काठमाडौं। नेपालका कप्तान सन्दीप लामिछानेले घरेलु सिरिज चलिरहँदा नै बताएका थिए, ‘सकेसम्म सिरिजको शुरुका चारओटै खेल जितेर फाइनलमा पुग्ने र उपाधि जित्ने हाम्रो लक्ष्य हो।’ सन्दीपले भने जस्तै त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा अविजित रहँदै नेपालले फाइनलको यात्रा तय गरेको छ।
कप्तानको एउटा लक्ष्य त पूरा भएको छ। अब उपाधि जित्ने अर्को लक्ष्य पूरा गर्न भने सोमबार हुने फाइनलमा पीएनजीलाई हराउनु पर्नेछ। यो सिरिजको फाइनलमा नेपाललाई पीएनजीसँग एकदिवसीय सिरिजको हारको बदला पनि लिनु छ।
यसअघि, नेपालमा नै भएको पीएनजीसँगको दुई खेलको एकदिवसीय सिरिजको दुवै खेलमा नेपाल पराजित भएको थियो। यो एकदिवसीय सिरिज अघि पीएनजीले एकदिवसीय खेलमा नेपाललाई एकपटक पनि हराउन सकेको थिएन।
तर, नेपाललाई घरेलु मैदानमा नै लगातार दुई खेलमा हराउँदै पीएनजीले सिरिज क्लिन स्विप गरेको थियो। दुवै खेलमा नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गरे पनि बलिङ चल्न नसक्दा पीएनजीले खेल क्रमशः ६ रन र तीन विकेटले जितेको थियो।
तर, त्यो एकदिवसीय सिरिजको हारलाई भुलाएर नेपालले टी-२० सिरिजमा भने शानदार प्रदर्शन गर्यो। सिरिजमा लगातार चार खेल जित्दै नेपाल फाइनलमा पुग्न सफल रह्यो।
टी-२० सिरिजमा भने नेपाललाई बलिङ र ब्याटिङ दुवैले साथ दियो। पहिलो खेलमा १८३ रनको योगफल बनाएको नेपालले पीएनजीलाई १६८ रनमा रोक्दै १६ रनको जित निकालेको थियो।
दोस्रो खेलमा कसिलो बलिङको मद्दतले मलेसियालाई ११४ रनमा रोकेको नेपालले १४ औँ ओभरमा नै ६ विकेटको जित दर्ता गरेको थियो।
त्यसपछि, पीएनजीसँगको दोस्रो खेलमा नेपालले बलिङ र ब्याटिङ दुवैमा शानदार प्रदर्शन गरेको थियो। दीपेन्द्र सिंह ऐरी र आदिल अन्सारीको आक्रामक ब्याटिङमा २०३ रनको विशाल स्कोर खडा गरेपछि करणले ह्याट्रिकसहित पाँच विकेट लिँदा नेपाल ३७ रनले विजयी भएको थियो।
अन्तिम खेल खेल्नु अगावै सिरिजको फाइनलमा स्थान पक्का गरिसकेको नेपाललाई शनिबारको मलेसियासँगको खेलमा गुमाउनु केही थिएन। नयाँ प्रयोग गर्ने मौका थियो। मलेसियालाई भने फाइनलमा पुग्न यो खेलमा नेपाललाई हराउनै पर्ने दबाब थियो। हारको मतलब पीएनजी फाइनलमा पुग्थ्यो।
तर, शानदार ब्याटिङ र बलिङ प्रदर्शनको मद्दतमा शनिबार नेपालले मलेसियालाई ८५ रनले पराजित गर्यो। २३४ रनको लक्ष्य दिएकोमा नेपालले १३८ मा अलआउट गर्यो।
नेपालको ‘धमाकेदार’ ब्याटिङ
खेलमा टस जितेर मलेसियाले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो। जसमा नेपालले निडर ब्याटिङ गर्यो र २० ओभरमा पाँच विकेटको नोक्सानीमा २२३ रनको विशाल स्कोर खडा गर्यो। टी-२० अन्तर्राष्ट्रिय नेपालको यो तेस्रो ठूलो स्कोर हो।
शुरुदेखि नै विस्फोटक ब्याटिङ गर्ने जोशमा नेपालका दुवै ओपनर पावर प्लेमा नै पभेलियन फर्किएका थिए। कुशल भुर्तेल आठ बलमा १२ रन तथा आसिफ शेख नौ बलमा १८ रन जोड्दै आउट भए। चौंथो ओभरमा दुई विकेट जाँदा नेपालको स्कोर ३६ थियो।
दीपेन्द्रको कीर्तिमानी शतक
तेस्रो क्रमका ब्याटर दीपेन्द्रले टी-२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक प्रहार गर्दै कीर्तिमान राखे। उनले मात्र ५७ बलमा १० चौका र ६ छक्काको मद्दतले अविजित ११० रनको योगदान दिए।
कुनै पनि नेपाली ब्याटरले एकै खेलमा बनाएको यो हालसम्म कै उच्च स्कोर हो। यसअघि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक १०७ रन हानेका थिए।
त्यस्तै, दीपेन्द्र नेपालका लागि टी-२० र एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोस्रो खेलाडी पनि बनेका छन्। यसअघि, पूर्वकप्तान पारस खड्काको नाममा मात्र यो रेकर्ड थियो।
टी-२० क्रिकेटमा नेपालको लागि शतक हान्ने पनि उनी चौंथो खेलाडी हुन्। दीपेन्द्रले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए। पीएनजीसँगको अघिल्लो खेलमा पनि उनले ६६ रनको योगदान गरेका थिए।
यसै सिरिजको टी-२० अन्तर्राष्ट्रिय म्याचमा नेपालका लागि सर्वाधिक रन जोड्ने रेकर्ड बनाइसकेका दीपेन्द्र यो खेलबाट ९०० रन पूरा गर्ने पहिलो ब्याटर बने। कुल ९७९ रन प्रहार गरेका उनले सोमबारको फाइनलमा कम्तिमा २१ रन प्रहार गरेमा एक हजार रनको कोशेढुंगा पार गर्नेछन्।
दीपेन्द्रले रोहितसँग मिलेर तेस्रो विकेटका लागि मात्र ६२ बलमा ९६ रनको साझेदारी गरेका थिए। रोहित पौडेलले पनि यो खेलमा आफ्नो पहिलो अर्धशतक प्रहार गरे। उनले ३४ बलमा ५१ रन जोडे। त्यसैगरी दिपेन्द्रले पाँचौँ विकेटका लागि आदिल अन्सारीसँग मिलेर ५९ रनको साझेदारी गरेका थिए।
२२४ रनको विशाल लक्ष्य पूरा गर्नुपरेको मलेसियाले पनि आक्रामक खेल खेल्न प्रयास गर्यो। तर, ओपनर जुबाधीलाई पहिलो ओभरमा नै कमलसिंह ऐरीले डक आउट गरे। विस्फोटक ब्याटिङ गरिरहेका अर्का ओपनर भिरानदीपलाई पनि कमलले नै छैटौँ ओभरमा क्याच आउट गराए। भिरानदीपले २६ बलमा सर्वाधिक ४७ रन जोडेका थिए।
एकातर्फ ठूलो लक्ष्य र अर्कोतर्फ नेपालको धारिलो बलिङसामु लगातार विकेट गएपछि मलेसियाको इनिङ धरापमा पर्यो। कुनैबेलामा ७७ रनसम्म मात्र दुई विकेट गुमाएको मलेसियाले बाँकी आठ विकेट मात्र ६१ रनका लागि खेर फाल्यो।
कप्तान अहमद फैजको थप ३३ रन बाहेक अन्य ब्याटरले मलेसियाका लागि गतिलो रन जोड्न सकेनन् र मलेसिया अन्तिम ओभरमा एक बल बाँकी रहँदा मात्र १३८ रनमा अलआउट भयो।
बलिङमा नेपालका लागि कप्तान सन्दीपले चार ओभरमा मात्र १९ रन खर्चेर तीन विकेट लिए। त्यस्तै दीपेन्द्र र कमलले समान दुई विकेट लिएका थिए भने कुशल मल्ल र रोहित पौडेलले समान एक एक विकेट लिए।
नेपालले सिरिजको सबै चार खेल जितेर आठ अंकसहित फाइनलको यात्रा तय गर्दा मलेसिया भने सिरिजबाट बाहिरियो। चार खेलमा एक एक खल जितेर मलेसिया र पीएनजीको समान दुई अंक भए पनि रन रेटको आधारमा पीएनजीले नेपालसँग सोमबार हुने उपाधि भिडन्त पक्का गरेको छ।
Facebook Comment
Comment