नेपाल-चीन सम्बन्धमा असंख्य संभावना देखेको छु : राष्ट्रपति भण्डारी (अन्तर्वार्ता)

नेपालभ्युज

नेपाल-चीन सम्बन्धमा असंख्य संभावना देखेको छु : राष्ट्रपति भण्डारी (अन्तर्वार्ता)
फाइल फोटो

बेइजिङ विन्टर ओलम्पिक गेम्स २०२२ भर्खरै सम्पन्न भएको छ। के तपाईंले उद्घाटन समारोह वा कुनै खेल हेर्ने समय पाउनुभयो? यस खेलका विषयमा तपाईंको धारणा के छ?

– ओलम्पिक आफैँमा एउटा ठूलो ब्रान्ड र विश्वको सबैभन्दा ठूलो खेल कार्यक्रम हो। सफलतापूर्वक ‘विन्टर ओलम्पिक’आयोजना गर्नु चीनका लागि आफैंमा एउटा स्मरणीय अवसर हो। मैले खेलअघि शुभकामना सन्देश पठाएको थिएँ । म विभिन्‍न खेलमा सहभागी भएर पदक जितेका सबै खेलाडीहरूलाई बधाई दिन चाहन्छु।

मेरो बुझाइमा विन्टर ओलम्पिक सफल पार्न चीनले प्रशंसनीय काम गर्‍यो। बेइजिङमा अहिले भैरहेको विन्टर पारा ओलम्पिकका लागि पनि म शुभकामना दिन चाहन्छु।

सन् २०१९ मा काठमाडौँको ऐतिहासिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले तपाईंसँग भेट्नुभयो। के तपाईं त्यस भेटबारे विस्तृतमा हामीलाई सुनाउनुहुन्छ? यो भ्रमणले कसरी चीन-नेपाल सम्बन्धमा योगदान गर्‍यो?

– सन् २०१९ मा भएको सीको राजकीय भ्रमणका मसँग सुखद स्मृतिहरू छन्।  उक्त भ्रमण चीनका राष्ट्र प्रमुखले २३ वर्षपछि गरेको पहिलो थियो। यो धेरै अर्थमा ऐतिहासिक प्रमाणित भयो। हामीले हाम्रो सम्बन्धलाई ‘विकासका लागि रणनीतिक साझेदारी’मा बदलेका छौं । हामीबीच पदाधिकारी तहमा वार्ता भयो जहाँ हामीले हाम्रो दुईपक्षीय सहकार्यको सम्पूर्ण दायरामा छलफल गर्‍यौं। त्यसैले यो भ्रमण उच्च सफल रह्यो। हामीबीच त्यतिबेला भएका सम्झौता कार्यान्वयनमा हाम्रा सरकारहरूले कडा मिहिनेत गरिरहेका छन् र उच्च तहका धेरै प्रतिनिधिहरूले दुई देशको भ्रमण गरेका छन्।

राष्ट्रपति सी र तपाईंबीच पछिल्ला ६ वर्षमा धेरैपटक भेट वा फोन संवाद भयो। नेपाल र अन्य देशका लागि राष्ट्रपति सीले लिएको पहललाई तपाईं कसरी सम्झन चाहनुहुन्छ ?

– पछिल्ला वर्षमा राष्ट्रपति सी र मेरोबीच धेरै बैठक र संवाद भएको औल्याउनुभयो, यो सही हो। हामीबीच लिखित सञ्चार पनि भएको छ। मे २०१९ मा म चीनको राजकीय भ्रमणमा भएको थिएँ । त्यसपछि राष्ट्रपति सी नेपाल आउनुभयो।

विशेषगरी म कोभिड-१९ महामारी उच्च विन्दुमा रहेका बेला हामीबीच भएको टेलिफोन संवाद स्मरण गर्न चाहन्छु। हामीले तत्कालीन अवस्थाको मुल्यांकन गरेका थियौं र प्रतिक्रियाका लागि तयारी गर्‍यौं। ती अन्तरक्रियाहरू साँच्चै नै फलदायी थिए।

नेपालमा हामीलाई अत्यावश्यक परेका बेला दशौं लाख डोज खोप, मेडिकल सामाग्री, अक्सिजन सिलिन्डरका रूपमा मानवीय सहयोग उपलब्ध गराउने कार्यका लागि म राष्ट्रपति सीलाई धन्यवाद् दिन चाहन्छु। चीनले शुरूमै गरेको सहकार्य कोभिड महामारीविरूद्धको लडाँइमा नेपालका लागि महत्वपूर्ण रह्‍यो। उहाँहरूलाई धन्यवाद् छ, जसले धेरैको जीवन बचाउनुभयो। चीनले महामारी नियन्त्रणमा देशभित्र पनि राम्रो नेतृत्वको प्रदर्शन गर्‍यो र विदेशमा धेरैलाई सहयोग गर्‍यो। यसलाई म अति नै महत्वपूर्ण ठान्छु।

के तपाईंले कहिल्यै सी चिनफिङको पुस्तक ‘गभर्नेन्स अफ चाइना’ पुस्तक पढ्नुभएको छ ? सन् २०१२ यता चीनमा सीको सुशासनलाई तपाईंले कसरी हेर्नुहुन्छ?

– हाम्रा प्राज्ञहरूले सीका धेरै पुस्तकहरू नेपाली भाषामा अनुवाद गर्नुभएको छ। मैले अनुदित संस्करण र अंग्रेजी संस्करण दुवै लोकार्पण गरेको छु। मलाई लाग्छ, यी पुस्तकहरूले राष्ट्रपति सी र चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गतको जनमुखी सुशासनबारे बुझाउँछ। अन्य कुरामा यसले चीनको आर्थिक वृद्धि, गरिबी न्युनीकरण र भौतिक पूर्वाधार विकाससँगै राष्ट्रपति सीको मानवताका लागि साझा भविष्यको योजनाबारे बुझाउँछ।

चीन र नेपालबीच परम्परागत सम्बन्ध छ। दुई देशले धेरै क्षेत्रमा सहकार्य बढाएका छन्। आजको नेपाल-चीन सम्बन्धबारे तपाईं केही विचार राख्नुहुन्छ ?

– हाम्रा साझा सम्पदा र बौद्ध सभ्यताले हाम्रो मित्रतालाई बलियो बनाएको छ। हामीबीच हिमालयमा गहिरो सांस्कृतिक सम्बन्ध छ। हामीले यो सम्बन्धलाई शताब्दीऔंदेखि राखिराखेका छौं भनिरहनु नपर्ला किनकी नेपाल-चीन सम्बन्ध समयले परीक्षण गरेको आपसी विश्वासमा अडिएको छ। चीनले नेपालको विकासमा सहयोग गरिरहँदा नेपाल सधैं ‘एक चीन नीति’प्रति प्रतिबद्ध छ । साथै संयुक्त राष्ट्रसंघमा चीनको सही स्थानका लागि नेपालले पहल गरेको इतिहास छ।  आपसी विश्वासले हाम्रो सम्बन्धलाई आज समस्यारहित बनाएको छ। हाम्रा आपसी सहकार्यका क्षेत्रहरू बढ्दैछन्। यो मित्रतालाई नयाँ उचाइमा लैजान हामीले निरन्तर काम गर्नु जरूरी छ। म नेपाल-चीन सम्बन्धमा असंख्य सम्भावना देख्छु।

राष्ट्रपति सीले ‘बेल्ट एन्ड रोड’र ‘मानव समुदायका लागि साझा भविष्यसहितको समुदाय’को योजना प्रस्ताव गर्नुभएको छ। कोभिडविरूद्धको विश्वव्यापी सहकार्यमा उहाँ सहयोग गरेका छन्। तपाईं चीनको अन्तर्राष्ट्रिय भूमिकालाई कसरी लिनुहुन्छ?

– तपाईंलाई थाहा छ, नेपाल पनि ‘बेल्ट एन्ड रोड इनिशिएटिभ’को पनि सदस्य हो। हामी ‘ट्रान्स-हिमालयन मल्टिडायमेन्सनल कनेक्टिभिटी नेटवर्क’को अवधारणाको प्रशंसा गर्छौं। हामी त्यसलाई नेपालको भौतिक पूर्वाधार विकासका लागि अवसरका रूपमा हेर्छौँ र यो प्रक्रियालाई अघि बढाउन चाहन्छौं।

हामीले झण्डै पाँच वर्षअघि नै सम्झौतामा हस्ताक्षर गरेको भए पनि धेरै कारणले बीआरआई परियोजनाहरूले नेपालमा गति लिन बाँकी छ। त्यसलाई अघि बढाउनका लागि हामीले साझा प्रयास गर्न आवश्यक छ। पछिल्लो दुई वर्ष ६ महीनादेखि विश्व कोभिड-१९ महामारीविरुद्ध लडाईं लडिरहेको छ। यहीकारण विकासका कामहरूमा ढिलाइ भएको छ। अर्थतन्त्र ठप्प छ र विश्वभर भयानकहरूमा पर्यटन प्रभावित छ। यही समय विश्वभरका देशहरूले स्वास्थ्य पूर्वाधारमा लगानी गरेका छन्। खोपको उपलब्धतासँगै नयाँ सम्भावना सिर्जना भएका छन्। चीनले महामारीविरुद्धको लडाइँमा धेरै देशलाई सहयोग गरिरहेको छ, नेपालमा पनि।

दशौं लाख डोज खोप र अन्य आपतकालीन सामग्रीमार्फत हामीले धेरैको जीवन जोगायौँ, यो सहयोगका लागि म राष्ट्रपति चीन र चीनका मित्रवत् जनतालाई नेपाल सरकार र नेपालका जनताको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु।

(चीनबाट अंग्रेजी भाषामा प्रकाशित हुने दैनिक पत्रिका ‘ग्लोबल टाइम्स’मा प्रकाशित पत्रकार झाओ यीपुले राष्ट्रपति  विद्यादेवी भण्डारीसँग गरेको कुराकानीको अनुवाद।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved