प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव छलफलमा एमालेलाई ल्याउँछौंः मन्त्री बडू

नेपालभ्युज

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव छलफलमा एमालेलाई ल्याउँछौंः मन्त्री बडू
फाइल तस्वीर।

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्दप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा एमालेको पनि सहभागिता हुने विश्वास व्यक्त गरेका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री बडूले महाअभियोग लगायत संसदमा रहेका अन्य विधेयकको सम्बन्धमा पनि एमालेसँग छलफल गरिरहेको बताए। “मुलुकको स्वतन्त्र न्यायपालिकालाई सुदृढ गर्ने, शुद्धीकरण गर्ने र मर्यादित बनाउने यस्तो विषयमा मलाई लाग्छ सबैको सहभागिता हुन्छ। सबैले छलफलमा भाग लिन्छन्। सबैले निर्णय प्रक्रियामा भाग लिन्छन्। अरू विधेयकबारे पनि हामी प्रमुख प्रतिपक्षसँग छलफल गरिरहेका छौँ। नागरिकता विधेयक छ। संघीय निजामती सेवा ऐनको विधेयक छ। तेजाबसम्बन्धी विधेयक छ। तिनीहरूलाई पनि हामी प्रतिस्थापन विधेयक ल्याउने संसदमा हामी छलफल गरिरहेका छौँ।”

तर नेकपा(एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोगको प्रस्तावको छलफलमा भाग लिने बताए। संसद् अवरोधको सम्बन्धमा भने पार्टी छलफलमै रहेको उनले बताए।

नेम्बाङले भने,”हामीले समितिमा हाम्रा साथीहरूको नाम पनि दिएका छौँ। समितिले पूर्णता पाएको छ। अब महाअभियोग सम्बन्धी विषय संसदबाट निर्णय भएर सायद चैत्र २ गते समितिमा पुग्ला र समितिले काम सुरु गर्ला। समितिमा नाम दिएपछि समितिको काममा त भाग लिने कुरामा त विवाद भएन नि। समितिको काम गर्नका लागि अवरोध खुलाउनु पर्दैन। जहाँसम्म हाम्रो अवरोधको कुरा हो अवरोधको सन्दर्भमा पनि हामी निरन्तर छलफल गरिरहेका छौँ। र यस बारेमा पनि हामी टुंगोमा पुग्छौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved