काठमाडौं । रोहित कुमार पौडेल र आरिफ शेखले कीर्तिमानी शतकीय साझेदारी गरेपछि नेपालले पीएनजीसँगको एकदिवसीय म्याचमा दुई विकेटको कठीन जित हात पारेको छ।
यूएईमा जारी त्रिकोणात्मको सिरिजको आफ्नो पहिलो खेलमा नेपाललाई पीएनजीले २०५ रनको सहज लक्ष्य दिएको थियो। तर शुरुआतमा खराब ब्याटिङ गर्दा नेपालले सजिलो खेललाई गाह्रो बनायो।
नेपालका ओपनर कुशल भुर्तेल १, ज्ञानेन्द्र मल्ल ४, दीपेन्द्रसिंह ऐरी ८ र आशिफ शेख १६ रनमा आउट भएका थिए। १५ ओभरमा मात्र ४२ रन जोड्ने क्रममा नेपालले शुरुआती ४ विकेट गुमाइसकेको थियो। त्यसपछि रोहित र आरिफले पाँचौं विकेटका लागि १०२ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जितको आशा दिलाएका थिए।
एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा कुनै पनि विकेटका लागि यो हालसम्मकै ठूलो सहकार्य हो। रोहितले ५८ र आशिफले ५३ रनको योगदान दिए। यसपछि अन्त्यमा विष्फोटक ब्याटिङ गर्दै करन केसीले २५ बलमा २ छक्काको मद्दतमा २९ रन जोड्दै नेपाललाई चार बल खेल्नुअघि जित दिलाए।
आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको यो त्रिकोणात्मक सिरिजको अर्को खेलमा नेपालले शुक्रबार आयोजक यूएईको सामना गर्नेछ। यो जितसँगै लिगमा नेपाल ९ खेलबाट १० अंकसहित छैटौं स्थानमा कायमै छ। अन्तिम स्थानमा रहेको पीएनजीको यो लगातार चौधौं हार हो।
Facebook Comment
Comment