निजी क्षेत्रको साझेदारीमा पर्यटन प्रवर्द्धन गर्छौं : मन्‍त्री श्रेष्ठ

नेपालभ्युज

निजी क्षेत्रको साझेदारीमा पर्यटन प्रवर्द्धन गर्छौं : मन्‍त्री श्रेष्ठ

काठमाडौं। बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी ढङ्गले अघि बढाउने भएको छ। बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले निजी क्षेत्रका पर्यटन व्यवसायीसँग साझेदारी एवम् समन्वयका साथ प्रवद्र्धनका गतिविधिलाई प्रभावकारी बनाउने रणनीति लिएको हो।

उक्त प्रयोजनका निम्ति उपत्यका पर्यटन कार्यालयको समन्वयमा मन्त्रालयलयले आज काठमाडौँमा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवम् प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ।

विशेषगरी कोभिड–१९ महामारीपछिको पर्यटन व्यवसायलाई कसरी चलायमान बनाउने, पर्यटन क्षेत्रका विद्यमान समस्याको पहिचान र समाधानका लागि सरोकारवालासँग छलफल तथा सुझाव लिएर आगामी नीति तथा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो।

मन्त्रालयले तत्काल गर्नुपर्ने र कतिपय रणनीतिक महत्वका कामलाई आगामी बजेटमार्फत सम्बोधन गरेर अघि बढ्ने नीतिअनुरुप पर्यटन विकासको पहल अघि बढाइएको जनाएको छ।

पर्यटन व्यवसायीसँगको अन्तरक्रियाको उद्घाटन गर्दै संस्कृति, तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकार लागि परेको बताए।

उनले कूल गार्हस्थ्य उत्पादनमा झन्डै आठ प्रतिशत योगदान रहेको पर्यटन क्षेत्रलाई राज्यले प्राथमिकता दिएर आवश्यक स्रोत साधन उपलब्ध गराएको खण्डमा यो क्षेत्रले चाँडो प्रगति गर्ने बताए। उनले सका लागि निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाइने बताए।

मन्त्री श्रेष्ठले नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रको सहकार्य जरुरी रहेको भन्दै पर्यटनका नयाँ सम्भावनायुक्त क्षेत्रमा पूर्वाधार विकास लगायतका कामलाई अघि बढाइने बताए।

मन्त्री श्रेष्ठले भ्यू टावरका नाममा फजुल खर्च भइरहेको र त्यस शिर्षकको बजेटलाई अन्यत्र मोडेर पर्यटकीय पूर्वाधारमा खर्च गरिने उल्लेख गरे।

संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव मदन कोइरालाले नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश विश्वभर प्रवद्र्धन गर्न नयाँ पर्यटकीय गतिविधि सञ्चालन गर्न मन्त्रालयले योजना बनाएको भन्दै व्यवसायीबाट प्राप्त सुझावलाई आगामी बजेटमार्फत कार्यान्वयनमा लगिने विश्वास व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved