तीन करोड लगानीमा बाख्रा फार्म सञ्चालन गर्दै तीन युवा

तीन करोड लगानीमा बाख्रा फार्म सञ्चालन गर्दै तीन युवा

हेटौंडा। हेटौंडा १७ हटिया सानोगंगटेका विवेक सुवेदी अहिले बाख्रा फार्मतिरै देखिन्छन्। ३१ वर्षीय सुवेदी व्यवसायिक बाख्रापालनमा लागेको तीन वर्ष भयो। उनले ”बाख्रा पालन गरी स्वरोजगार बनौं, आर्थिक हैसियत मजबुत बनाऔं” भन्ने मुल नाराका साथ बि.बि.आर. एग्रो प्रा.लि. फार्म खोलेर अहिले बाख्रा पालन गरिरहेका छन्।

अष्ट्रेलियाबाट ल्याइएको बोयर जातको बाख्रा पालन गरिरहेका उनले लेयर्स कुखुरा समेत पालन गरिरहेका छन्। अहिले उनको खोरमा ४० वटा बोका, ४० वटा माउ, ५० वटा बेच्न तयार भएका पाठापाठी र स–साना पाठापाठी गरी २४० वटा बोयर जातका बाख्राहरु रहेका छन्।

पढाइको सिलसिलामा काठमाडौं गएका सुवेदी करिब १० वर्षजति काठमाडौंमा नै मोबाइल पसल चलाएर बसेका थिए।  ”काठमाडौंमा पढ्दै काम गर्ने बाहेक विकल्प हुन्थेन,” उनले भने,”घरबाहिर रहेर कतिञ्जेल काम गर्ने भन्ने लाग्यो। आफ्नै क्षेत्रमा कृषि कर्म गर्ने सोच आएपछि सबै कुरा बुझ्न थालेँ। अहिले बाख्रापालनमा लागेको छु। यसले राम्रो भइरहेको छ।”

घरमा पहिलेबाटै बाख्रापालन गरिएको भएपनि व्यवसायिक रुपमा बाख्रापालन गर्न थालिएको तीन वर्ष जति भएको उनले सुनाए। सुवेदीको मात्र होइन उक्त फार्ममा अरु दुई जनाको पनि लगानी रहेको छ।

फार्ममा ४५ वर्षीया बद्रीनाथ ज्ञवाली र ४८ वर्षीया राजु पराजुली गरी तीन जनाको सह-लगानी रहेको छ। अहिलेसम्म फार्ममा तीन करोड भन्दा बढी लागत लागिसकेको सुवेदीले बताए।

उनको फार्ममा खरी जातको बाख्रा पनि पालिएको छ। त्यस्तै सात हजार कुखुरा अट्ने पोल्ट्री फार्म पनि रहेको छ। उक्त पोल्ट्री फार्ममा अहिले भने तीन हजार लेयर्स कुखुरा रहेको छ।

”तीन जनाको लगानीमा काम सुरु भएको छ,” उनले भने,”युवाहरुले कृषिमा हात हाल्ने हो भने नेपालको कृषि कर्म नै परिवर्तन हुन्छ। कृषिले देशको आर्थिक समृद्धिमा पनि महत्वपूर्ण योगदान दिनेछ। सरकारले पनि हामीलाई साथ र सहयोग गर्नु पर्छ।”

एउटै बोकाको दुई लाख ५० हजार

उनले बोयर जातको बोका तथा माउ अहिले बीउको लागि बिक्रि वितरण गर्ने गरेका छन्। एउटा बोकाको मूल्य अहिलेको बजार मूल्य अनुसार दुई लाख ५० हजार रुपैयाँ पर्ने गरेको सुवेदीले बताए।

अस्ट्रेलियाबाट आयात गरेको बोका र माउबाट जन्मिएकाले यसको मूल्य महँगो पर्ने गरेको उनले बताए। उनले फार्ममा चार जनालाई रोजगारी पनि दिइरहेका छन्।

फार्मको सम्पूर्ण जिम्मेवारी फार्मका म्यानेजर तथा टेक्निसियन रञ्जन अर्याललाई दिइएको छ। बाख्राको लागि तीन बिगाहा क्षेत्रमा घाँस लगाइएको अर्यालले बताए।

बारीमा सुपर नेपियर, जै, बार्सिम स्टाइलो, किम्बु लगायतको घाँसहरु लगाइएको छ। अहिले बोयर जातको बाख्रा मासुको लागि भने खासै बिक्री नहुने सञ्चालक सुवेदीले बताए। नेपाल व्यवसायिक बाख्रा पालन महासंघ मकवानपुरले प्रतिकिलो एक हजार दुई सय रुपैयाँ जिउँदोलाई पर्ने गरी प्रदेश सरकारलाई मूल्यसूची बुझाएको छ।

महासंघका नवचिर्वाचित अध्यक्ष समेत रहेका सुवेदीले उक्त मूल्यसूचीमा बिक्री गर्दा पनि किसानलाई घाटा पर्न जाने बताउँछन्। प्रदेश सरकारले भने उक्त मूल्य सूचीमा कुनै पनि प्रतिक्रिया दिएको छैन।

घाँस तथा दानाको मूल्य दिनानुदिन बढेपनि मासुको मूल्य बढाउन सरकार हिचकिचाउने गरेको उनको आरोप छ। अहिले सरकारी निकाय तथा विभिन्न संघ संस्थाबाट उक्त बोयर जातको बोका तथा माउ किन्न आउने गरेको सुवेदी बताउँछन्।

”अनुदानमा वेवास्ता”

पछिल्लो समय कृषि तथा पशुपालनमा युवाहरुको आकर्षण बढ्दो क्रममा रहेको छ। तर सरकारबाट वास्तविक कृषकहरुलाई साथ सहयोग नभएपछि कृषकहरु खिन्न देखिएका छन्।

आफूले ठूलो लागतमा व्यवसाय सुरु गरेको तर सरकारबाट कुनै पनि अनुदान प्राप्त नभएको उनी बताउँछन्। बागमती प्रदेश सरकारबाट प्रदान गरिने अनुदान सोर्स फोर्सका आधारमा अरुलाई नै प्रदान गरिएको उनले गुनासो गरे।

विभिन्न चरणमा आफ्नो फार्म छनौट भएपनि अन्तिम चरणमा आफ्नो भन्दा कम नम्बर प्राप्त गर्ने फार्मलाई अनुदान प्रदान गरिएको उनले बताए।

”हाम्रो फार्ममा लगानी ठूलो रहेको छ र हेटौंडा उपमहानगरपालिकाबाट प्राप्त अनुदान पर्याप्त नहुने भएकाले उपमहानगरपालिकामा भने अनुदानको लागि खासै पहल गरेनौं,” सुवेदीले सुनाए।

यद्यपी केही समय अघि अनुदानको लागि पहल गरेको र विभिन्न प्रक्रिया बाँकी रहेको उनको भनाइ छ। ”बाहिरी बजारसँग प्रतिस्पर्धा गरिरहँदा हामीजस्ता कृषकहरुलाई निकै नै कठिन पर्ने गर्दछ,” उनले भने,”उनीहरुले विभिन्न अनुदान र राहत लिएर व्यवसाय गर्दा लागत कम लाग्ने हुन्छ तर हाम्रो लागत बढी भइरहेको हुन्छ, यस्तोमा उनीहरुसँग प्रतिस्पर्धा गर्दा घाटाको व्यापार गरिरहनु परेको छ।”

सरकारले कृषकहरुको भविष्य सुनिश्चित गरिदिए यो व्यवसाय थप फैलिँदै जाने उनी बताउँछन्। ”हामी संघर्ष गरिरहेका छौं, सरकारसँग आफ्नो अधिकारको लागि लडिरहेका छौं,’ उनी भन्छन्, ‘अहिले नै आत्तिनु हुँदैन, भविष्यमा व्यवसाय नाफामूलक हुनेछ।”

सुवेदीले व्यवसाय सुरु गरेको पहिलो वर्ष कुनै पनि नाफा आर्जन नगरेको तर गत वर्ष विभिन्न खर्च कटाएर केही नाफा भएको सुनाए।

”बिउको लागि बाख्रा उत्पादन गरिएको भएर अहिले हाम्रो व्यवसायबाट त राम्रै नाफा भएको छ, तर समग्रमा बाख्रापालक कृषकहरुले घाटाको व्यापार गरिरहनु परेको छ,” सुवेदीले भने,”सरकारले उचित अनुदान र राहतको व्यवस्था गरिदिए थप सहज हुने थियो।”

भारतबाट आयात गरिएका खसी बोकाहरूको खर्च कम लाग्ने भएकाले बजारभाउ पनि सस्तो देखिएको उनले बताए। उनले भने ”भारतमा विभिन्न निकायबाट राहत तथा अनुदान लिएर व्यवसाय गर्छन्, जसबाट बजारभाउ सस्तो हुन्छ। तर हाम्रोमा लागत नै बढी लाग्ने हुँदा बजारभाउ पनि बढाउनुपर्ने बाध्यता रहेको छ, यस्तोमा प्रतिस्पर्धा गर्न निकै कठिन परेको छ।”

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले कृषि समृद्धि र विकासको आधार बताएका छन्। ”नाराले मात्रै समृद्धि हुँदैन, अहिलेको माग अनुसार उत्पादन गर्न सकिएको छैन,” पौडेलले भने ”आयातमा बढी निर्भर हुनुपरेको छ।”

उनले पशुपालन गरेर माछा मासुमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिए। पौडेलले आफू मुख्यमन्त्री हुँदा हरेक बर्ष एक लाख देखि १० लाख सम्म साना किसानहरुलाई न्युनतम तीन प्रतिशत ब्याजदरमा ऋण वितरण गरेको बताए।

अनुदान र सहुलियतपूर्ण ऋण सम्बन्धित ठाउँमा अझै नपुगेको उनले बताए। उनले किसानको हितको लागि अहिलेको सरकारले केही गर्न नसकेको आरोप लगाए।

”सरकारले गलत नीति लिएका कारण किसानले सहुलियत ऋण पाउन सकेनन्,” उनले भने ”विगतमा एमाले सरकारले किसानको हितमा लिएको निति यो सरकारले लिन सकेन।” पौडेलले कृषकहरुलाई सरकारसँग लडेर आफ्नो हक अधिकार लिन आग्रह गरे। अझै सम्मपनि कृषकको हितमा हुने गरी बीमा योजना लागु हुन नसकेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved