नयाँ बसपार्कभित्र होटल तथा लज सञ्चालनमा आयो

नेपालभ्युज

नयाँ बसपार्कभित्र होटल तथा लज सञ्चालनमा आयो
फाइल तश्वीर

काठमाडौं। गोँगबुस्थित नयाँ बसपार्कमा रात्रिकालीन चालक, सहचालक र यात्रुको सहजताका लागि होटल तथा लज सञ्चालनमा आएको छ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले रातिको समयमा काठमाडौँ आएका चालक, सहचालक र यात्रुलाई सहुलियत दरमा खान तथा बस्नका लागि होटल तथा लज सञ्चालनमा ल्याएको हो।

लोत्सेले यातायात व्यवसायीको सल्लाहमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुलाई रातको समयमा खान तथा बस्नका लागि विचल्ली नहोस् भन्ने उद्देश्यले होटल तथा लज सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले जानकारी दिए। “लामो दूरीबाट आएका चालक, सहचालक तथा यात्रुलाई सहुलियत दरमा स्वास्थ्य खाना खुवाउने र सुताउन मिल्ने लक्ष्यसहित होटल तथा लज सञ्चालनमा ल्याएका हौँ”, उनले भने।

होटल सञ्चालनमा आए पनि लज भने वैशाखपछि मात्र सञ्चालनमा आउने अध्यक्ष कुँवरको भनाइ छ। होटलमा एकपटकमा २०० जनाले खाना खान मिल्ने गरी व्यवस्था गरेको लोत्सेले लजमा भने प्रत्येक दिन १०० जनासम्म सुत्न मिल्नेगरी व्यवस्था गरेको छ। अध्यक्ष कुँवरले चालक, सहचालक र यात्रुको सुविधाका लागि क्रमशः अन्य सेवासमेत विस्तार गर्दै लैजाने बताए।

लोत्सेले पर्यटक बससमेत नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्नेगरी तयारी गरिरहेको छ। “पर्यटक बस नयाँ बसपार्कबाट व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पर्यटक बस व्यवसायीसँग छलफल भइरहेको छ”, उनले भने। काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन्। नयाँ बसपार्कबाट पश्चिमको हुम्लाबाहेक सबै जिल्लामा बस आवतजावत गर्दै आएको छ भने पूर्वमा सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत जिल्लामा सवारीसाधन जाँदैनन्।

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालिन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँबसपार्क सञ्चालनमा आएको हो।

प्रविधिमैत्री टिकट बुकिङ काउण्टर स्थापना गरेर यात्रुलाई सेवा प्रदान गर्दै आएको लोत्सेले बस टिकट खरिद तथा बुकिङका लागि क्यू आर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था समेत मिलाएको छ। नयाँ बसपार्कमा हाल एक हजार ५०० को हाराहारीमा सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्छ भने दैनिक एक हजारको हाराहारीमा सार्वजनिक यातायात देशका विभिन्न जिल्लामा ओहोरदोहोर गर्दै आएका छन्।

लोत्सेले २१०२ सालसम्म नयाँबसपार्क सञ्चालन गर्न पाउने गरी सम्झौता गरेको र सो अवधि सकिएपछि काठमाडौँ महानगरलाई जिम्मा लगाउने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved