भक्तपुर । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युक्रेनबाट पाठ सिकेर सबै छिमेकीसँग नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्ने बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) भक्तपुर नगर समितिले आज आयोजना गरेको भेलामा उनले विश्वमा समाजवादी शक्ति पहिलेभन्दा अघि बढ्न सक्ने परिस्थिति बन्दै गएको बताए।
नेता खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको आरोप लगाए। ”कम्युनिष्ट आन्दोलनप्रति, पार्टीप्रति एकपछि अर्को प्रहार गर्न थालेपछि नेपालको कम्युनिष्ट आन्दोलनमा बडो दुर्भाग्यपूर्ण स्थिति सिर्जना भयो, शक्तिशाली संसद् दुई–दुईपटक विघटन भयो र कम्युनिष्ट आन्दोलनलाई धोखा दिन थालेको सिलसिलामा नयाँ कम्युनिष्ट पार्टी नेकपा (एकीकृत समाजवादी)को जन्म भएको हो,” उनले भने।
उनले राष्ट्रिय परिस्थितिमा रहेको प्रतिकूलतालाई बदलेर जानुपर्ने र त्यसका लागि शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६१ युवा नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए।