प्रदेश खेलकुद प्रतियोगिता शुरू, आइतबार पुरुष फुटबल हुने

नेपालभ्युज

प्रदेश खेलकुद प्रतियोगिता शुरू, आइतबार पुरुष फुटबल हुने

मकवानपुर। प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रथम खेलकुद प्रतियोगिता आज शुरु भएको छ।प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतियोगिताको उद्घाटन गरे।

मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन्।

हेटौँडाको क्याम्पाचौरमा भएको उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्डसहितको प्रस्तुति, विद्यार्थीहरूद्वारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न तामाङ, नेवाः, थारू समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो।

बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालको अध्यक्षता तथा मुख्यमन्त्री पाण्डेको प्रमुख अतिथ्यता रहनुका साथै प्रतिनिधिसभा सदस्य तथा नेपाल ओलम्पिक समितिका अध्यक्ष जीवनराम श्रेष्ठ र प्रदेश सभामुख सानुकुमार श्रेष्ठको विशिष्ट अतिथ्यता रहेको थियो।

उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख तथा स्थानीयवासीको उपस्थिति थियो।

हेटौँडामा मिनी रङ्गशाला निर्माणमा योगदान गरेको भनी पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो। साथै, राष्ट्रियस्तरका कलाकार र हेटौँडाका कलाकारले आफ्नो गायन तथा नृत्य प्रदर्शन गरेका थिए।

प्रतियोगिताअन्तर्गत मकवानपुरमा आइतबार पुरुषतर्फको फुटबल हुनेछ।पहिलो खेल समूह (ख) का चितवन र ललितपुरबीच हुने परिषद्ले जनाएको छ।खेल नकआउट चरणमा हुनेछ। प्रतियोगितामा आठवटा खेल हुने छन्।

मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, व्याडमिन्टन र चैत ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ। त्यस्तै चितवनमा फागुन ३० गतेदेखि भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले बताए।

त्यस्तै सिन्धुपाल्चोकमा चैत ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौँमा चैत ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषद्ले जनाएको छ।त्यस्तै काभ्रेमा भने चैत ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल प्रतियोगिता हुने सदस्यसचिव भण्डारीले बताए।

प्रतियोगिताका लागि रु आठ करोड चार लाख खर्च हुने अनुमान गरेको छ। विभिन्न खेलमा करिब दुई हजारभन्दा बढी खेलाडीले सहभागिता जनाउनेछन्। खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved