मोरङ । नेपाल पत्रकार महासंघ मोरङले प्रत्येक वर्ष प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ यस वर्ष गजेन्द्र बुढाथोकी र देवनाराण साहलाई प्रदान गर्ने निर्णय गरेको छ ।
महासङ्घका अध्यक्ष सञ्जीव खनालको सभापतित्वमा आज बसेको बैठकले रु ५० हजार ५१ राशिको षष्टिका बस्नेत पुरस्कार बुढाथोकी र रु १५ हजार ५१ राशिको प्रोत्साहन पुरस्कार साहलाई दिने निर्णय गरेको छ ।
बुढाथोकी टक्सार म्यागजिनका प्रधान सम्पादक र साह कान्तिपुर दैनिकका मोरङ संवाददाता हुन्।
महासङ्घको स्थापना दिवसका उपलक्ष्यमा यही चैत १६ गते विराटनगरमा सो पुरस्कार वितरण गरिने मोरङ सचिव नेत्र पी अधिकारीले जानकारी दिए।
विराटनगर–११ निवासी केदारबहादुर बस्नेतले आफ्नो धर्मपत्नीको स्मृतिमा अक्षयकोष स्थापना गरी सूचनाको अधिकार क्षेत्रमा काम गर्ने अभियन्ता तथा पत्रकारलाई प्रदान गर्न उक्त पुरस्कारको स्थापना गरेका हुन्।
Facebook Comment
Comment