ओलीलाई मन्त्री आलेको चेतावनीः दुर्योधनभन्दा बढी घमण्ड भयो, जनताले‍ चुनावमा देखाइदिन्छन्

नेपालभ्युज

ओलीलाई मन्त्री आलेको चेतावनीः दुर्योधनभन्दा बढी घमण्ड भयो, जनताले‍ चुनावमा देखाइदिन्छन्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन्।

ओलीकै घमण्डका कारण बामपन्थीहरूको दुई तिहाई नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनुपरेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्डलाई नेपाली जनताले जवाफ दिने पनि बताए।

गौरीशंकर मिडिया प्रालिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबी गर्दै ओलीले अब घमण्ड गर्न नमिल्ने बताए।

नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका मन्त्री आलेले ओलीमा महाभारतको दुर्योधनभन्दा पनि बढी घमण्ड चढेको तर जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताए। उनले भने, “आज कोही व्यक्तिको अहंकारले गर्दा संघको सरकार पनि गयो। प्रदेशको सरकार पनि गयो। अझै त्यो व्यक्तिले अब आउने वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जित्छु भन्ने जुन घमण्ड गरेको छ। त्यो घमण्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुईटैलाई दाज्यौं भने अहंकारमा कुनै कमी छैन। तपाईहरू मूल्यांकन गर्नुहोस्। जनताले आगामी वैशाख ३० गते जवाफ दिनेवाला छन्।”

मन्त्री आलेले आगामी ३ वर्षभित्र सम्पन्न हुने गरी चलचित्र नगरी दोलखाका लागि आवश्यक बजेटको व्यवस्था गर्न आफूले सक्दो पहल गर्ने बताए। त्यसका लागि आफूले प्रधानमन्त्री, सञ्चारमन्त्री र अर्थमन्त्रीसँग छलफल गर्ने पनि उनले बताए।

मन्त्री आलेले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरोकारवाला सबै निकायले सरकारलाई घच्घच्याउनेपर्ने पनि बताए।

त्यस अवसरमा मन्त्री आलेले मर्यादित पत्रकारिता गर्न पनि सञ्चार माध्यामहरूलाई आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved