काठमाडौं। आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले २ ओटा शाखा उद्घाटन गरेको छ।
दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिकास्थित सोरुमको एक कार्यक्रमबीच समुद्घाटन गरिएको हो। सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरूका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुनेछन्।
शाखाको उद्घाटन् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका क्षेत्रीय प्रमुख तन्मय मित्रका साथै उक्त क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा संयुक्त रुपमा रिबन काटी उद्घाटन गरिएको हो।
उद्घाटन सत्रमा संक्षिप्त मन्तव्य दिँदै ग्रुपका अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए। यस क्षेत्रका ग्राहकहरूले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरूमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता व्यक्त गरे।
सोही कार्यक्रममा अशोक लेलैण्ड भारतका क्षेत्रीय प्रमुख तन्मय मित्रले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ वर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको आक्रमक बजार बिस्तार गर्ने उद्देश्य रहेको जानकारी गराए।