जनकपुरधाम । कम योग्यता भएको व्यक्तिलाई वैद्य पदमा करारमा नियुक्ति गरिएको भन्दै मधेश प्रदेश सरकार बिरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा परेको छ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु प्रदेश तहको कार्यक्रम अन्तर्गत जनकपुर आयुर्वेद औषधालयले वैद्य पदका लागि विज्ञापन प्रकाशित गरिएको थियो।
सोही विज्ञापनको आधारमा कम योग्यता भएका व्यक्तिलाई करारमा राखिएको भन्दै मधेश प्रदेश सरकारलाई विपक्षी बनाएर उत्प्रेष परमादेश जारी गरि पाउँ भनी मुद्दा दर्ता गराइएको छ।
निवेदक पुरनमल्ल ठाकुरले मधेश प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, जनकपुर आयुर्वेद औषधालय लगायत ६ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गराएका हुन्। बिएमएमएस अध्ययन गरेकाहरुलाई किनारा लगाएर पैसाको चलखेल गरेर कम योग्यता भएका आवेदकलाई करारमा नियुक्त गरिएकोले मुद्दा दर्ता गराउनु परेको निवेदक ठाकुरले बताए।
उनले मुद्दामाथिको सुनवाई नभएसम्म विपक्षीहरुलाई काम नगर्नु नगराउन भनी समेत मुद्दामा माग गरिएको बताए। मुद्दाको सुनवाई सोमबार फागुन ३० गते हुने भएको छ।