काठमाडौं। केन्द्रीय तथ्यांक विभागले देशभर आगामी वैशाख ६ गतेदेखि सातौँ कृषि गणना गर्न लागेको छ। २०१८ देखि विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको र सोहीअनुरुप नै आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म झापालगायत ७७ जिल्लामा गणना गरिने भएको हो।
झापाका १५ वटै पालिकामा गणनाका लागि सुपरीवेक्षक र गणक गरी १६६ जनालाई खटाउन लागिएको जिल्ला कृषि गणना कार्यालयका अधिकृत चुडामणि लुइँटेलले बताए। ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूलनाराका साथ शुरु गरिने गणनाका लागि जिल्लामा ३३ सुपरीवेक्षक र १३३ गणक खटाउन लागिएको उनको भनाइ थियो।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापामा नौ हजार ४०० कृषि परिवार छ। सोही तथ्यांकलाई आधार मानेर जिल्लाको १३१ वडालाई ३७६ वडाखण्ड विभाजन गरी सुपरिवेक्षक र गणक खटाउन लागिएको अधिकृत लुइँटेलले बताए।
करारमा नियुक्त भएका सुपरिवेक्षक र गणकलाई चैत २५ देखि वैशाख २ गतेसम्म मेची क्याम्पसमा तालिम दिइने र त्यसपछि तथ्यांक संकलनका लागि ४५ दिनसम्म घरदैलोमा पठाइने उनले जानकारी दिए। अधिकृत लुइँटेललले भने, “यो गणनाले कृषि मन्त्रालयले दश वर्षमा कृषि क्षेत्रमा गरेको लगानी कतिको सदुपयोग भयो त्यसको पनि विवरण प्राप्त हुने सरकारको अपेक्षा छ।”
कृषि गणनामा पारिवारिक, व्यावसायिक तथा संस्थागत रूपमा सञ्चालन भइरहेका कृषि कार्यको विवरण संकलन गरिनेछ। जिल्लामा १ चैतदेखि कार्यालय नै स्थापना गरेर काम गरिरहेको अधिकृत लुइँटेलको भनाइ थियो।
Facebook Comment
Comment