नगरव्यापी पछिमा बाजा प्रतियोगितामा नास हैमा बाजा खलः उत्कृष्ट

नेपाल भ्युज

नगरव्यापी पछिमा बाजा प्रतियोगितामा नास हैमा बाजा खलः उत्कृष्ट

भक्तपुर। भक्तपुर नगरव्यापी पछिमा बाजा प्रतियोगितामा नास हैमा बाजा खलः उत्कृष्ट भएको छ। भक्तपुर नगरपालिकाले दरबार स्क्वायरमा आयोजना गरेको प्रतियोगितामा ३३ वटा बाजा खलःलाई पछि पार्दै नास हैमा बाजा खलः उत्कृष्ट भएको हो।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले शुक्रबार उत्कृष्ट भएको बाजा खलःलाई २० हजार रूपैयाँसहित १–१ थान पछिमा, सिछ्या, तँ, चार थान बाँसुरी हस्तान्तरण गरेका थिए।

प्रतियोगितामा खिछेँ दाफा भजन खलः दोस्रो भएको छ भने तचपाल मको गल्ली बाजा समूह तेस्रो र सिद्धिगणेश बांसुरी बाजा समूह र श्री चोछें छुमा गणेश बांसुरी बाजा खलः सान्त्वना भएको थियो।

दोस्रो भएको बाजा खलःलाई १५ हजार रूपैयाँहित १–१ थान पछिमा, सिछ्या, तँ प्रदान गरिएको थियो भने तेस्रो हुने बाजा खलःलाई १० हजार रूपैयाँ सहित १–१ थान पछिमा, सिछ्या दिइएको छ।

त्यस्तै सान्त्वना हुने बाजा खलःलाई ५ हजार रूपैयाँसहित १ थान पछिमा दिइयो। प्रतियोगितामा सहभागी टोलीहरूलाई १ थान पछिमा र २५ सय रूपैयाँ प्रदान गरिएको थियो।

प्रतियोगिताको निर्णायकमा शंखबहादुर दुवाल, पन्चलाल लाछिमस्यू, बुद्धलाल मानन्धर, कृष्णकुमार कोजू, विष्णुबहादुर मानन्धर, रवि कपाली र इन्दिरा लाछिमस्यू रहेका थिए।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले सांस्कृतिक प्रतियोगिताका माध्यमबाट कलाकारहरुमा उत्साह र हौसला थपिनुका साथै कला संस्कृतिको संरक्षण हुने बताए।

”कला संस्कृतिको क्षेत्रमा निरन्तर लागिरहेका सांस्कृतिक गुरुहरु विश्वविद्यालय तहका प्राध्यापकसरह हुन्। विद्यालय तह, विभिन्न सहकारी संस्था र टोलटोलमा भएको सांस्कृतिक विधाहरुको प्रशिक्षणले नयाँ पुस्तामा आकर्षण बढाउन मद्दत पुगेको छ,” उनले भने,”कला संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले गरेको कामबाट देशका अन्य स्थानीय तहहरुले पनि सिक्ने अवसर मिलेको छ।”

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार भक्तपुर नगरपालिकाले चुनावी घोषणापत्रअनुसार प्रत्येक वर्ष सांस्कृतिक प्रतियोगिता गर्दै आएको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved