…अनि लिङ्देनको भाषण सुन्न कालिकोटबाट आए ७० वर्षीय रजलाल

अहिले नेताहरू कसले कसलाई सिध्याउने भनेर लागिरहेकोमा राजतन्त्र हुँदा विकास भएको जिकिर उनको छ।

…अनि लिङ्देनको भाषण सुन्न कालिकोटबाट आए ७० वर्षीय रजलाल

नाम: रजलाल भण्डारी,

घर : कालिकोट,

उमेर: ७० वर्ष,

खुट्टामा पुरानो चप्पल, आङमा कालो पुरानो कोट, शीरमा नेपाली ढाँका टोपी अनि ओठमा बिँडी च्यापेर धुवाँ उडाइरहेका उनी शनिबार बिहानै वीरेन्द्रनगरको रारा होटलमा भेटिए। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको भाषण सुन्न कालिकोटबाट सुर्खेत झरेका रहेछन्।

राजतन्त्र अन्त्य भएर नेपाल संघीय गणतान्त्रिक मुलुक बनेको छ, तर देशलाई राजासँग जोडेर हेर्ने एक ठूलो जमात देशमा छ। रजलाललाई पनि राजतन्त्र फर्किओस् भन्ने चाहना छ। त्यसैले उनी राजतन्त्रको एजेण्डा बोकेर हिँडेको राप्रपाका अध्यक्ष आउने खबर पाएपछि कालिकोटको पलाँता गाउँपालिका-१ पुलाहा गाउँबाट सुर्खेत झरेका थिए। कालिकोटबाट सुर्खेत आउनुको कारण उनले बताए, ‘‘म राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देलको भाषण सुन्न आएको हुँ।’’

उनी चाहन्छन् देशमा राजतन्त्र फर्किओस्। राजतन्त्र फर्काउने एजेण्डा बोकेको राप्रपासँग उनको ठूलो अपेक्षा छ। फेरि राजा ल्याउन सम्भव छ त भन्ने हाम्रो प्रश्नमा आशामिश्रित स्वरमा उनले प्रश्न गरे, ‘‘तिमी जस्ता युवाहरू नलागे राप्रपा कसरी अघि बढ्छ?” एकछिन रोकिएर उनले भने, ‘‘
तिमी युवाहरू लागे राजतन्त्र र राजाको भविष्य छ। तिमहरू बरालिन्छौ मात्रै देशको चिन्ता छैन्।’’

उनी सत्तामा पुग्नका लागि विभिन्न दलहरूले हिँसाको बाटो अपनाएको आरोप लगाउँछन्। राजाहरू पनि हत्याकण्डमा मुछिएका थिए नि भन्ने हाम्रो जिज्ञासामा उनी भन्छन्, ‘‘राजाले देश बनाउनका लागि गरेका थिए।”

२००७ साल प्रजातन्त्र ल्याउनका लागि कांग्रेस बन्दुक उठाएर हत्याहिंसामा लागेकोमा त्यसपछि हालसम्म सबै नेताहरूले जनता मार्ने काम गरेको आक्रोश उनी पोख्छन्। ‘‘अहिले सत्ता समालिरहेका कांग्रेस, एमाले, माओवादी वा अन्य कुन दलले हत्या गरेका छैनन्? सबै उही हुन्।’’ अहिले नेताहरू कसले कसलाई सिध्याउने भनेर लागिरहेकोमा राजतन्त्र हुँदा विकास भएको जिकिर उनको छ।

अहिले सबै नेताहरू विदेशी दलाल भएको आरोप उनी लगाउँछन्। तत्कालीन भारतीय प्रधानमन्त्री ईन्दिरा गान्धीले चिसापानी बहुउद्देश्य परियोजना सम्झौता गर्न चाहेको बताउँदै उनले राजा महेन्द्रको देशभक्ति चरित्रका कारण उक्त सम्झौता नभएको बताउँछन्।

महाकाली सन्धी राष्ट्रहितविपरीत भएको बताउँदै उनले अहिले भएको एमसीसी सम्झौता पनि घातक हुने जिकिर गरे।

अन्तिममा उनले राप्रपा अध्यक्ष लिङ्देन आएकाले उनैलाई भेट्न भनी कालिकोटदेखि सुर्खेत आएको बताए। ‘‘मैले राप्रपाका अध्यक्ष लिङदेललाई भेट्नु पर्नेछ। उनलाई पनि केही सुझाव दिनुछ,” यति भनेर उनी राप्रपाको कार्यक्रमस्थल सोध्दै भित्र छिरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved