एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण

नेपालभ्युज

एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंस्थित लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ।

विभिन्न सुविधाहरूसहित पुनर्निर्माण गरेपछि कम्पनीले काठमाडौं महानगरपालिका वडा नं. २६ लाई एक समारोहबीच मैदान हस्तान्तरण गरेके हो। अहिले यो मैदान आमनागरिकका लागि खुला गरिएको छ।

यो परियोजना पूर्ण रूपमा वडा नं. २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निमाण तथा स्तरोन्नति गरिएको कम्पनीले जनाएको छ। नवनिर्मित यस बहुद्देश्यीय लैनचौर मैदान खुला गरिएको अवसरमा गत शनिबार स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेलको पनि आयोजना गरिएको थियो।

५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन्।

स्थानीय समुदाय र वडा नं. २६ को अनुरोधअनुसार एनसेलले यसको निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएको थियो। कम्पनीले आगामी २ वर्षसम्मका लागि मर्मतसम्भार गर्नेछ।

कम्पनीका अनुसार मैदानमा अन्तर्राष्ट्रियस्तरको एस्ट्रोटर्फ बिच्छाई मिनी फुटबल मैदान बनाइएको छ। वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको छ।

टर्फमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन्। वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानीमात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ। पानीको निकासका लागि पनि उचित व्यवस्था छ।

मैदानको स्तरोन्नतिले समुदायमा तथा वातावरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। एनसेलको सीएसआर अन्तर्गत मैदानको विकास तथा संरक्षणका लागि एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ बीच गत वर्ष सम्झौता भएको थियो।

“एक जिम्मेवार कर्पोरेट कम्पनीका रूपमा एनसेलले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आएको छ। हाम्रो यही प्रतिबद्धताअनुरूप स्वच्छ, स्वस्थ र सफा सहर निर्माणमा योगदान गर्दै यस बहुद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेका हौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने।

काठमाडौं महानगरपालिका वडा नं. २६ का अध्यक्ष ख्याम तिवारीले मैदान पुनर्निर्माणले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए।

“एनसेलको सहयोगमा हामीले यस किसिमको पहिलो बहुपयोगी खेल मैदान बनाएका छौं। एस्ट्रोटर्फ बिच्छ्याई बनाइएको आधुनिक मिनी फुटबल मैदानमा जुनसुकै मौसममा खेल खेल्न सकिन्छ र यसको मर्मत पनि निकै सजिलो छ,” उनले भने, “यो मैदान हाम्रो समुदाय र वडाका लागि ठूलो सम्पत्ति बनेको छ। यो पहलले सहरमा खुला ठाउँको संरक्षणमा ठूलो योगदान पुर्‍याएको छ।”

जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले दिगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा र स्वास्थ्यका साथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) लाई प्राथमिकतामा राखेर सामाजिक कार्य गर्दै आएको छ। औद्योगिक व्यवसाय नियमावली, २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत वातावरण संरक्षणलाई प्रमुख क्षेत्रको रूपमा राखेको छ।

एनसेलले आफ्नो सामाजिक पहल अन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायत क्षेत्रमा १.४२ अर्ब रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्‍याएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved