एक रूसीको बकपत्र : माफ गर्नुस्, हामी असफल भयौं

रूस नयाँ सैतान जन्माउने देश बन्यो र पहिलेभन्दा शक्तिशाली अहिलेको सैतानले आणविक हतियार भिरेको छ।

एक रूसीको बकपत्र : माफ गर्नुस्, हामी असफल भयौं

”सोन्या उठ, युद्ध शुरू भयो”, २४ फेब्रुअरीको बिहान मैले मेरी प्रेमिकालाई भनेका प्रथम शब्द यीनै हुन्। यतिबेला रूसले युक्रेनमा मिसाइलको वर्षा गरिसकेको थियो। मैले यस्तो बोल्नुपर्ला भनेर कहिल्यै चिताएको थिइँन।

मस्कोमा कसैले पनि युद्ध हुनेछ भन्ने सोचेको थिएन, यद्यपी अहिले पीडादायी रूपमा यो स्पष्ट भएको छ कि क्रेमलिन (सरकार) ले यस्तो तयारी वर्षौदेखि गरिरहेको थियो।

के खुलेयाम वा गोप्य रूपमा  भ्लादिमिटर पुटिनको सत्ताको विरोध गरिरहेका हामी दशौं लाख रूसी अहिलेको परिस्थितीको मौन साक्षीमात्रै हौं ? अझै खराब भाषामा भन्नुपर्दा, के अहिलेको परिस्थिती हामीले निम्त्याएका हौं ?

होइन । २०११ मा जब पुटिन राष्ट्रपतिका रूपमा क्रेमलिन फर्कने घोषणा गरियो, तब दशौं हजारले सडकमा ओर्लिएर विरोध जनायौं । २०१४ मा रूसले क्रिमिया कब्जा गर्दा, डोनबासमा युद्धलाई मलजल गर्दा हामीले युद्धविरोधी ठूला ठूला र्‍यालीहरू गर्‍यौं।

र, २०२१ मा रूसका प्रमुख विपक्षी व्यक्तित्व अलेक्साई नाभाल्नीलाई मस्को फर्कनासाथ सरकारले पक्राउ गरेपछि हामीले फेरि एकपटक सडक ततायौं।

पुटिनलाई रोक्नका लागि हामीसँग जे जति थियो, ती सबै शक्ति प्रयोग गर्‍यौं भन्ने मेरो बुझाई छ। जो साँचो होइन। हामीले प्रदर्शन गरेपनि, लबिङ गरेपनि, विरोधको सूचना फैलाएपनि, संगठन गरेपनि, भ्रस्ट सत्ताको छायाँमुनि इमानदार जीवन निर्माण गरेपनि। हामीले स्विकार्नुपर्छ : हामी असफल भयौं ।

हामी विध्वंश रोक्न असफल भयौं। र, अब हामीले त्यो असफलता सहनै पर्छ।

युद्धविरोधी रूसीहरू अहिले निकै भयावह अवस्थामा छन्। हामीले यो तर्कविहीन र अवैध युद्धलाई रोक्न त के यसको विरोधसमेत गर्न सक्ने अवस्थामा छैनौं।

४ मार्चमा पास भएको कानुनले रूसमा युद्ध विरोधी भावना अभिव्यक्त गर्नेलाई १५ वर्षसम्म जेलसजाय हुनसक्ने व्यवस्था गरेको छ।

युक्रेन युद्ध शुरू भएयता युद्धविरोधी गतिविधिका कारण झन्डै १५ हजार मानिसहरू जेलमा पुगिसकेका छन्।

भविष्य अनिश्चित भएपछि हजारौं मानिसले देश छाडिसकेका छन्। देशमै बस्नेहरूले स्वतन्त्रता गुमाइरहेका छन्। रूसमा मास्टरकार्ड र भिसा नचल्ने भएसँगै स्वतन्त्र मिडियाहरू सुन्न, पढ्न र हेर्नका लागि भीपीएन सेवा प्रयोग गर्दै आएका नागरिकहरू त्यसको पैसा समेत तिर्न नसक्ने परिस्थितीमा छन्।

लाग्छ, हामीलाई हाम्रो आफ्नै सरकारले मात्रै होइन, बाँकी विश्वले पनि अपराधीका रूपमा हेरेजस्तो छ। अझैसम्म हामी अपराधी होइनौं। हामीले यो युद्ध शुरू गरेका होइनौं। र, युद्ध गर्ने मानिसलाई हामीले भोट गरेका पनि होइनौं।

समय समयमा हामीले सरकारको नीतिविरूद्ध आफ्नो आवाज पनि उठाएका छौं, यस्तो गर्दा हामीलाई खतरा नै किन नहोस्।

यो सहज थिएन। पछिल्लो एक दशक सार्वजनिक विरोध प्रदर्शन दबाउनका लागि तानाशाही कानुन बन्यो।  स्वतन्त्र प्रेसको अबमुल्यन, इन्टरनेटमाथि सेन्सर, अभिव्यक्ती स्वतन्त्रताको अबमुल्यन गर्ने काम भयो।

स्वतन्त्र पत्रपत्रिकाहरू बन्द गरिए, पत्रकारहरूलाई विदेशी एजेन्टको बिल्ला भिराइयो र मानवअधिकारवादी संगठनहरू बन्द गरियो। हजारौंलाई जेलमा कोचेर कुटियो। प्रभावशाली आलोचकहरूलाई निर्वासित गराइयो वा मारियो।

नाभाल्नी थुनामा छन् र उनी अझै वर्षौसम्म थुनामा रहनसक्छन्। हामीले हाम्रो आन्दोलनको मूल्य चुकायौं। यति हुदाँहुँदै, अब के हुँदै छ भनेर बहस शुरू गर्ने काम पनि हाम्रै हो।

 

युक्रेनमाथिको आक्रमणले रूसको युद्धपछिको युग अन्त्य गराएको छ। दोस्रो विश्वयुद्धयताका ७७ वर्ष, विश्वले देखेको सबैभन्दा ठूलो सैतानको हातबाट मानवताको रक्षा गर्ने जस रूसलाई प्राप्त भएको थियो। यसबारेका फरक दृष्टीकोणहरूले खासै अर्थ राख्दैनन्।

रूस त्यस्तो नायक देश हो, जसले फासिवादलाई परास्त गर्‍यो, भलै त्यस विजयको उपजस्वरूप ४५ वर्षसम्म आधा युरोपमा कम्युनिष्ट शासन लागू भयो।

त्यो बाँकी रहेन। रूस अहिले नयाँ सैतान जन्माउने देश बन्यो र पहिलेभन्दा फरक अहिलेको सैतानले आणविक हतियार भिरेको छ।

यो सैतानी कामको प्रारम्भिक जिम्मा पुटिन र उनको समर्थन गर्नेहरूलाई जान्छ नै । सानो वा ठूलो रूपमा उनको सत्ताको विपक्षमा रहनेको काँधमा पनि जान्छ।

यस्तो किन भयो ? हामीले के गलत गर्‍यौं ? कसरी हामीले फेरि यस्तो हुनबाट रोक्न सक्छौं ? यी हामीले सामना गरिरहेका प्रश्नहरू हुन्।

मस्को, तिबिलिसी, येरेभान, रिगा, इस्तानबुल, तेल अभिभ, न्युयोर्क : चाहे हामी जहाँसुकै हौं वा जेसुकै गरौं। जिम्मेवारी प्रमुख हो।

म हुर्किएको देशमा धेरै राम्रा कुराहरू थिए, जसको अस्तित्व तीन सातायता बन्द छ। र, हामीमा केही कुराको कमी थियो भने त्यो जिम्मेवारी हो।

रूस धेरै व्यक्तिवादी समाज हो। जहाँ इतिहासकार आन्द्रेइ जोरिनकै भनाइमा ”मलाई एक्लै छाड् (लिभ मी एलोन)” माइन्डसेटमा मानिसहरू बाँच्छन्।

हामी आफैंलाई एकअर्काबाट एक्ल्याउन चाहन्छौं, राज्य र विश्वबाट पनि। पक्राउ र जेलको विकृत पृष्ठभूमीमा पनि यस्तो स्वभावले हामीमध्ये धेरैलाई उर्जाशिल र आशावादी जीवन बाँच्ने प्रेरणा दियो।

तर यो प्रक्रियामा हामी एक्लो भयौं र अन्य सबैका इच्छाहरूमा आँखा चिम्लियौं। हामीले अब आफ्ना व्यक्तिगत चिन्तालाई थाँती राख्नुपर्छ र युद्धाबारे हाम्रो साझा जिम्मेवारीलाई स्विकार्नुपर्छ।

यो कदम पहिलो र प्रधान हो र नैतिक आवश्यकता पनि हो। नयाँ रूसी देशतर्फको यात्रामा पनि यो पहिलो कदम हुनसक्छ। एउटा त्यस्तो देश जसले बाँकी विश्वसँग युद्ध, धम्कीबाहेकको भाषामा कुराकानी गर्नसक्छ। त्यस्तो देश जसबाट अरूले तर्सन सिक्ने छैनन्।

यसका लागि सामुहिक प्रयासको खाँचो छ। एउटा स्वतन्त्र वेवसाइट ”मिडियाजोना” जसले आपराधिक गतिविधि र दण्ड प्रणालीबारे समाचार कभर गर्छ, उसको नारा छ, ”यो खराब हुनेछ।”

बिडम्बना मान्नुपर्छ, पछिल्लो दशक यो नारा सही साबित भएको छ।

रूसले युक्रेनमा बम खसालिरहेको यो समय अवस्था अझै खराब हुन्छ भन्नेबाहेकको कल्पना गर्न गाह्रो छ। तर, हामीले गर्नैपर्छ।

( लेखक क्रासिल्शचिक स्वतन्त्र न्युज आउटलेट मेडुजाका पूर्व प्रकाशक हुन्।)
न्युयोर्क टाइम्सबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved