कार्यालयमा ठाउँ नभएर होटलमा प्रेसमिट गरेका मेयरले भने, ‘सम्पन्न महानगर बनायौं’

सार्वजनिक गरेका अधिकांश उपलब्धि पर्खाल निर्माण र रंगरोगन

मनोरेल, सिटी केबलकार, स्मार्ट सिटी जस्ता ठुला सहरी पूर्वाधारहरू विकासको बाचा चुनावी घोषणापत्रबाटै गरेका मेयर शाक्यले पत्रकार सम्मेलनमा भने पर्खाल लगाएकादेखि रंगरोगन गरेका उपलब्धिको फेहरिस्त सार्वजनिक गरे।

नेपालभ्युज

कार्यालयमा ठाउँ नभएर होटलमा प्रेसमिट गरेका मेयरले भने, ‘सम्पन्न महानगर बनायौं’

काठमाडौं। १४ जेठ २०७४ मा काठमाडौं महानगरपालिकामा मेयरको जिम्मेवारी सम्हालेका विद्यासुन्दर शाक्यले शुक्रबार १७ सय ५५ दिन बिताएका छन्। पाँच वर्षअघि निर्वाचित भएलगत्तै सय दिनमा १ सय १ काम गर्ने घोषणा गरेका थिए। उनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै १ सय ४९ काम सार्वजनिक गरे।

महानगरमा पत्रकार सम्मेलन गर्ने ठाउँ नभएपछि कान्तिपथस्थित एक होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। जहाँ मेयर शाक्यले भने, ‘‘मेरो कार्यकालमा समृद्ध महानगर बनाएका छौँ।’’

महानगरसँगका अहिले साधारण कार्यक्रमका लागि सानो हलसमेत छैन। जबकि उनी महानगरबासीलाई समृद्ध तुल्याएको दाबी गर्न छाड्दैनन्। यता महानगरकै कार्यालयनै भाडामा रहेको यथार्थ भूलेर उनी गफ हाँकिरहेका हुन्छन्। काठमाडौं महानगरपालिकासँग ठूला कार्यक्रमको लागि सुसम्पन्न हल नभएको पनि होइन। यसअघि राष्ट्रिय सभागृह हुँदाहुँदै गोकर्ण फरेस्ट रिसोर्टलगायतमा उसले ठूला कार्यक्रम गर्दै आएको छ।

मुलुककै सबैभन्दा ठूलो महानगरका बासिन्दालाई भोटका लागि अनेकौं सपना देखाएका उनले अधिकांश ठूला पूर्वाधार योजना कार्यान्वयनमा लैजान नसकेको त प्रस्टै छ। कार्यकालकै अन्तिमतिर पुगिसक्दा योजना कार्यान्वयनमा असफल साबित भएका महानगरबासीले आलोचना गर्दै आएका छन्।

मनोरेल, सिटी केबलकार, स्मार्ट सिटीजस्ता ठूला शहरी पूर्वाधारहरू विकासको बाचा चुनावी घोषणापत्रबाटै गरेका उनले पत्रकार सम्मेलनमा भने पर्खाल लगाएकादेखि रंगरोगन गरेका उपलब्धिको फेहरिस्त सार्वजनिक गरे। ‘‘काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षण प्रवर्द्धन तथा पुनर्निर्माण नीतिअन्तर्गत मूर्त तथा अमूर्त सम्पदाहरूको संरक्षणमा उल्लेख्य कार्यक्रम सञ्चालन गरी निम्नानुसारका कार्यक्रमहरू सम्पन्न गरिएका छन्’’ शीर्षकमा वितरित प्रेस नोटमा सम्पदा पुनर्निर्माण तथा संरक्षणका १ सय ४९ आयोजनाका विवरण समेटिएका छन्।

१ सय ४९ उपलब्धिका आयोजनामा अधिकांशमा मठमन्दिरमा ससाना पर्खाल लगाइएका विवरण छन्। उनले महत्त्वपूर्ण उपलब्धि भन्दै सार्वजनिक गरेका आयोजनमा कतिपयमा रंगरोगन गरिएका छन्। ११ नम्बर बुँदामा रहेको वडा नम्बर ५ स्थित धनगणेश मन्दिर परिसर संरक्षण शीर्षकमा काम गरिएको भनिएको छ।

तर, त्यो स्थलमा पुग्दा मन्दिरको दक्षिणतर्फ १२-१५ मिटर लामो पर्खाल लगाइएको भेटिन्छ। अलिपर रहेको गोरखनाथ मन्दिर पुनर्निर्माण पनि मेयर शाक्यले उपलब्धिको १५ नम्बरमा समेटेका छन्।

तर, त्यहाँ पुग्दा मन्दिरको पर्खाल मात्रै पुनर्निर्माण गरिएको देखिन्छ। चालु आर्थिक वर्षमै त्यो काम सम्पन्न भएको स्थानीय बताउँछन्। सम्पदाका क्षेत्रमा आफ्नो कार्यकालमा भएको कामबारे विस्तृत विवरण सुनाएका मेयर शाक्यले अन्य क्षेत्रमा भएको कामबारे पनि चाँडै जानकारी दिने बताए।

मेयर शाक्यले कामको फेहरिस्त सुनाइरहँदा ठूला योजना कागजबाट बाहिर निस्कन नकसेका धेरैको गुनासा छन्। एक स्थानीय भन्छन्, ‘‘मेयरले आफ्नो महत्त्वपूर्ण उपलब्धि भन्दै सार्वजनिक गरेका अधिकांश आयोजना यस्तै छन्, ठूला काममा हातै हालेनन्। कामै भएन।’’

पाँच वर्षअघि मेयरको जिम्मेवारी सम्हालेको सय दिनमा १०१ गरिसक्ने भनेर कामहरूको सूची नै शाक्यले सार्वजनिक गरेका थिए। तर, उनको कार्यकाल सकिनै लाग्दा परिवर्तन महसुस गर्ने गरी काम नभएको महानगरवासीको गुनासो छ।

यद्यपि पत्रकार सम्मेलनमा मेयरले भने आफू आफ्नो कामप्रति सन्तुष्ट भएको दाबी गरे। सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद सञ्चारमाध्यममा आएको हेडलाइनजस्तो नभएको जिकिर गरे। पहिले बनाउन नसकिएको मन्दिर र गुठी आफ्नो कार्यकालमा बनेको भन्दै यसले जनताहरू उत्साहित भएको शाक्यले बताए।

उनले भने, ‘‘विवादको विषयमा जे-जे हेडलाइन आए त्यस्तो हैन, कन्टेनमा भने हेडलाइनजस्तो थिएन।’’ आफूले गरेका कामबारे जानकारी दिने भनिएको पत्रकारसममेलनमा योजना सुनाउन छाडेनन्। उनले थपे, ‘‘रानीपोखरी वर्षमा एक दिन हैन, सधैँ खुला हुनुपर्छ भन्ने योजनाअनुसार काम गर्न खोजेको छु।’’

पत्रकार सम्मेलनमा मेयर शाक्य आफूले बाँडेका ठूला सपनाबारे मौन रहे। चुनाव जितेलगत्तै पहिलो घोषणा गरेका ‘क्लिन द सिटी’ अभियानदेखि नदी सरसफाइबारे प्रश्न उठेका थिए।

अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न केबलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडीहरू चलाउने योजनाबारे केही बोलेनन्। राजधानीमा मेट्रो रेल सञ्चालनका लागि आफूले जित्नेबित्तिकै डीपीआर तयार पार्ने र दुई वर्षभित्र मेट्रो रेल निर्माण गरिसक्ने महत्त्वाकांक्षी योजनाबारे सोधिएको प्रश्नमा उनी चुप रहे।

यो पनि पढ्नुहोस्

विद्यासुन्दरको कंक्रिट मोह : विश्वसम्पदा सूचीबाट हट्ने जोखिममा काठमाडौं उपत्यका


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved