झापामा अपाङ्मैत्री र ज्येष्ठ नागरिकमैत्री निर्वाचन स्थलको तयारी

नेपालभ्युज

झापामा अपाङ्मैत्री र ज्येष्ठ नागरिकमैत्री निर्वाचन स्थलको तयारी

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित ढङ्गले सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरक्षा निकायसँग समन्वय गरेर मतदान स्थलहरुको निरीक्षण र अनुगमन गर्न सुरु गरेका छन्।

जिल्लाका १५ पालिकामा रहेका २८६ निर्वाचन स्थल र ७५५ केन्द्रलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले अनुगमन गर्न थालिएको उनले बताए। उनले सोमबार पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुसँग बैठक गरी आगामी वैशाख ८ गते स्थापना गरिने निर्वाचन अधिकृतको कार्यालय व्यवस्थापन गर्न र उनीहरुलाई बसोबासको व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन्।

अनुगमनका क्रममा जिल्लाका थोरै निर्वाचन स्थल अतिसंवदेनशील र अधिकांश सामान्य रहेको पाइएको उनले जानकारी दिए। कर्मचारी र सुरक्षाकर्मी परिचालन गर्दा अतिसंवेदनशीललाई बढी ध्यान दिने र सामान्य रहेको स्थानमा परम्परागत तरिकाले गर्न सकिने अनुगमनका क्रममा देखिएको प्रजिअ रिजालको भनाइ छ।

“निर्वाचन केन्द्रलाई ज्येष्ठ नागरिक र अपाङ्ग मैत्री बनाउँछौँ,” उनले भने, “जिल्लाका कतिपय मतदान केन्द्र अपाङ्ग मैत्री छैनन्। धेरै ह्विल चियरमा आउनुहुन्छ उहाँहरुलाई अप्ठ्यारो नपर्ने अनुगमन गरेर आवश्यक स्थानमा व्यवस्था गर्ने तयारी गरिरहेका छौँ।”

उनले झापाका राजनीतिक दलहरुबीचको समझदारी अन्य जिल्लामा भन्दा राम्रो रहेको हुँदा पनि निर्वाचन भयरहित हुने अपेक्षा गरेको बताए। उनले अनुगमनका क्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीसहित गइरहेकाले अतिसंवेदनशील स्थान र अन्य स्थानमा सुरक्षा व्यवस्था कसरी गर्न सकिन्छ भन्नेमा अन्योल नरहेको बताए।

निर्वाचन कार्यालय झापाले यही चैत ३० गते विराटनगरमा प्रदेशस्तरीय निर्वाचन अधिकृतहरुको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको कार्यालयका प्रमुख तुलसी नेपालले बताए। जिल्लामा पुरुषको तुलनामा महिला मतदाता बढी रहेका उनले बताए। उहाँका अनुसार छ लाख ४६ हजार २२५ मतदातामध्ये तीन लाख २१ हजार ५२० पुरुष र तीन लाख २४ हजार ७०५ महिला मतदाता छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved