एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह

नेपाल भ्यूज

एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरेका छन्।

शुक्रवार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेण्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने बताए। उनले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन हिम्मत गर्न आग्रह गर्नुभयो। अमेरिकी कानूनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेण्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताए। नेपाल प्रतिस्पर्धामा भाग लिएर सफल भए नेपालीहरू खुशी हुने उनले बताए।

उनले भने, “अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, ग्लोबल टेण्डर हुन्छ। नेपालकाले पनि हिम्मत गरे हुन्छ यो। यो एमसीसीको बिडिङमा सफल हुनुस्। सबभन्दा पहिले हामी खुशी हुनेछौँ। अन्तर्राष्ट्रिय विडिङ हुने हुनाले अमेरिकालाई बाध्यता छ अमेरिकन कानूनले अन्तर्राष्ट्रिय विडिङ गराउनुपर्ने हुनाले जुनसुकै मुलुकका पनि यसमा आउन सक्छन्। चीनका होस्। भारतको होउन्। नेपालकै हुन सक्छन्।”

प्रधानमन्त्री देउवाले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताए। निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखिएका समस्याहरूको नीतिगत, कानूनी र प्रक्रियागत रुपमा सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताए।

निर्माण व्यवसायलाई अझै व्यवसायिक र प्रतिस्पर्धि बनाउनु आवश्यक रहेको उनले बताए।

उनले निर्माण क्षेत्रमा गरिने खर्चलाई समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता रहेको बताए। प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीहरूको क्षमता अभिवृद्धि, तथा निर्माण सामग्रीहरूको आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा जोड दिए।

उनले निर्माण व्यवसायलाई सहज बनाउनका लागि खरिद नियमावलीको ११ औँ संशोधन गरिएको स्पष्ट पारे। विकास निर्माणको काम समयमा सम्पन्न नहुँदा निर्माण व्यवसायी माथि प्रश्न उठ्ने गरेको भन्दै उनले काम ढिलो हुनाका कारण र समस्या समाधानका उपायको सम्बन्धमा सरकार व्यवसायीहरूसँग छलफल गर्न तयार रहेको पनि बताए।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved