एमसीसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ : प्रधानमन्त्री देउवा

कार्यान्वयमा केही आशङ्का देखाइएको छ भन्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर नेपालको कानूनअनुसार सञ्चालन हुने हुँदा अफवाह फैलाउनेको पछि नलाग्न आग्रह गरे।

नेपालभ्युज

एमसीसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ : प्रधानमन्त्री देउवा
फाइल तस्वीर

त्रिशूली। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसीसी राष्ट्रको हितमा भएको बताएका छन्।

नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता नेकपा (एमाले) नेतृत्वको सरकारले संसद्बाट पारित गर्न पेस गरेकाले अहिले त्यसैलाई अघि बढाएको बताए।

सरकारमा हुँदा एमसीसी चाहिन्छ भनेर संसद्बाट पास गर्नुपर्छ भनेर लाग्नेहरु अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेर दोहोरो चरित्र नदेखाउन प्रधानमन्त्री देउवाले आग्रह गरे।

उनले एमसीसी नेपालको विकासका लागि निःशुल्क प्राप्त भएको अनुदान भएकाले ऋण जति पनि लिनुपर्ने, यस (एमसिसी)को त ब्याजसमेत तिर्नु नपर्ने भएकाले यो राष्ट्रको हितमा छ, अहित केही पनि गर्दैन भने।

कार्यान्वयमा केही आशङ्का देखाइएको छ भन्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर नेपालको कानूनअनुसार सञ्चालन हुने हुँदा अफवाह फैलाउनेको पछि नलाग्न आग्रह गरे।

“एमसीसी कार्यक्रमअन्तर्गत निर्माण गरिने प्रसारण लाइनबाट बम आउँछ भन्नेदेखि पशुपतिमा समेत अमेरिकी सेना भित्रिन्छ भनेर भ्रम छरेर केही हुन्न,” प्रधानमन्त्री देउवाले भने, “देशको विकासका लागि यसले फाइदा पुग्छ, रोजगारी सिर्जना हुन्छ, प्रतिस्पर्धामा यहीँका निर्माण व्यवसायीले नै बनाउने जिम्मा लिन पाउँछन् ।”

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन नजिक आइसकेकाले त्यसलाई भयरहित वातावरणमा निष्पक्षरूपमा गराउन सरकार प्रतिबद्ध रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved