इतिहासमा आज

जब अमेरिकी सेनाले भियतनामको सिंगो गाउँ चिहान बनायो

नेपालभ्युज

जब अमेरिकी सेनाले भियतनामको सिंगो गाउँ चिहान बनायो

१६ मार्च १९६८: भियतनाम युद्धका दौरान निहत्था सर्वसाधारणमाथि गरिएको भयानक हमलामध्ये एक थियो, माई लाई हत्याकाण्ड। यस दिन अमेरिकी सेनाको एउटा टुकुडीले माई लाई गाउँमा महिला, बाललिका, असक्तलगायत निर्दोष सर्वसाधारणको हत्या गरेको थियो।

यस हत्याकाण्डमा ५ सयभन्दा धेरैजना मारिए। महिला र युवतीहरु मारिनुअघि पटक–पटक बलात्कारको शिकार भएका थिए। घटनालाई ढाकछेप गर्ने अमेरिकी सेनाको कोसिस एक वर्षसम्म सफल भएपनि अन्ततः अमेरिकी सञ्चारमाध्यममा यो समाचार आएरै छाड्यो।

त्यसपछि भियमनाम युद्धमा अमेरिकाको भूमिकालाई लिएर विश्वभर आलोचना भयो। यसले अमेरिकामा युद्धविरोधी भावनालाई मलजल गर्ने र भियतनाम युद्धलाई हेर्ने दृष्टीकोण बदल्ने काम पनि गर्‍यो।

चार्ली कम्पनी

माई लाई क्वाङ नगाई प्रान्तस्थित एक सानो गाउँ हो। यो प्रान्त भियतनाम युद्धताका कम्युनिष्ट नेशनल लिबरेशन फ्रन्ट (एनएलएफ) वा भियत कङ (भीसी) को आधार इलाका मानिन्थ्यों।

यहीकारण क्वाङ नगाईमा अमेरिका र दक्षिण भियतनामीहरूले लगातार आक्रमण गर्ने गरेका थिए।

मार्च १९६८ मा अमेरिकल डिभिजन ११ औं इन्फ्यान्ट्री ब्रिगेडअन्तर्गतको चार्ली कम्पनीमा खबर आयो : भियत कङका लडाकूहरूले सन माई गाउँको छिमेकमा रहेको गाउँ कब्जा गरेका छन्।

१६ मार्चमा सर्च एन्ड डिस्ट्रोय मिशनमा चार्ली कम्पनीलाई पठाइयो।

यतिबेला मैदानमा रहेका अमेरिकी सैनिकहरूको मनोबल गिर्दाे थियो, विशेषगरी उत्तरी भियतनामीले १९६८ जनवरीमा शुरू गरेको टेट आक्रमणले अमेरिकीहरू निराश थिए।

चार्ली कम्पनीले आफ्ना २८ जना सदस्यहरू युद्धमा गुमाइसकेको थियो, यतिबेला यो डिभिजनमा केवल १ सयको हाराहारीमात्रै सैनिक थिए।

विलियम केल्ली

चार्ली कम्पनीका सैनिकहरूलाई सैनिक कमाण्डरको उर्दी थियो, सन माई इलाकामा भेटिएका सबै जनतालाई उनीहरूले भियत कङ वा त्यसका सक्रिय समर्थकका रूपमा लिँदा हुन्छ, सिंगो गाउँ नै ध्वस्त गरिदिँदा हुन्छ।

बिहान शुरू भएको केहीबेरमा सैनिकहरू गाउँ छिरे। यस टुकुडीको नेतृत्व लेफ्टिनेन्ट विलियम केलीले गरेका थिए। तर, त्यहाँ विद्रोही थिएनन्। बरू महिला, बालबालिका र जेष्ठ नगारिकहरू बिहानको खाना पकाइरहेका थिए।

सैनिकहरूले आफ्ना छाप्रा घेर्न थालेपछि गाउँलेहरू समूहमा घेरा हालेर बसेका थिए। यस भीडमा थोरैमात्र हतियार भेटिएको थियो। केल्लीले आफ्ना जवानहरूलाई गोली हान्न आदेश दिइहाले।

अनि शुरू भयो हत्याकाण्ड

केही सैनिकहरूले गोली चलाउन मन गरेनन्। तर, हत्या शुरू भएको केही सेकेन्डमै केल्लीले धेरै महिला, बालबालिाक र जेष्ठ नागरिकलाई गोली हानेर मारे।

बच्चालाई जोगाउन खोज्ने महिला मारिए। आमा मारिएपछि भाग्न खोज्दा पनि बच्चालाई सैनिकले छाडेनन्, उनीहरूको पनि हत्या गरियो। छाप्रोहरूमा आगो लाग्यो।

” बाँचेका मानिसहरूमाथि एम ७९ (ग्रिनेड लन्चर) प्रहार गरिएको मैले प्रत्यक्ष देखें। सैनिकहरूले महिला र बालबालिकाहरूमाथि पनि गोली चलाए,” यस घटनालाई देखेका सैनिक सर्जेन्ट माइकल बर्नहाड्र्टले केही समयअघि रिपोर्टहरूसँग भनेका थिए,”कसैले प्रतिरोध गरेन। हामीले केवल तीनवटा हतियार देखेका थियौं। हाम्रोतर्फ कोही मरेन। यो अन्य भियतनामी गाउँजस्तै थियो जहाँ सर्वसाधारण, महिला र बालबच्चा बस्दथे। मैले यसरी गोली चलिरहेका बेला त्यहाँ कुनै पनि त्यस्तो पूरुष देखेको संझना छैन, जो सैनिकमा भर्ती हुने उमेरको होस्।”

युवती र महिलाहरूलाई मार्नुअघि सैनिकले यहाँ उनीहरूको बलात्कार पनि गरेका थिए। अन्त्यमा उनीहरूले सिंगो गाउँ जलाइदिए।

हग थम्पसन
छानविनका लागि वारेन्ट अफिसर हग थम्पसन नेतृत्वको सैनिक हेलिकप्टर आएपछि मात्रै माई लाई हत्याकाण्ड रोकियो। हग थोम्पसनले आफू चढेको हेलिकप्टरलाई सैनिक र गाउँलेहरू आमने–सामने भइरहेको ठाउँमा रोकेका थिए। उनले थप आक्रमण गर्ने सैनिकमाथि गोली चलाइदिने धम्की दिए।

”हामीलाई वरपर ठूलो संख्यामा शवहरू छरिएका छन् भने बुझ्न गाह्रो परेन। जहाँ हेर्‍यो, त्यही शव थियो। उनीहरू टुहुरा, दुई–तीन, चार, पाँच वर्षका बालबालिका, महिला, वृद्धवृद्धा थिए। सेनामा भर्ती हुने उमेरको कोही थिएन,” १९९४ मा टुलाने विश्वविद्यालयमा भएको माई लाई कन्फ्रेन्समा थोम्पसनले भनेका थिए।

थोम्पसन र उनको उद्धार टोलीले बाँचेका धेरै मानिसहरूलाई उपचारको व्यवस्था मिलाइदिनका लागि भेट्यो। १९९८ मा थम्पसन र उनको टोलीका अन्य दुई सदस्यलाई ‘सोल्डर मेडल’ दिइयो। युद्धमा शत्रुसँग नलडी बहादूरी प्रदर्शन गर्ने सैनिकहरूलाई अमेरिकामा दिइने यो उच्च सम्मान हो।

घटना लुकाइयो

माई लाई हत्याकाण्ड सकिदाँसम्म ५०४ जना मानिस मारिएका थिए। त्यसमध्ये १८२ जना महिला र १७३ जना बालबालिका थिए। यसमध्ये ५६ जना टुहुरा थिए।

हत्याकाण्डको समाचारले हंगामा सिर्जना हुनसक्ने बुझेरै चार्ली कम्पनी र ११ औं बिग्रेडका उच्च सैनिक अधिकारीहरूले यस घटना थामथुम पार्न खोजे।

तर, ११ औं बिग्रडेकै सैनिक (जो यस हत्याकाण्डमा संलग्न थिएनन) रोन रिडेन हावर यस घटनालाई सार्वजनिक गर्नुपर्ने पक्षमा लागे। उनले यस दर्दनाक घटनाबारे राष्ट्रपति रिचर्ड निक्सन र अमेरिकाको रक्षा मन्त्रालयमा पत्र लेखे । तर कुनै जवाफ आएन । त्यसपछि उनले खोज पत्रकार सिमोउर हिर्सलाई भेटेर अन्तर्वार्ता दिए।

१९६९ नोभेम्बरमा यो अन्तर्वार्ता सार्वजनिक भयो।

को जिम्मेवार थियो ?

रिडेनहावरको खुलासासँगै भियतनाम युद्धको विरोधमा ठूलो प्रदर्शन हुन थाल्यो, अन्तर्राष्ट्रिय दबाब बढेपछि अमेरिकी सेनाले माई लाई हत्याकाण्डबारे छानविन गर्न विशेष समिति बनायो।

लेफ्टिनेन्ट जनरल विलियम पियर्सको नेतृत्वमा रहेको छानविन समितिले १९७० मार्चमा आफ्नो रिपोर्ट सार्वजनिक ग¥यो। यस रिपोर्टमा २८ जनाभन्दा बढी सैनिक हत्याकाण्डमा संलग्न रहेको उल्लेख थियो। १७ नोभेम्बर १९७० मा माई लाई सुनुवाई शुरू भयो ।

सुनुवाई सकिँदासम्म सेनाले १४ जनालाई मात्रै आरोपित गर्‍‍यो। केल्ली, क्याप्टेन इर्नेस्ट मेदिना र कोलोनेल ओरन हेन्डरसन पनि आरोपित थिए।

केल्लीबाहेक बाँकी सबैलाई सफाई दिइयो। केल्लीमाथि गोली हान्ने आदेश दिएको र योजनाबद्ध रूमा हत्या गरेको भन्दै कारबाही अघि बढाइयो। यद्यपी, उनले आफ्ना कमाण्डिङ अफिसर क्याप्टेन मेदिनाको निर्देशनमा आफूले यस्तो गरेको दाबी गरेका थिए।
मार्च १९७१ मा केल्लीलाई अजीवन काराबासको सजाय दिइयो । तर, धेरैले केल्लीलाई मात्रै बलीको बोको बनाइएको ठाने, र उनको अपिलपछि सजायलाई पहिले २० वर्ष, त्यसपछि १० वर्षमा झारियो। १९७४ मा उनलाई धरौटीमा रिहा गरियो।

त्यसपछिका घटनाहरूले माई लाईमा भएको घटना एकमात्रै नरहेको देखायो। माई खीसहित अन्य धेरै गाउँहरूमा पनि अमेरिकी सेनाले यस्तै दमन गरेको खुलासा भयो। यी घटनाले भने कम चर्चा पाएका थिए।

स्पिडी एक्सप्रेस नामको बर्बरतापूर्ण अपरेशनले मिकोङ डेल्टामा हजारौं भियतनामी सर्वसाधारणलाई मार्‍यो। यस मिशनका कमाण्डर जनरल जुनियन इवेललाई ‘‘डेल्टाको कसाई’ नै नाम दिइएको थियो।

माई लाईको प्रभाव

१९७० को दशकसम्म भियतनाममा अमेरिकाको उपस्थिती कमजोर हुँदै गएको थियो। भियतनाममै बसेका अमेरिकी सेना निराशाका कारण ड्रग्सको दुव्यर्सनमा फसिकेका थिए।

१९७१ को एक अनौपचारिक रिपोर्टअनुसार झन्डै एक तिहाई अमेरिकी सैनिक लागुऔषधको दुव्यर्सनमा फसिसकेका थिए। माई लाई हत्याकाण्डको खुलासाले सैनिकहरूको मनोबल थप गरियो। अमेरिकाभित्रै पनि माई लाई हत्याकाण्डको ठूलै विरोध भयो।

अमेरिकी सेनाको फिर्ती

अन्ततः अमेरिकाले १९७३ मा सेना फिर्ता गर्ने निर्णय गर्‍यो।१९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केन्नडीले पहिलोपटक अमेरिकी सेनाको ठूलो जत्था भियतनाम पठाएका थिए।

हुनतः भियतनाम युद्ध १ नोभेम्बर १९५५ बाटै शुरू भएको थियो, तर उत्तरी भियतनाम (कम्युनिष्ट सत्ता) विरुद्धको युद्धमा दक्षिणी भियतनामको सत्ता कमजोर र निष्प्रभावी देखिएपछि सघाउनका लागि अमेरिकी सेना पठाइएको थियो।

१९६५ मा उत्तरी भियतनामले अमेरिकी सैनिकमाथि आक्रमण गरेपछि यहाँ सेनाको संख्या बढाएर ३ लाखको हाराहारीमा पुर्‍याइयो।

१९६९ सम्म आइपुग्दा यो संख्या ५ लाख ५० हजार नाघिसकेको थियो। अमेरिकी विमानहरूले भियतनामका धेरै शहरमा बम पड्काए।

तर युद्ध रोकिने वा अमेरिकाले जित्ने छाँट देखिएन। यसपछि बाध्य भएर अमेरिका पछि हट्यो। अमेरिकी सेना, उत्तर तथा दक्षिण भियतनामका प्रतिनिधि तथा भियत कङले पेरिसमा १९७३ जनवरीमा शान्ति सम्झौतामा हस्ताक्षर गरे।

यस सम्झौताका मुख्य बुदाँमध्ये भियतनाममा युद्धविराम, अमेरिकी सेनाको बहिर्गमन, युद्ध बन्दीहरुको रिहाई र शान्तिपूर्ण रुपमा उत्तर र दक्षिण भियतनामको पुन एकता थियो।

नयाँ निर्वाचन नभएसम्म दक्षिण भियतनामी सरकार कायमै रहने र दक्षिणमा रहेका उत्तरी भियतनामी दस्तालाई थप बढाउन नपाइने सम्झौतामा उल्लेख थियो।

सम्झौतापछि अमेरिकाले धमाधम आफ्ना सैनिक निकाल्न थाल्यो। त्यसैकारण यस युद्धबाट निस्किनका लागि अमेरिकी सैनिकलाई मार्गप्रशस्त गर्न यो सम्झौताको नाटक रचिएको आरोप पनि लाग्ने गर्छ। किनकी, अमेरिकी सेनाको बहिर्गमनबाहेक सम्झौताका अन्य कुनै बुँदा पालना भएन।

उत्तरी भियतनामले सम्झौताविपरीत युद्ध विराम उल्ल‌ंघन गरेर दक्षिण भियतनामलाई लगातार आक्रमण गरिरहेको थियो । सन् १९७४ को अन्त्यमा दक्षिणी भियतनामका अधिकारीले एकै वर्ष युद्धका क्रममा आफ्ना ८० हजार सैनिक तथा सर्वसाधारण मारिएको जानकारी दिए। भियतनाम युद्धमा यो सबैभन्दा खराब वर्ष थियो ।

३० अप्रिल १९७५ मा बाँकी रहेका केही अमेरिकीहरुलाई दक्षिणी भियतनामबाट उद्धार गरिएको थियो किनकी यतिबेला साइगन कम्युनिष्टको कब्जामा पुगिकेको थियो। ३१ अप्रिलमा दक्षिण भियतनामले आत्मसमर्पण गरेसँगै यो युद्ध टुंगियो। भियतनाम युद्धका दौरान मारिने अमेरिकी सैनिकको संख्यामात्रै ५८ हजारभन्दा धेरै थियो। त्यस्तै २० लाख भियतनामी सैनिक र सर्वसाधारण मारिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved