दैजी–जोगबुढा सडक निर्माणको काम सुस्त

नेपालभ्युज

दैजी–जोगबुढा सडक निर्माणको काम सुस्त
फाइल तश्वीर

कञ्चनपुर। कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढा जोड्ने सडक निर्माणको काम सुस्त गतिमा अघि बढेको छ। तीन वर्षअघि कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीदेखि लिप्नासम्मका लागि रु २१ करोडमा ठेक्का भएर काम सुरु भए पनि अहिलेसम्म झन्डै नौ किलोमिटर मात्रै सडक कालोपत्र भएको छ।

एसियाली विकास बैंकको अनुदानमा गत वर्षबाट निर्माण थालिएको सडकको काम अहिलेसम्म २५ प्रतिशत मात्रै सकिएको छ। गत वर्ष पुषमा शिलान्यास भई निर्माणको काम अघि बढेको भएपनि सडक निर्माणको कार्यले गति लिन नसकेको स्थानीयवासीको गुनासो छ।

महेन्द्रनगरस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक नेगीले दुई पटक आएको वर्षातका कारण पहिरा जाँदा बनेका संरचना भत्किनाका साथै लाखौँको क्षति पुगेपछि काममा ढिलाइ भएको बताए। “हामीले लिप्नासम्म १७ किलोमिटर भए पनि १६ किलोमिटर सडक कालोपत्र गर्न सुरु गरेका थियौँ”, उनले भने “भत्केको संरचना बनाउन भेरियशनका लागि मन्त्रालय पठाए पनि स्वीकृति नहुँदा काममा ढिलाइ भयो।”

केही समय निर्माण कम्पनीले भत्केका संरचना बनाउन अग्रसरता देखाए पनि झन्डै एक महिनायता सडक निर्माणको काम रोकिएको उहाँको भनाइ छ। दोस्रो पटक थपेको म्याद पनि यही चैत मसान्तमा ठेक्का अवधि सकिने लागेको जानकारी दिँदै प्रमुख नेगीले करिब एक वर्ष प्रक्रियागत उल्झनले ढिलो भएको बताए।

“केन्द्र सरकारको ससर्त अनुदानबाट सडक बनाउन लागिए पनि त्यसको कार्यान्वयन भने प्रदेश सरकारलाई जिम्मा छ”, उनले भने, “डडेल्धुराको जोगबुढा सीमा नाकासम्म यहाँबाट २२ किलोमिटर पर्छ।” वेदकोट ताल क्षेत्रसम्म सडकको अवस्था ठीक भए पनि त्यसभन्दा माथिल्लो क्षेत्रमा भने वर्षाका कारण धेरै ठाउँमा क्षति भएको छ।

उता डडेल्धुराको परशुराम नगरपालिका जोगबुढा क्षेत्रमा पनि सडक निर्माणको गति उस्तै छ। सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकका लागि छोटो दूरीका भन्दै दैजी–जोगबुढा सडक निर्माण दशकौं अघि थालिएको थियो। महेन्द्रनगरदेखि अत्तरिया हुँदै डडेल्धुराको दूरी १६५ किलोमिटर पर्छ। उक्त सडक बने महेन्द्रनगर, दैजी–जोगबुढा हुँदै डडेल्धुरा पुग्न करिब ६५ किलोमिटर दूरी घट्छ।

यता पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख श्यामबहादुर खड्काले लिप्ना (कञ्चनपुर–डडेल्धुराको सीमाना) देखि १७ किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको बताए।

“भर्खरै चार किलोमिटर सडक कालोपत्र भएको छ”, उनले भने, “१७ किलोमिटर दुईवटा प्याकेजमा निर्माणको जिम्मा दिइएको छ।” उहाँले गत कात्तिकमा आएको वर्षाले सडकमा क्षति पुगेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved