काठमाडौं। नेपाल श्रीलंकाको संयुक्त ११ सँगको मैत्रीपूर्ण खेलमा ९२ रनले पराजित भएको छ। २३३ रनको लक्ष्य पछ्याएको नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा ३६ औं ओभरमा १४० रनमा अलआउट भयो।
नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ र ओपनर कुशल भुर्तेलले ३२ रन बनाउनबाहेक अन्य ब्याटर चल्न सकेनन्। ज्ञानेन्द्रले ६२ बलमा पाँच चौका र एक छक्का हिर्काए।
त्यस्तै रोहितकुमार पौडेलले २१ रन जोडेका थिए। नेपालका ओपनर आशिफ शेख ५ तथा भरपर्दा ब्याटर दीपेन्द्रसिंह ऐरी २ र विनोद भण्डारी १ रनमै पेभेलियन फर्किए।
आगामी हप्तादेखि यूएईमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको सिरिजको अभ्यासका लागि नेपाली टिमले श्रीलंका भ्रमण गरेको । यस क्रममा कूल चार खेलमा नेपालले तीन खेल जित्यो भने एकमा पराजित भयो। तीनमध्ये श्रीलंकन नेभीलाई २ खेलमा र पुलिसलाई १ खेलमा पराजित गरेको थियो।
श्रीलंकाका पूर्वराष्ट्रिय खेलाडीहरूको बाहुल्य रहेको आजको खेलमा भने नेपाल हार्यो। अब नेपालले आउँदो सोमबार यूएई प्रस्थान गर्नेछ भने। आयोजक यूएई र पीएनजीसँग त्रिकोणात्मक एकदिवसीय श्रृंखला बुधबारदेखि शुरु हुनेछ।
लिग डिभिजन २ अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्ने बाटो हो।