मनाङ। हरेक जिल्लामा मागभन्दा बढी संख्यामा म्यादी प्रहरीमा भर्ना हुन चाहनेको आवेदन परे पनि हिमाली जिल्ला मनाङमा भने माग संख्याभन्दा निकै कमले आवेदन दिएका छन्।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि मनाङमा मागभन्दा १ सय १६ जना कम आवेदन परेको हो। चैत ६ देखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा मागभन्दा कमले आवेदन दिएका हुन्।
आवेदन दिनेमा भूपूप्रहरी र भूपूसैनिक बढी छन्। प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीका अनुसार २५८ म्यादी प्रहरी आवश्यक पर्ने भए पनि १४२ जनाको मात्रै आवेदन परेको छ। “माग सङ्ख्याभन्दा कमको आवेदन परेको छ, विगतको निर्वाचनमा जस्तै छिमेकी जिल्लाबाट ल्याएर माग पूर्ति गर्नुपर्ने अवस्था छ,” उनले भने।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट सेवानिवृत्त भएका व्यक्तिलाई म्यादी प्रहरीका लागि प्राथमिकता दिइने छ। म्यादी प्रहरीको छनोट प्रक्रिया यही चैत १५ देखि प्रारम्भ हुने, नतिजा चैत २२ सम्म प्रकाशन तथा चैत २८ गतेदेखि प्रशिक्षण सुरु गरिने जनाइएको छ।
Facebook Comment
Comment