धनगढी। मनाङ मर्स्याङ्दी क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो। खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा मनाङले बाजी मार्यो
पेनाल्टीअघि खेलको २८ औं मिनेटमा शिशिर लेखिले हेडरमार्फत गोल गर्दै मनाङलाई शुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ८० औं मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि थप गोल हुन सकेन।
अब मनाङले फ्रेण्डस् र सर्लाहीको बागमती युवा क्लबबीचको विजेतासँग फाइलन खेल्नेछ।
आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ।