उम्मेदवार छनोटका लागि एमालेले बनायो ६ मापदण्ड

नेपालभ्युज

उम्मेदवार छनोटका लागि एमालेले बनायो ६ मापदण्ड

काठमाडौं। नेकपा(एमाले)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्न ६ वटा मापदण्ड बनाएको छ। एमालेको बिहीबार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनोटका लागि ६ ओटा मापदण्ड तय गरेको हो।

स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासन प्रतिको दृष्टिकोण, सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय गरिएको नेकपा(एमाले) प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।

त्यस्तै उम्मेदवार सिफारिस गर्नका लागि वडा अध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँकमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख/उपप्रमुखको हकमा गाउँ/नगरकमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्नेछ।

उपमहानगर/महानगरकमिटीको हकमा सम्बन्धित कमिटीहरूको सिफारिस र जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेगरी केन्द्रीय कमिटी बैठकबाट टुंग्याइएको उनले जानकारी दिए।

बैठकले स्थानीय तह निर्वाचन घोषणापत्रको तयारीका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ। कार्यदल सदस्यहरूमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाल, मधेश प्रदेशका सहईन्चार्ज प्रभु शाह, पार्टीका बुद्धिजिवी परिषद् इन्चार्ज मनोजजंग थापा, नीति अनुसन्धान प्रतिष्ठानका सदस्य डा. युवराज खतिवडा, स्थानीय विकास विभागका उपप्रमुख प्रभा बराल, नेपाल बुद्धिजिबि परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र इञ्जीनियर सुशिल ज्ञवाली विज्ञका रुपमा रहेको प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिए।

उनले स्थानीय तह निर्वाचन घोषणापत्र २०७९ बैशाख ९ गते पार्टीले केन्द्रीय तहबाट जारी गर्ने र स्थानीयस्तरमा पनि आ–आफ्नो आवश्यकता अनुसार प्रतिवद्धतापत्र जारी गरिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved