं।’

ती युवाले एउटा पुस्तक पसलमा छापा मारे, बीस पच्चीसवटा अश्लील साहित्यका किताब फेला पारे। तिनीहरू सबैका हातमा त्यस्ता किताब २–४ कपि नै थिए।

अश्लील साहित्य छापा मार्ने नेतृत्वकर्ताले भने, “आज त रात परिसक्यो। भोलि कुनै अखबारमा सूचना दिएर कुनै सार्वजनिक ठाउँमा यी किताबहरू जलाउनु पर्छ। यस्ता पुस्तकको प्रचार गर्दा अरू व्यक्तिमा पनि नकारात्मक असर पर्छ। तपाईँहरू सबै भोलि मेरो घरमा उपस्थित रहनु होला। यी सबै पुस्तक म घर लिएर जान सक्दिनँ। धेरै छन्। घरमा बुबा र हजुरबुबा हुनुहुन्छ। उहाँहरूले देख्नुभयो भने…। केही पुस्तक तपाईँहरूले लुकाएर घरमा लैजानोस्। भोलि साँझपख लिएर आउनोस्, सबै जलाइदिनु पर्छ।”

भोलिपल्ट साँझमा सबै तोकिएको ठाउँमै आए। तर कसैले पनि ल्याएका थिएनन्, किताब।

नेतृत्वकर्ताले भने, “यी सबै किताब म यो बोरामा लुकाएर राख्छु। भोलि कहाँ जलाउने हो, त्यो ठाउँ टुंगो लगाएर लिएर जान्छु।”

तर किताब कसैले पनि ल्याएका थिएनन्।

एकजनाले भने, “भोलि नजलाऔं, पर्सि जलाऔं। मैले पढ्न पाएकै छैन।”

अर्कोले भने, “म पनि पढिरहेको छु। भोलि हैन, पर्सितिर जलाऔँ।”

त्यस दिन किताब जलाउने कार्यक्रम बनेन।

तेस्रो दिन फेरि किताब लिएर उपस्थित हुने टुंगो लाग्यो।

तेस्रो दिन पनि किताब लिएर आएनन् कोही।

एकजनाले भने, “अरे यार, त्यो किताब त मेरो पिताजीको हातमा प¥यो नि। अहिले उहाँले पढिरहनुभएको छ।”

अर्कोले भने, “मेरो त अंकलले पढिरहनुभएको छ, उहाँले पढिसिध्याएपछि लिएर आउँछु।”

अर्कोले भने, “भाउजूले पढ्न लिएर जानुभएको छ, उहाँले भन्नुभएको छ कि, एक दुई दिनमा फिर्ता गर्छु।”

फेरि अर्कोले भने, “ओहो, छिमेककी काकीले म घरमा नहुँदा लिएर जानुभएछ।”

अश्लील पुस्तक कतै जलेनन्। अब त व्यवस्थित रुपमा पढ्न थालिएको छ।

०००

मित्रता

दुई जना लेखक थिए।

उनीहरू एकापसमा खुबै झगडा गर्थे।

एकले अर्काको धज्जी उडाउन कुनै कसर बाँकी राख्दैनथे। मैले उनीहरूबीच मित्रता कायम गराउन निकै प्रयत्न गरेँ। सबै व्यर्थ।

म तीन चार महिनाका लागि बाहिर गएँ।

फर्केर आउँदा देखेँ, ती दुवै परम शत्रु परम मित्रमा बदलिइसकेका रहेछन्। उनीहरूसँगै बस्थे, चिया पिउँथे र घन्टौंसम्म गफगाफ गर्थे। उनीहरूबीच ठूलो प्रेम भएछ।

उनीहरूबीचको मित्रता देखेर मैले एक जनालाई सोधेँ, “यिनीहरूबीच यस्तो सघन मित्रता कसरी भयो ? यिनीहरूबीचको प्रेमको रहस्य के रहेछ ?”

उनले जवाफ दिँदै भने, “ए, तपाईँलाई थाहा छैन ? अब यी दुई लेखक मिलेर अर्का लेखकलाई सिध्याउन लागिरहेछन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved