तीन लघुकथाः कुकुर, अन्धविश्वास र भ्यागुता

‘तिमी किन बीच सडकबाटै फर्कियौ ?’ अर्को बिरालोले सोध्यो।
‘मान्छेले बाटो काट्यो नि।’ पहिलो बिरालोले भन्यो।

तीन लघुकथाः कुकुर, अन्धविश्वास र भ्यागुता

कुकुर

जीवनको आखिरी समयमा पाँच पाण्डव हिमालय भेगतिर लागे। उनीहरूलाई पछ्याउँदै एउटा कुकुर पनि गएको थियो। अगाडि पाँच पाण्डव, त्यसपछि द्रौपदी र पछिल्लो लहरमा थियो- कुकुर।

पाँच पाण्डवले अपरिचित त्यो कुकुरलाई सोधे, ‘तिमी कसका कुकुर हौ ? हाम्रो पछिपछि किन आइरहेछौ ?’

कुकुरले भन्यो, ‘म कसैको कुकुर होइन। म स्वतन्त्र कुकुर हुँ र हिमालयमा गएर मर्न चाहन्छु। कुरा के हो भने, एउटा महाभारत त हामी कुकुरहरूबीच पनि भएको थियो। सबै कुकुर मरे। म मात्र बँचेँ। त्यसैले हिमालयमा गएर मर्न चाहन्छु।’

द्रौपदीले सोधिन्, ‘तिमीसँगै तिम्रा कुकुरनीहरू चाहिँ आएनन् ?’

‘तिनकै कारण त हामी कुकुरहरूबीच महाभारत भएको थियो।’ कुकुरले जवाफ दिँदै भन्यो।

000

अन्धविश्वास

एउटा बिरालो सडक पार गरिरहेको थियो।

तर, सडकको बीच भागमा पुगेपछि ऊ सडक पार नगरी फर्कियो।

‘तिमी किन बीच सडकबाटै फर्कियौ ?’ अर्को बिरालोले सोध्यो।

‘मान्छेले बाटो काट्यो नि।’ पहिलो बिरालोले भन्यो।

000

भ्यागुता

कलेजसँगै एउटा तलाउ थियो। कलेजमा विद्यार्थी पढ्थे। तलाउमा भ्यागुता रहन्थे। सबैजसो रात भ्यागुता टर्टराउँथ्यो।

एकदिन एउटा भ्यागुता तलाउबाट निस्किएर कलेजमा छिर्‍यो। विद्यार्थीहरूले त्यस भ्यागुतालाई देखेपछि त्यसलाई खेलाए, उफारे र जति सक्दो पिट्ने काम पनि गरे।

पराजित, घाइते र थकित भ्यागुता यस्तो बाचा गर्दै तलाउमा फर्कियो, ‘म अबदेखि त्यो कलेजमा कहिल्यै जाँदिनँ।’

घाइते भ्यागुताको दयनीय अवस्था देखेपछि भ्यागुतीले सोधिन्, ‘तिम्लाई विद्यार्थीहरूले किन यसरी पिटे ? के तिमी त्यो कलेजको प्रिन्सिपल भएका थियौ र ?’

(हिन्दीबाट अनुवादः विवश वस्ती)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved