पचहत्तर लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप

बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले एक वर्ष तीन महीनादेखि १५ वर्षसम्मका बालबालिकालाई यही चैत २५ देखि वैशाख १८ गतेसम्म उक्त खोप लगाइने जानकारी दिए।

नेपालभ्युज

पचहत्तर लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ। आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यही चैत २५ देखि वैशाख १८ गतेसम्म उक्त खोप लगाइने जानकारी दिए।

उनले एक वर्ष तीन महिनादेखि १५ वर्ष उमेरसम्मका सबै बालबालिकालाई एक पटक टाइफाइड विरुद्धको खोप लगाइने बताए। गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको छ। नेपाल दक्षिण एसियामा टाइफाइड विरुद्धको खोप लगाउने पहिलो मुलुक भएको र विश्व स्वास्थ्य सङ्गठनले नेपालसहित टाइफाइडबाट पीडित अन्य देशमा पनि खोप लगाउन सिफारिस गरेको हो।

खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइने र यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिने छ।

शाखा प्रमुख दाहालले विगत पाँच वर्षको तथ्याङ्क हेर्दा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको सङ्क्रमण देखिने गरेको बताए। उनका अनुसार सन् २०१९ मा ८२ हजार ४४९ टाइफाइडका विरामी रहेको अनुमान गरिएको थियो।

यसकोे सङ्क्रमण सबै उमेर समूहमा देखिएपनि १५ वर्षभन्दा मुनिका बालबालिकामा बढी हुने गरेको छ। टाइफाइड साल्मोनेला टाइफीबाट हुने कडा खालको रोग हो।

ढल वा सङ्क्रमित व्यक्तिको दिशामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ। यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र वान्ता हुनेजस्ता लक्षण देखिने गर्दछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved