विराटनगर। प्रदेश १ स्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुआत गरेको छ। कमल गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा आयोजक समितिलाई १–० ले पराजित गर्दै टेम्केले विजयी यात्रा सुरुआत गरेको हो।
पहिलो हाफको २६औँ मिनेटमा टेम्केका जनक कोइरालाले गोल गर्दै टिमलाई अग्रता दिलाएको गोल नै खेलको निर्णायक गोल बनेको थियो। खेलमा दुवै टिमले गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा थप गोल हुन सकेन।
उद्घाटन खेलको प्लेयर अफ द म्याच टेम्केका स्ट्राइकर जनक कोइराला भएसँगै उनलाई नगद रु दुई हजार ५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिताअन्तर्गत भोलि हुने क्वार्टरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ पकली सुनसरी र धनकुटा फुटबल क्लबबीच हुने खेल संयोजक तेजकुमार राईले बताए।
प्रतियोगितामा धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेडहर्ष फुटबल क्लब इलाम, एपिएफ पकली सुनसरी र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापाले सहभागिता जनाएका छन्।
प्रतियोगिताको विजेताले नगद रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ।