काठमाडौं। तत्काल भारतसँग सीमा विवाद समाधान नहुने पूर्वराजदूत तथा प्राध्यापक लोकराज बरालले बताएका छन्।
“तत्काल भारतसँगको सीमा विवाद समाधान हुँदैन्। त्यसबारे वार्ता नै शुरु भएको छैन। नक्साको कुरामा उसको आफ्नै धारणा छ, हाम्रो धारणासँग कुरा मिल्दैन। सेक्युरिटीसँग रिलेटेड कुरा छ। बाटो नै बनाइसकेको छ। भारतसँगको हाम्रो ९७ प्रतिशत सीमानाको कुरा टुंगो लागेको छ। सीमानाको कुराचाहिँ सजिलै हल हुन्छ भन्न सकिँदैन। जटिलता अहिले बढ्दैछ। हामीले आफ्नो रणनीति राम्रो बनाउनुपर्छ।”
रिर्पोर्टस क्लवमा आज बरालले नेपालमा पहिले राजनीतीकरण गर्ने अनि पछि नेगोसिएशन गर्ने बानी रहेको र त्यो उल्टो बानी रहेको बताए। उनले भने, “पहिले नेगोसिएशन गर्नुपर्छ। वार्ताको टेबुलमा पुर्याउने वातावरण बनाउनुपर्छ।”
उनले प्रधानमन्त्रीको भारत भ्रमणको सिलसिलामा व्यापार घाटा कसरी कम गर्ने ? जलस्रोतको कुरा कसरी गर्नेलगायत अन्य विषयमा पनि कुरा हुन सक्ने सुनाए।
बरालले अब नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदन स्वतः खारेज भएको रहेको टिप्पणी गरे। भने, “पहिले सार्कको समयमा पनि ईपीजी बनेको थियो। नेपाल–भारत सम्बन्धमा पनि ईपीजी बनेको हो। भारतले ईपीजीको प्रतिवेदन नुबझ्नु थियो भने यो समूह नै बनाउनुहुँदैन्थो भन्ने लाग्छ, अथवा प्रतिवेदन बुझेर राखेको भए पनि हुन्थ्यो। अब भारतले प्रतिवेदन नबुझेपछि कूटनीतिक भाषामा भन्ने हो भने यो ईपीजीको प्रतिवेदन स्वतः खारेज भएको बुझिन्छ। ईपीजीको प्रतिवेदनको कन्टेन्ट उसलाई चित्त बुझेन होला। यो त अनुमानको कुरा नै हो।”
अहिलेको परिवेशमा अरू मुलुकको पनि सक्रियता बढेकोले नेपालले पनि आफ्नो रणनीति बनाउनुपर्नेमा उनको जोड थियो। उनले नेपाल–भारत सम्बन्धको कुरा गर्दा भारतले नेपाललाई दिने सहयोग बढाउनेजस्तो लागेको अनुमान सुनाए। तर, पैसामात्रै बढाएर नहुने भन्दै अहिले भएका परियोजना समयमै सम्पन्न हुनुपर्नेमा उनले जोड दिए।
जयनगर–जनकपुर रेल दुई तीन वर्ष पहिलेदेखि नै चलिसक्नुपर्दथ्यो भन्ने उनको भनाइ छ। उनले भने, “३५ किलोमिटरको रेल चलाउन लागि यस्तो समस्या छ, कानूनमा बाधा छ भने त्यो हटाउनुपर्छ। हाम्रो सक्रियता हुनुपर्छ। २० प्रतिशत पनि सरकारले अहिलेको क्यापिटल खर्च गर्न सकेको छैन। सारा पैसा जाम भएर बसेको छ। बाटाघाटा सबै ध्वस्त छन्। रेल ल्याएको त ठिक हो, कति चलाउन सक्छ? अझै थप्ने कुरा, त्यो पनि हेर्नुपर्छ।”
फरक प्रसंगमा बरालले चुनावमा अहिलेको गठबन्धन कायम राख्ने वा नराख्ने भन्ने कुरा कांग्रेसले आफ्नो अवस्था हेर्नुपर्ने र निर्णय लिनुपर्ने टिप्पणी गरे। उनले भने, “नेपाली कांग्रेसको अवस्था हेर्नुपर्छ। भोलि उनीहरू फेरि गठबन्धन गरेर जान्छन्। त्यसपछि कांग्रेसको के हालत हुन्छ ? भोलि गएर उनीहरू मिल्न पनि सक्छन्।”
Facebook Comment
Comment