एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदेमेयर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न सधैँ तयार रहेको बताएका छन्। तर, रुससँग हुने कुनै पनि सहमतिलाई जनमतसंग्रहमा लैजाने पनि उनले बताएका छन्।
दुई पक्षबीच धेरै चरणमा वार्ता भइसकेको छ। रूसले २०१४ मा कब्जा गरेको क्रिमिया र भर्खरै युक्रेनबाट टुक्रिएका डोनेस्ट र लुहानस्क (यी दुईलाई रूसले स्वतन्त्र देशको मान्यता दिएको छ) तथा युक्रेनको सम्भावित नेटो सदस्यताका विषयमा यी वार्तामा छलफल भएको छ।
तर, अहिलेसम्म कुनै उपलब्धि हासिल भएको छैन। सोमबार जेलेन्स्कीले फेरि एकपटक पुटिनलाई वार्ताका लागि आव्हान गरेका छन्। ४ करोड ४० लाख जनसंख्या बसोबास गर्ने युक्रेन अहिले युद्धले आहत छ र झन्डै एक चौथाई जनसंख्या विस्थापित भइसकेको छ।
युक्रेन नेटोको सदस्य बन्दैन भन्नेमा रूस आश्वस्त हुन चाहन्छ। यो विषयमा सहमत हुन युक्रेन पनि तयार भएजस्तो देखिन्छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोलाई चेतावनी दिनका लागि अमेरिकाले युक्रेनको प्रयोग गरिरहेको आरोप लगाएका छन्।
उनले युक्रेनमा रुसी भाषा बोल्ने मानिसहरूमाथि जातीय नरसंहार भएको भन्दै आफ्नो आक्रमणको पुष्टि पनि गर्न खोजेका छन्। २४ फेब्रुअरी युक्रेनमा हमला गर्नुअघि उनले यहाँबाट टुक्रिएका दुई राज्य डोनेस्ट र लुहानस्कलाई मान्यता दिने घोषणा गरेका थिए।
पुटिनले लगाएको जातीय नरसंहारको आरोप मिथ्या रहेको युक्रेनको दाबी छ।
वार्ता टोलको नेतृत्व कसले गरेका छन् ?
रूसको वार्ता टोलीलाई राष्ट्रपतिका सल्लाहकार भ्लादिमिर मेडिन्स्कीले नेतृत्व गरिरहेका छन्। युक्रेनको वार्ता टोलीको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेज्निकोभ र राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडेल्याकले गरिरहेका छन्।
मुख्य मुद्दा के–के हुन् ?
सीमाको प्रश्न दुवै देशको मुख्य मुद्दा र अहिलेको युद्धको कारक हो। २०१४ मा रूसले क्रिमिया कब्जा गर्यो। र, २१ फेब्रुअरीमा उसले स्वघोषित जनवादी गणतन्त्र डोनेस्ट र जनवादी गणतन्त्र लुहानस्कलाई स्वतन्त्र देशको मान्यता दियो।
आक्रमणयता रूसी सेनाले युक्रेनको दक्षिणी भूभाग, विद्रोहीको कब्जा रहेका क्षेत्र वरपरका भूभाग र किभको पूर्व र पश्चिमतर्फका भूभाग नियन्त्रण लिएको छ। रूसले कम्तीमा १ लाख ७० हजार स्क्वायर किलोमिटर युक्रेनी क्षेत्र (झन्डै ट्युनिसिया देशको भूभाग बराबर) आफ्नो कब्जामा लिएको छ। समग्रमा रूसले युक्रेनको एक तिहाई जमिनमा आफ्नो दाबी पेश गरिरहेको छ।
रूसले कब्जामा लिएका आफ्ना भूभाग कुनै हालतमा उसलाई सुम्पन नसकिने युक्रेनले बताउँदै आएको छ। उसले ती इलाकामा आफ्नो सार्वभौमिकता पुनर्स्थापित गर्ने दोहोर्याइरहेको छ। ‘हाम्रो अडान अपरिवर्तनीय छ,’’ युक्रेनका वार्ताकार पोडोल्याकले भने। उनले युद्ध विराम हुनुपर्ने, रूसी सेना फर्कनुपर्ने र गतिलो सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताए।
सोमबार युक्रेनको एक टेलिभिजनसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले क्रिमिया र डोन्वसको भविष्यबारे सम्भावित जनमतसंग्रहका लागि बहस गर्न सकिने बताए।
तटस्थताको अर्थ के हो ?
रूसले युक्रेन तटस्थ रहनुपर्ने माग गरेको छ। वार्तामा यो उसको प्रमुख माग हो। अन्तर्राष्ट्रिय कानून अनुसार तटस्थताको अर्थ कुनै पनि देशले तेस्रो देशको सैन्य सङ्घर्षमा हस्तक्षेप गर्दैन भन्ने हो।
रूसले युक्रेन आफ्नो असंलग्न सेनामार्फत युक्रेन तटस्थ देश रहनुपर्छ भन्ने माग गरेको छ। युद्धअघि पुटिनले युक्रेनले नेटोको सदस्यता लिन हुँदैन भन्ने मागलाई आफ्नो मुख्य माग बनाएका थिए। उनले रूसी सीमाबाट नेटो सैनिक फिर्ता हुनुपर्ने माग पनि गरेका थिए, जसलाई अमेरिकाले अस्वीकार गर्यो।
केही विश्लेषकहरू आफ्नो रणनीतिक स्वार्थसिद्ध गर्नका लागि रूसले तटस्थताको विषय उठाइरहेको बताउँछन्। तटस्थ रहनका लागि युक्रेनले नेटोको सदस्यता लिन हुन्न भन्ने चाहना रूसको छ भन्ने युक्रेनी सरकारले बुझिसकेको छ। ‘‘तटस्थ युक्रेनले भविष्यमा हुने आक्रमणबाट बच्न नाटोबाहिर सुरक्षा सम्बन्ध विस्तार गर्नुपर्ने हुन्छ,’’ न्युक्यासल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय राजनीतिकी वरिष्ठ लेक्चरर क्याथरिन एएम राईटले भनिन्।
डि–नाजिफिकेशनको अर्थ के हो ?
युक्रेनमा रहेका रूसी भाषा बोल्ने नागरिकको ‘‘जातीय नरसंहार’’ भइरहेको रूसको दाबी छ। पुटिनका अनुसार हिट्लरको नाजी समूहजस्तै चरित्र बोकेको अजोभ बिग्रेड नामक समूहलाई युक्रेन सरकारले यस्तो काम गर्ने छुट दिइरहेको छ। पुटिनले यस समूहलाई ‘‘नाजी सङ्गठन’’ को संज्ञा दिएका छन्।
उनका अनुसार सङ्गठनले रूस भाषा बोल्नेहरूलाई छानी–छानी मार्ने गरेको छ।
पूर्वी युक्रेनमा रूसी सेनाको समर्थनप्राप्त विद्रोहीहरूसँग भिड्नका लागि सन् २०१४ मा यो दस्ता गठन भएको थियो। यस दस्ताका संस्थापकहरूले अति दक्षिणपन्थी र श्वेत सर्वोच्चतावादी अभिव्यक्ति तथा विचार दिने गरेका छन्।
युक्रेनी राष्ट्रपतिका सहयोगीहरूले मारियूपल शहरको रक्षाका लागि यो दस्ताले भूमिका खेल्ने अभिव्यक्ति बारम्बार दिदैं आएका छन्। यता, जेलेन्स्कीकै भाषामा भन्नुपर्दा युक्रेनका सहरहरूमा विध्वंस मच्चाएर रूसले नाजी शैलीको व्यवहार देखाइरहेको छ।
वार्ता कहाँ भइरहेको छ ?
बेलारूसको सीमा वा बेलारूसका शहरहरूमा व्यक्तिगत भेटघाटसहित युद्ध रोक्नका लागि बैठकहरू भइरहेका छन्। त्यसैगरी, भिडियो कन्फ्रेन्समार्फत पनि विभिन्न चरणका बैठक भइरहेका छन्।
Facebook Comment
Comment