काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बनाउने पार्टी माओवादी भएको भन्दै देशभरका युवा माओवादी आन्दोलनमा केन्द्रित हुनुपर्ने बताएका छन्।
काभ्रे जिल्लामा पार्टी प्रवेश कार्यक्रममा सहभागी प्रचण्डले तत्कालीन नेकपा एकता भंग हुँदा जनतामा भ्रम भए पनि अहिले माओवादीले नै देश बनाउने भन्ने कुरा स्पष्ट भएको दाबी गरे। भने, देश बनाउने माओवादी नै हो, जति जति बेला देशमा संकट हुन्छ, माओवादीले पार्टीले नै नेतृत्व गरेको थियो।”
संविधानसभा निर्वाचनदेखि संविधान बनाउने नेतृत्व गर्ने पार्टी माओवादी नै भएको उनले दाबी गरे। आफूले मधेशवादी दललाई निरन्तर संवादमा ल्याएर निर्वाचन गराएको पनि जस लिए। नेकपा (एमाले) अध्यक्ष केपी ओलीप्रति दोष थुपारेका प्रचण्डले आफूले देखेको सपनामा ओली नै खलनायक भएको बताए। “ओली नायक होइन, खलनायक रहेछन्,” उनले भने, ” त्यसैले सपना पूरा भएन।”
देशभरका ६ ओटामध्ये विकासका दृष्टिले भरतपुर महानगर मात्र सफल भएको उनले दाबी गरे।
आउने निर्वाचन सामान्य निर्वाचन मात्र नभएको बताएका प्रचण्डले केपी ओलीले मधेशी, मुस्लिम महिलालगायतले पाएका अधिकार उल्ट्याउने षडयन्त्र गरेको आरोप पनि लगाए। भने, “तर केपी ओली पराजित भए पनि उनले अहंकार अझै छाडेका छैनन्।”
आफूहरू विजयी नभए देश दुर्घटनामा जाने भन्दै उनले परिवर्तन माओवादीले ल्याएको दाबी गरे। आगामी निर्वाचनमा आफूहरू विजयी भए राष्ट्र विजय हुने उनको भनाइ थियो।
Facebook Comment
Comment