रूसी आक्रमणको १७ औं दिन

रूसले किभ घेर्‍यो, प्रत्याक्रमणका लागि युक्रेन तयार

दुई सातादेखि किभबाहिर बसेको ६४ किलोमिटर लामो रूसी बख्तरबन्द गाडीको लाइन छरिएर हमला गर्नेगरी किभतर्फ

नेपालभ्युज

रूसले किभ घेर्‍यो, प्रत्याक्रमणका लागि युक्रेन तयार
फाइल तस्वीर ।

एजेन्सी । युक्रेनको राजधानी किभका जनता र सैन्य दस्ताहरू यतिबेला रूसी सेनाको आक्रमण सामना गर्नका लागि तयारी अवस्थामा बसेका छन्।

चारैतिरबाट किभलाई घेरा हालेको रूसी सेना यो शहरको केही किलोमिटरमात्रै पर छ।

शनिबार बिस्फोटको आवाज र हवाई चेतावनीपछि धेरै सर्वसाधारण सुरक्षित स्थलको खोजीमा भौतारिएका थिए। किभ आसपासका धेरै क्षेत्रमा युद्ध चलिरहेको छ।

रूसी सेनाको रकेट आक्रमणमा चार दिनअघि आफ्ना भाइ मारिएपछि युरी मलिनिस्कीई निकै तनावमा छन्। उनका भाइ कुनै समय एयर फोर्सका पूर्व अधिकारी थिए। जागिर छाडेर नेदरल्यान्डमा ट्रक ड्राइभरको काम गरिरहेका उनी युद्ध सुरु भएपछि फेरि फर्किएर मोर्चामा खटिएका थिए।

”मैले कपडामार्फत मेरो भाइको पहिचान गरेँ, उनको पहिचान गर्ने अर्को उपाय थिए,” मालिनस्काइले भने,”यहाँ त्यस्ता व्यक्तिहरू पनि छन्। जसले कहिल्यै युद्ध लडेका थिएनन्। कहिल्यै बन्दूक पड्काएका थिएनन्। उनीहरूले राइफलको आवाज समेत सुनाएका थिएनन्, तर अहिले हामी सबै तयार छौं। मेरो आत्मविश्वास कहिल्यै यतिमाथि थिएन र युद्धका लागि यति तयार म कहिल्यै थिइँन।”

बिहीबार अमेरिकास्थित एक कम्पनीले सार्वजनिक गरेको सेटेलाइट तस्वीरअनुसार दुई साताअघिदेखि किभबाहिर ६४ किलोमिटर लामो लाइनमा बसेका अत्याधुनिक हतियारसहितका रूसी बख्तरबन्द गाडी अहिले संभावित आक्रमणका लागि चारैतर्फ छरिएका छन्।

अहिले यो लाइन १५ किलोमिटर टाढा छ र किभतर्फ लम्कदैंछ।

किभमा दुई साताअघिसम्म कार्यालयको काम गर्ने मानिसहरू अहिले बन्दूक भिरेर युद्धका लागि तयार बसेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मुख्य निशानामा किभ यसअघि नै थियो। आसपासका क्षेत्रहरू कब्जा गरेपछि अब रूसी सेना राजधानीतर्फ अघि बढेको हो।

अल्योना किमलाच वृद्धवृद्धा र बिरामीको सहयोगमा जुटेकी छिन्, उनी घर छाड्न नसक्नेहरूलाई खाद्यान्नको जोहो गरिदिन्छन्। उनले ९५ वर्षकी अल्ला साभिक्नालाई तरकारी ल्याइदिएकी छिन्, साभिक्नाले यस्ता धेरै युद्धहरू आफ्नो जीवनमा देखेकी छिन्।

‘‘यो उमेरमा किभ छाड्नुको अर्थ के ? तपाई देख्नुहुन्छ म कसरी हिंड्छु। मेरो दुईपटक शल्यक्रिय भइसकेको छ,कम्म भाँचिएको छ,’ साभिक्नाले भनिन्,‘म सडकमा नगएको १० वर्ष भयो, आफ्नै बेडमा मर्न चाहन्छु।’

सहयोगमा खटिएकी किमलाचले आफ्नी ८ वर्षकी छोरीसँग लामो अनिश्चित यात्रा गर्ने निर्णय लिन नसकेको बताइन्। तर, निरन्तरको आक्रमण र खतराको घण्टीले अति तनाव दिएको उनले बताइन्। युक्रेनी सेनाले आक्रमणलाई झेल्ने उनको एउटै आशा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved