हेटौंडा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचन हुँदैन कि भनेर दोधारमा नपर्न आग्रह गरेका छन्।
सोमबार कांग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घरदैलो अभियानलाई तीव्र बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई पनि दिए।
“स्थानीय निर्वाचन नजिकिएको छ। हामी जनताको घर आँगनमा पुग्न सकेका छौँ कि छैनौँ ? उनीहरूको अवस्था कस्तो छ ?, जनहितमा पार्टीले के गर्न सक्छ ? जनताको हामीप्रति असन्तुष्टिहरू छन् कि ? कांग्रेसले सुधार्नुपर्ने पो केही छ कि ? यी सबै विषयमा गम्भीर हुनु आवश्यक छ,” उनले भने।
तोकिएकै मितिमा निर्वाचन हुने उनले दाबी गरे।
कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेश कार्यसमिति कांग्रेसलाई जनताप्रति अझै जवाफदेही र जिम्मेवार बनाउन सक्रिय ढंगबाट अघि बढिरहेको बताए।
कांग्रेस नेपाली जनताको मन मुटुमा बसेको पार्टी भएको भन्दै उनले कांग्रेसप्रति जनताको विश्वास अझै आर्जन गर्न सबैले आ-आफ्नो क्षेत्रमा भूमिका निर्वाह गर्नुपर्ने बताए।
आन्तरिक विवादहरूलाई मिलाउँदै, सबैको सुखदुखमा सरिक हुँदै सबैको विचार भावनाको सम्मान गर्दै कांग्रेस अघि बढ्ने बानियाँले प्रस्ट पारे। कांग्रेसको संगठनलाई अझै चुस्त दुरुस्त बनाउने सन्दर्भमा प्रदेश कार्यसमितिले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो।
Facebook Comment
Comment